२८ मंसिर, विराटनगर । विराटनगरमा रहेको नेपाल प्रहरीको तालिम केन्द्रले ६ दशकको अवधिमा ८४ हजार बढी प्रहरी जनशक्ति उत्पादन गरेको छ । कोशी प्रदेश प्रहरी तालिम केन्द्रले स्थापना भएको ५९ वर्षमा ८४ हजार २ सय ७ जना प्रहरी जनशक्ति उत्पादन गरेको हो ।
२०२३ सालमा सुनसरीको धरानमा स्थापना भएको तालिम केन्द्रलाई २०३३ सालमा धरानबाट विराटनगरको सीमावर्ती क्षेत्र रानीमा स्थानान्तरण गरिएको थियो । तालिम केन्द्रका प्रवक्ता डीएसपी गुरुप्रसाद तिम्सिनाका अनुसार हालसम्म ८४ हजार २ सय ७ जनाले विराटनगरबाट प्रशिक्षण लिएकाम छन् ।
विराटनगरको तालिम केन्द्रले प्रहरी जवानको आधारभूत र प्रहरी सहायक निरीक्षकको अल्पकालीन तालिम सञ्चालन गर्छ । प्रहरी जवानदेखि प्रहरी वरिष्ठ नायब निरीक्षकसम्मको सेवाकालीन तालिम पनि सञ्चालन गर्दै आएको छ ।
तालिम केन्द्रले आइतबार ५९ औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवमा तालिम केन्द्रले स्वास्थ्य शिविर र विभिन्न प्रतिस्पर्धात्मक खेलकुद पनि आयोजना गरेको थियो ।
प्रतिक्रिया 4