२१ फागुन, जनकपुरधाम । बिहीबार मध्याह्न मतदान गरेर मतदान केन्द्र अगाडि भेटिएका ललितनारायण सिंह उत्साहित देखिन्थे । धनुषा–४ अन्तर्गत मिथिला नगरपालिका–८ स्थित कुसुम बिसौना आधारभूत विद्यालयको मतदान केन्द्रमा मतदान गरेका सिंहले विगतको तुलनामा यसपालिको चुनाव भयमुक्त भएको बताए ।
‘विगतको चुनावभन्दा यसपालि धेरै फरक रह्यो । हामीले स्वतन्त्र रूपमा मतदान गर्न पायौँ,’ सिंहले भने, ‘कुनै दबाब भएन । विगतजस्तो अवस्था यसपालि देखिएन ।’
सिंहजस्तै खुसी देखिइन्, सोही ठाउँमा मत खसालेकी सीताकुमारी महतो । ‘यसपालि बल्ल मत दिएजस्तो लाग्यो । आफ्नो इच्छाअनुसार मत खसाल्यौँ । अब पक्कै केही परिवर्तन हुन्छ भन्ने लागेको छ,’ उनले भनिन् ।
भदौ २३ र २४ को जेनजी आन्दोलनपछि मध्यावधिमै प्रतिनिधिसभा निर्वाचन घोषणा भएको थियो । यस्तो परिस्थितिमा चुनाव तोकिएको समयमै हुने वा नहुने भन्नेमा धेरैलाई शंका थियो । देशको विषम परिस्थितिमा भारतसँग खुला सीमासँग जोडिएको मधेशका आठ वटै जिल्ला (सप्तरी, सिरहा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा) मा शान्तिपूर्ण वातावरणमा चुनाव सम्पन्न हुन्छ कि हुँदैन भन्ने संशय हुनु अस्वाभाविक थिएन ।
३५ लाख १७ हजार १२३ मतदाता रहेको मधेशमा सुरक्षा निकायले सीमासँग जोडिएका अधिकांश मतदान स्थललाई अति संवेदनशीलमा वर्गीकरण गरेको थियो । दुई हजार १६० मतदानस्थलमध्ये खुल्ला सीमासँग जोडिएका एक हजार २४६ मतदान स्थल अति संवेदनशील वर्गमा राखिएका थिए । मधेश प्रदेशमा कुल चार हजार ४७१ मतदान केन्द्र थिए । यस प्रदेशमा एक हजार २८ जना उम्मेदवारले उम्मेदवारी दिएका थिए ।
कतै छिटपुट घटना हुने, कतै मतदान अवरुद्ध हुने आशंका पनि व्यापक थियो । तर एक–दुई सामान्य घटनाबाहेक मधेशमा निर्वाचन शान्तिपूर्ण तथा उत्साहजनक रूपमा सम्पन्न भएको छ ।
मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी गोविन्द थपलियाका अनुसार मधेशमा सुरक्षा चुनौती ठुलो थियो । त्यसैअनुसार सुरक्षा योजना बनाएर कार्यान्वयन हुँदा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गर्न सकेको उनले बताए ।
‘सुरक्षा व्यवस्था राम्रो भएको कारण आपराधिक तत्त्वले आफ्नो गतिविधि गर्न सकेन । सुरक्षा चुनौती भएको कारणले त्यस अनुसार हामीले सुरक्षा निकाय बसेर सुरक्षा योजना बनाएका थियौँ,’ डीआईजी थपलियाले थपे, ‘त्यो अनुसार कार्यान्वयन भयो । त्यस कारण शान्तिपूर्ण रूपमा निर्वाचन कार्य सम्पन्न गराएको छ ।’
उनका अनुसार नेपाल प्रहरी र निर्वाचन प्रहरी मात्रै मधेश प्रदेशमा ४० हजार परिचालन गरिएको थियो । त्यसै अनुसारको अनुभूति पनि मतदाताले गरेका छन् ।
धनुषा–३ अन्तर्गत जनकपुरधाम–८ स्थित पगलाबाबा धर्मशाला मतदान केन्द्र अगाडि भेटिएका मोती रजीका अनुसार विगतको तुलनामा यस पटक चुनाव अझै शान्तिपूर्ण र भयमुक्त वातावरणमा भएको छ । ‘खुसीको अनुभूति भइरहेको छ । अहिलेसम्म कुनै दबाब आएको छैन । एकदम राम्रो चुनाव भयो,’ उनले भने ।
धनुषाको बटेश्वर गाउँपालिका–२ राजपुरका सञ्जय पजियारलाई भने जेनजी आन्दोलनपछि भएको यो निर्वाचन तोकिएकै मितिमा यसरी शान्तिपूर्ण रूपमा सम्पन्न हुन्छ भन्ने लागेको थिएन ।
‘जेनजी आन्दोलनपछि यो चुनाव भयरहित हुन्छ भन्ने लागेको थिएन । त्यसमा पनि नयाँको लहरका कारण पुराना दलहरूले केही लफडा गर्छन् कि भन्ने लागेको थियो,’ जनप्रिय माध्यमिक विद्यालय मतदान केन्द्रअगाडि अपराह्न साढे ४ बजे भेटिएका पजियारले विगत सम्झिँदै भने, ‘तर सोचेभन्दा शान्तिपूर्ण, स्वच्छ र मर्यादित चुनाव भयो ।’
धनुषा बटेश्वर गाउँपालिका–२ धुमासनका जोगेन्द्र महतो अब मतगणना शान्तिपूर्ण, स्वच्छ र निष्पक्ष हुने विश्वास व्यक्त गरे । ‘नसोचेको जस्तो शान्तिपूर्ण रूपमा जसरी निर्वाचन सम्पन्न भएको छ । त्यसरी नै अब मतगणना सम्पन्न होस्’, उनले भने ।
प्रतिक्रिया 4