News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसी टी–२० विश्वकप २०२६ को सेमिफाइनलमा दक्षिण अफ्रिका, न्युजिल्यान्ड, इंग्ल्यान्ड र भारत प्रवेश गरिसकेका छन्।
- दक्षिण अफ्रिका अपराजित टिम हो भने भारत उपाधि रक्षा गर्दै लगातार तेस्रोपटक जित्ने दाउमा छ ।
- इंग्ल्यान्ड तेस्रो उपाधिको खोजीमा छ भने न्युजिल्यान्डले पहिलो उपाधि जित्ने लक्ष्य राखेको छ।
१९ फागुन, काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ को सेमिफाइनल समिकरण पूरा भइसकेको छ । सुपर एटको अन्तिम खेलमा साविक विजेता भारतले वेस्ट इन्डिजलाई आइतबार पराजित गरेसँगै सेमिफाइनल समिकरण पूरा भएको थियो ।
भारतभन्दा अगाडि साविक उपविजेता दक्षिण अफ्रिका, गत संस्करणको सेमिफाइनलिस्ट इंग्ल्यान्ड र न्युजिल्यान्ड सेमिफाइनलमा प्रवेश गरिसकेका थिए ।
पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिका र न्युजिल्यान्ड खेल्ने छन् । सूपर ८ को समूह १ को विजेता दक्षिण अफ्रिका र समूह २ को उपविजेता न्युजिल्यान्डबीचको सेमिफाइनल खेल बुधबार साँझ सवा ७ बजेदेखि कोलकाताको इडेन गार्डेन्समा हुनेछ।
सुपर ८ को समूह २ को विजेता इंग्ल्यान्ड र समूह १ को उपविजेता भारतबीचको दोस्रो सेमिफाइनल खेल बिहीबार साँझ सवा ७ बजेदेखि मुम्बईस्थित वानखेडे स्टेडिययमा खेलिनेछ।
सेमिफाइनलसम्म आइपुग्दा दक्षिण अफ्रिका मात्र प्रतियोगितामा अपराजित एक्लो टिम हो । यस्तै सुपर ८ मा अपराजित रहेको अर्को टिम इंग्ल्यान्ड हो ।

यस्तो छ सेमिफाइनल यात्रा
प्रतियोगिताको एकमात्र अपराजित टोली दक्षिण अफ्रिकाले समूह चरणमा क्यानडालाई ५७ रनले पराजित गरेको थियो । अफगानिस्तानसँगको रोमाञ्चक खेल दोस्रो सुपर ओभरमा जितेको थियो भने यूएईमाथि ६ विकेटको सहज जित हासिल गरेको थियो ।
सुपर ८ मा दक्षिण अफ्रिकाले भारतमाथि ७६ रनको शानदार जित हासिल गरेको थियो भने वेस्ट इन्डिजलाई ९ विकेट र जिम्बाबेलाई ५ विकेटले हराएर अपराजित यात्रा कायमै राख्न सफल भयो ।
यस्तै इंग्ल्यान्डले समूह चरणको पहिलो खेलमा नेपालको चुनौती पन्छाउँदै ४ रनको जित हासिल गरेको थियो । वेस्ट इन्डिजसँग ३० रनले पराजित भयो भने त्यसपछि स्कटल्यान्डलाई ५ विकेट र इटालीलाई २४ रनले हराएर सुपर ८ खेलेको थियो ।
सुपर ८ मा श्रीलंकालाई ५१ रनले, पाकिस्तानलाई २ विकेटले र न्यूजिल्यान्डलाई ४ विकेटले हराउँदै समूह २ को विजेताका रूपमा सेमिफाइनलमा स्थान बनायो।
न्यूजिल्यान्डले समूह चरणमा अफगानिस्तानलाई ५ विकेट, यूएईलाई १० विकेट र क्यानडालाई ७ विकेटले हराएको थियो भने दक्षिण अफ्रिकासँग ७ विकेटले पराजित भयो।
सुपर ८ मा पाकिस्तानविरुद्धको खेल वर्षाका कारण रद्द भयो, श्रीलंकालाई ६१ रनले हरायो तर इंग्ल्यान्डसँग ४ विकेटले पराजित हुँदै उतारचढावपूर्ण यात्रा पार गर्दै अन्तिम चारमा स्थान बनायो।

भारतले समूह चरणमा अपराजित रहने क्रममा अमेरिकालाई २९ रन, नामिबियालाई ९३ रन, पाकिस्तानलाई ६१ रन र नेदरल्यान्ड्सलाई १७ रनले पराजित गरेको थियो ।
सुपर ८ को पहिलो खेलमा दक्षिण अफ्रिकासँग ७६ रनले हार बेहोरेर दबाबमा आएको भएपनि जिम्बाबेलाई ७२ रनले र वेस्ट इन्डिजलाई ५ विकेटले हराउँदै भारतले सेमिफाइनल यात्रा सुनिश्चित गर्यो।
भर्चुअल नकआउट समेत मानिएको निर्णायक खेलमा सन्जु सामसनको शानदार ब्याटिङ मद्दतमा भारतले वेस्ट इन्डिजलाई प्रतियोगिताबाट बाहिर पठाएको थियो ।
सन्जु सामसनको उक्त इनिङबारे भारतीय टोलीका कप्तान सूर्यकुमार यादवले प्रतीक्षाको फल सामसनले अन्तत: प्राप्त गरेको प्रतिक्रिया दिएका थिए । ‘मैले भन्दै आएको छु कि जसले धैर्य गर्न सक्छ उसले अवश्य प्रतिफल पाउँछ । सामसनले लामो समयदेखि प्रतीक्षा गरेको क्षण थियो यो, जुन् सबैभन्दा उत्कृष्ट समयमा उत्कृष्ट प्रदर्शनका रूपमा आएको छ’ सूर्यकुमारले भनेका थिए ।
उपाधि सम्भावना कसको धेरै ?
आईसीसी प्रतियोगितामा अभागी मानिने दक्षिण अफ्रिका गत संस्करणको टी–२० विश्वकप फाइनलमा जितको नजिक पुगेर पनि ७ रनले पराजित भएको थियो ।
यसपटक पनि यी दुई टोलीले आ-आफ्ना सेमिफाइनल जितेमा फाइनलमा भेट हुने सम्भावना छ । दक्षिण अफ्रिका यसपटक बदला लिने अभियानमा पनि देखिन्छ।
प्रतियोगिताभर अपराजित रहेको दक्षिण अफ्रिकी टोली ब्याटिङ र बलिङ दुवैमा सन्तुलित देखिएको छ। सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा कप्तान एइडेन मार्क्रम तेस्रो स्थानमा छन् भने सर्वाधिक विकेट लिने सूचीमा लुङ्गी एङ्गिडी तेस्रो स्थानमा छन् । सेमिफाइनल पुगेका टिममध्येको तथ्यांकमा भने यी दुई नै शीर्षस्थानमा छन् ।
तथ्यांक र फर्मका आधारमा दक्षिण अफ्रिका उपाधिको दाबेदार मानिएको छ, तर नकआउट चरणको दबाब पार गर्न सक्ने वा नसक्ने प्रश्न भने यथावत् नै देखिन्छ।
कप्तान एइडेन मार्क्रमले दक्षिण अफ्रिकालाई उपाधि दाबेदारका रूपमा लिइनु उत्साहजनक भएको प्रतिक्रिया दिएका छन् । ‘हामी केवल अन्डरडग मात्र नभएर सधैं त्यस्तो अपेक्षासँग खेल्न चाहन्छौं, हामी आफ्नो गेम प्लानमा केन्द्रित भएर खेल सुधार गर्दै अघि बढिरहेका छौं’ मार्क्रमले सुपर ८ को अन्तिम खेलपछि भनेका थिए ।

त्यसैगरी साविक विजेता भारत उपाधि रक्षा गर्ने लक्ष्यमा छ र लगातार दुईपटक तथा तेस्रोपटक उपाधि जितेर कीर्तिमान बनाउने दाउमा पनि छ । प्रतियोगितामा केही कमजोरी देखिए पनि कठिन अवस्थामा आफूलाई उकास्ने क्षमता भारतले देखाएको छ।
आईसीसी टी–२०आई वरियताको शीर्ष स्थानमा रहेको भारतसँग प्रतियोगिताका शीर्ष ब्याटर र बलर पनि छन्। घरेलु मैदानमा खेल्नु भारतका लागि बलियो पक्ष भए पनि सन् २०२३ को एकदिवसीय विश्वकपमा जस्तै दबाबले असर पार्ने कि त्यसलाई ऊर्जा बनाएर अघि बढ्ने भन्ने प्रश्न अबको खेलले जवाफ दिनेछ।
कप्तान सूर्यकुमार यादवले सेमिफाइनल खेलका बारेमा अहिले धेरै नसोचेको र मुम्बई पुगेपछि गेमप्लानका बारेमा छलफल हुने बताए ।
यता इंग्ल्यान्ड पनि तेस्रोपटक टी-२० विश्वकपको उपाधि जित्ने लक्ष्यमा छ । इंग्ल्यान्ड र भारत लगातार तेस्रोपटक सेमिफाइनलमा खेल्दै छन् । सन् २०२२ को सेमिफाइनलमान इंग्ल्यान्डले भारतलाई पराजित गरेको थियो भने सन् २०२४ मा भारतले बाजी मारेको थियो ।
इंग्ल्यान्डले प्रतियोगितामा धेरै प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिन भने सकेको छैन । कप्तान ह्यारी ब्रूकले त्यो पलका लागि अब धेरै समय कुर्न नपर्ने बताएका छन् । ‘हामी सुन्दर क्रिकेट खेल्नुभन्दा कठिन अवस्थामा पनि जित निकाल्न रुचाउँछौं। हामीले अहिलेसम्म पूर्ण खेल देखाउन सकेका छैनौं, आशा छ त्यो समय अब नजिक छ’ सेमिफाइनलअघि ब्रूकले भनेका छन् ।

न्युजिल्यान्ड पनि पहिलोपटक टी-२० विश्वकपको उपाधि जित्न चाहन्छ । दक्षिण अफ्रिकाजस्तै न्युजिल्यान्ड पनि आईसीसी प्रतियोगिताको नकआउटसम्म पुगेर अभागी हुँदै आएको छ । यसपटक त्यो विडम्बनाको शृंखला तोड्ने लक्ष्यमा न्युजिल्यान्ड पनि हुनेछ ।
विश्वकपअघि न्युजिल्यान्डले भारतमै शृंखला खेलेको थियो । कप्तान मिचेल सान्टनरले पिचबारे राम्रो जानकारी भएको बताए । ‘हामी पछिल्ला दुई महिनादेखि भारतमा खेल्दै आएका छौं, त्यसैले यहाँको अवस्था र पिचबारे राम्रो जानकारी छ, सान्टनरले भने।
इंग्ल्यान्डसँगको हारपछि छनोट समिकरणले केही नर्भस बनाएको थियो, तर अहिले सेमिफाइनलमा पुग्नु भाग्य र उत्साह दुवैको कुरा भएको सान्टनरको ठम्याई छ ।
कसले कहिले जिते उपाधि ?
सेमिफाइनल खेल्ने चार टिममध्ये भारत र इंग्ल्यान्डले दुई-दुई पटक उपाधि जितेका छन् । दक्षिण अफ्रिका र न्युजिल्यान्ड भने उपाधिविहीन छन् ।
भारतले सन् २००७ मा पहिलो संस्करणकै टी-२० विश्वकप जितेको थियो । त्यसबेला भारतले पाकिस्तानलाई पराजित गरेको थियो । त्यसको १७ वर्षपछि गत संस्करण (२०२४) को टी-२० विश्वकप भारतले जित्यो । फाइनलमा भारतले दक्षिण अफ्रिकालाई पराजित गरेको थियो ।
यस्तै इंग्ल्यान्डले सन् २०१० र २०२२ को टी-२० विश्वकप उपाधि जितेको छ । सन् २०१० को फाइनलमा अस्ट्रेलियालाई हराएर इंग्ल्यान्डले उपाधि जितेको थियो ।

त्यसको १२ वर्षपछि इंग्ल्यान्डले सन् २०२२ को टी-२० विश्वकप फाइनलमा पाकिस्तानलाई हराएर दोस्रो उपाधि जित्न सफल भयो ।
दक्षिण अफ्रिका गत संस्करण मात्र फाइनलमा पुगेको थियो र पराजित भएको थियो । न्युजिल्यान्ड सन् २०२१ को फाइनलमा अस्ट्रेलियासँग पराजित भएको थियो ।
सेमिफाइनलबाट दक्षिण अफ्रिका वा न्युजिल्यान्ड फाइनल पुगेमा यसपटक टी-२० विश्वकपले नयाँ विजेता पाउन सक्छ ।
प्रतिक्रिया 4