+
+
Shares

मोरङका मतदाताको अपेक्षा- सुशासन र रोजगारी

जेनजी आन्दोलनपछि भएको निर्वाचनलाई मतदाताले केवल प्रतिनिधि छान्ने माध्यम मात्र बनाएका छैनन्, देशमा व्याप्त बेथिति अन्त्य हुने र सुशासन कायम हुने आशा गरेका छन् ।

हरि अधिकारी हरि अधिकारी
२०८२ फागुन २१ गते १८:०८

२१ फागुन,  विराटनगर । प्रतिनिधिसभा निर्वाचनमा मतदान फर्किंदै गरेका मतदाताले जितेर जाने उम्मेदवारसँग सुशासनको अपेक्षा राखेका छन् । जेनजी आन्दोलनपछि भएको निर्वाचनलाई मतदाताले केवल प्रतिनिधि छान्ने माध्यम मात्र बनाएका छैनन्, देशमा व्याप्त बेथिति अन्त्य हुने र सुशासन कायम हुने आशा गरेका छन् ।

विराटनगरस्थित जनता नमुना माध्यमिक विद्यालय मतदानस्थलमा भेटिएका मतदाताहरूले सुशासन, रोजगारी र युवा पलायनको अन्त्य हुने अपेक्षा नयाँ नेतृत्वसँग भएको बताए ।

मतदान गरेर फर्किएकी विराटनरगकी मेनुका बस्नेतले देशले शान्ति र स्थिरता खोजेको बताइन् । आफूले दिएको भोटको सही सदुपयोग गर्दै उनले नेताहरूले देशको विकासमा ध्यान दिनुपर्नेमा जोड दिइन् ।

विराटनगर-२ की मथुरा चापागाईंले नयाँ नेतृत्वले देश र जनताका लागि इमानदारीपूर्वक काम गर्ने आशा व्यक्त गरिन् । छोराछोरी विदेशिनु पर्ने बाध्यता रोकिने उनको विश्वास छ ।

‘हाम्रा छोराछोरीले आफ्नै देशमा रोजगारी र खुसी पाउनुपर्छ, धनी–गरिब सबैले समान अवसर पाऊन्,’ उनले भनिन् ।

‘युवाहरू फ्रस्टेसनमा छन्, विदेश गएका केही बाकसमा बन्द भएर फर्कनुपर्ने अवस्था छ । यो विकराल रूप अब भोग्नु नपरोस् ।’

विराटनगर-२ का स्थानीय गणेश न्यौपानेले देशलाई वृद्धाश्रम बन्न रोक्नुपर्ने बताए । ‘युवाहरू यसरी नै बाहिरिने हो भने देश वृद्धाश्रम हुनेछ,’ उनले भने, ‘ऋण गरेर पढाएका छोराछोरीलाई नेपालमै रोजगारी, गुणस्तरीय स्वास्थ्य र शिक्षाको ग्यारेन्टी राज्यले गर्नुपर्छ ।’

विदेशमा गएर अध्ययन गरेका नेपालीलाई फर्काउन स्वदेशमा रोजगारी र सुशासनको वातावरण सिर्जना गर्नुपर्ने उनले बताए ।

स्थानीय तारा भण्डारीले पढे-लेखेका विद्यार्थीले आफ्नै भूमिमा रोजगार पाउने वातावरण बन्नुपर्ने बताइन् । महिलालाई पनि समान अवसर चाहिएको उनको भनाइ छ ।

विराटनगर-२ की स्थानीय सविता अधिकारीले भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने बताइन् । ‘आधा अधुरा आयोजना समयमा नै बन्नुपर्छ,  एउटा पुल बन्न १२ वर्ष लाग्ने प्रवृत्तिको अन्त्य हुनुपर्छ,’ उनले भनिन्, ‘युवाहरू फ्रस्टेसनमा छन्, विदेश गएका केही बाकसमा बन्द भएर फर्कनुपर्ने अवस्था छ । यो विकराल रूप अब भोग्नु नपरोस् ।’

सुशासनको अपेक्षा राख्ने मतदाता सीमा न्यौपानेले सानो कामका लागि पनि नेताको पहुँच चाहिने संस्कार हट्नुपर्ने बताइन् ।

‘अस्पताल जान र स्कुलमा नाम लेखाउन पनि नेताको सोर्स चाहिने अवस्था कहिलेसम्म ? हामीलाई वास्तविक सुशासन र नागरिकको समान पहुँच चाहिएको छ,’ उनले भनिन्, ‘हाम्रो अपेक्षा पूरा भएन भने अर्को पटक सोच्नुपर्छ ।’

विराटनगर-२ की कल्पना बास्कोटाले नयाँ पुस्ताले देशमा अवसर पाउनुपर्ने बताइन् । ‘हामीले धेरै भोगिसक्यौँ, अब हाम्रा नाति-नातिनाले त्यो भोग्नु नपरोस् । काम भएन भने ५ वर्ष कुर्दैनौँ,’ उनले भनिन्, ‘जनता फेरि १-२ वर्षमै सडकमा ओर्लिने छन् ।’

विराटनगर-२ कै अनुराधा थापाले निर्वाचित नेतृत्वले देश र जनताका लागि राम्रो काम गर्नुपर्ने बताइन् । ‘आशा, अपेक्षा त धेरै हुन्छ, तर पूरा हुँदैनन्,’  उनले भनिन्, ‘जेनजी आन्दोलनपछि केही होला कि भन्ने आशा छ ।’

विराटनगर-७ का वैभव नहाटा भोट हाल्नका लागि अमेरिकाबाट नेपाल आएका हुन् । पहिलो पटक मतदान गरेका उनले निर्वाचित नेतृत्वसँग सुशासन र विकासको अपेक्षा राखेको बताए ।

‘म त भोट हाल्नकै लागि यूएसएबाट आएको,’ उनले भने, ‘अब आउने सरकारले केही गर्छ कि भन्ने आशा छ, हेरौं के हुन्छ ।’

पहिलो पटक मतदान गरेका विराटनगर-२ का समर्पण खनालले नयाँ नेतृत्वसँग भ्रष्टाचारको अन्त्य हुँदै देश विकासको अपेक्षा रहेको बताए । ‘भ्रष्टाचार अन्त्य हुन्छ भन्ने आशा छ, काम  नगरी आउनुभयो भने फेरि अर्को पटक विचार गर्नुपर्छ,’ उनले भने, ‘देश परिवर्तन हुन्छ भन्ने अपेक्षा छ ।’

ग्रामथान गाउँपालिका-५ गिनधिनियाका चतुरलाल थारु जेनजी आन्दोलनको एजेन्डा स्थापित हुने अपेक्षा नयाँ नेतृत्वसँग रहेको बताउँछन् । निर्वाचित हुने व्यक्तिले आफ्नो गाउँको स्वरूप पनि फेर्ने अपेक्षा राखेको उनले बताए ।

‘जेनजी आन्दोलनका शहीदलाई न्याय होस्, मैले भोट हालेको उम्मेदवारले जित्यो भने जेनजी आन्दोलनको माग सम्बोधन गरोस्,’ शारीरिक रूपमा अशक्त उनले भने, ‘गाउँको पनि मुहार फेरियोस् भन्ने अपेक्षा छ ।’

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?