२१ फागुन, काठमाडौं । काठमाडौंमा मतदान गरेर आफ्नो निर्वाचन क्षेत्र झापा-५ जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) झापा नपुगी फर्किए ।
हेली एभरेस्टको दर्ता नम्बर ‘९एन-एओबी’ काे हेलिकप्टर मार्फत काठमाडौंबाट झापा जान शाहसहित ५ सदस्यीय टोली उडेको थियो ।
बिहान ९ः१२ बजे काठमाडौंबाट झापाका लागि हेलिकप्टर उडेको थियो । करिब आधा घण्टा उडेपछि शाह चढेको हेलिकप्टर झापा नगई काठमाडौं नै फर्कियो ।
त्रिभुवन विमानस्थल स्रोतका अनुसार ओखलढुंगाको आकाशमाथि पुगेपछि हेलिकप्टर काठमाडौं फर्केको थियो । विमानस्थल स्रोतले मौसमका कारण वा हेलिकप्टरमा कुनै प्राविधिक समस्या भएर हेलिकप्टर नफर्किएको बताएको छ । ‘काठमाडौं नै फर्किनुपर्ने खालको खराब मौसम थिएन, उहाँहरूले सुरक्षाकाे कारण देखाउँदै हेलिकप्टर काठमाडौं फर्काउन भन्नुभयाे,’ विमानस्थल स्रोत भन्छ ।
यता बालेनको सचिवालयले भने यसलाई सुरक्षासँग जोडेको छ । सुरक्षा निकायबाटै झापा जाँदा सुरक्षा चुनौती बढ्न सक्ने भएकाले नआइदिन अनुरोध भएपछि फर्किएको उनको सचिवालयको दाबी छ ।
तर, जिल्ला प्रहरी कार्यालय झापाका एसपी बसुन्धरा खड्काले भने आफूहरूले हेलिकप्टर नै युटर्न गर्न नलगाएको बताएकी छिन् ।
‘हामीले सुरक्षाको कारण देखाउँदै नआइदिन भनेका छैनौं, यहाँ शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ,’ एसपी खड्काले भनिन्, ‘ उहाँहरु आफैंले नै सुरक्षा चुनौती थपिन सक्छ भनेर फर्किएनुभएको भए हामीलाई थाहा हुने विषय भएन ।’
प्रतिक्रिया 4