+
+
Shares

बाजुरामा शान्तिपूर्ण मतदान : आफ्नो भोट आफैं हाल्न पाउँदा मतदाता खुसी

२०४८ यताका सबै निर्वाचनमा बाजुरामा विवाद नभएको कुनै निर्वाचन छैन । सबैजसो निर्वाचनमा बुथ कब्जा गर्ने, फर्जी मत हाल्नेदेखि कमजोर मतदाताको मताधिकार बलपूर्वक अर्कोले प्रयोग गर्नेसम्मका घटना हुँदै आएका थिए ।

प्रकाश सिंह  प्रकाश सिंह 
२०८२ फागुन २१ गते १७:५०

२१ फागुन, बाजुरा । बाजुराको चुनावी इतिहासमा पहिलो पटक शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । यो पटकको चुनावमा सामान्य झडप तथा विवाद समेत भएन । प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जिल्लाभर सामान्य वातावरणमा सौहार्दपूर्वक मतदान सम्पन्न भएको जानकारी दिए ।

बाजुरामा ८७ हजार ८६१ जना कुल मतदातामध्ये यो समाचार तयार पार्दासम्म प्रशासनसँग उपलब्ध तथ्याङ्कअनुसार ४४ हजार ७७३ जनाले मतदान गरेका छन् ।

जानकारहरूका अनुसार २०४८ यताका सबै निर्वाचनमा बाजुरामा विवाद नभएको कुनै निर्वाचन छैन । सबैजसो निर्वाचनमा बुथ कब्जा गर्ने, फर्जी मत हाल्नेदेखि कमजोर मतदाताको मताधिकार बलपूर्वक अर्कोले प्रयोग गर्नेसम्मका घटना हुँदै आएका थिए ।

यस पटक भने मतदान गर्ने सबै बाजुरावासीले आफ्नो भोट आफै हाल्न पाएको दाबी गरिएको छ । पहिलो पटक भयरहित वातावरणमा आफैले भोट हाल्न पाएकामा यहाँका मतदाता खुसी छन् ।

२०७९ मंसिर ४ मा सम्पन्न भएको संसदीय निर्वाचनमा बाजुराको त्रिवेणी नगरपालिका–७ मा विवाद हुँदा दुई जनाको ज्यान नै गएको थियो । त्यो बेला २५ भन्दा बढी मतदान केन्द्रमा झडप नै भएको थियो ।

सोही वर्ष वैशाखमा भएको स्थानीय तह निर्वाचनमा बुढीगंगा नगरपालिकामा पहिलो पटक विवाद हुँदा दोस्रो पटक चुनाव भएको थियो । यही कारण बाजुरालाई सधैँ बदनाम भएको स्थानीय शिक्षक डम्बर सिंह बताउँछन् ।

हालसम्म प्राप्त जानकारीअनुसार जिल्लाका ७७ वटा मतदान स्थलमा रहेका ११८ मतदान केन्द्रमा विवादरहित ढंगले मतदान सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी निरौलाका अनुसार जिल्लाको पूर्ववत् चुनावी इतिहासलाई हेरेर सुरक्षा व्यवस्था बलियो बनाइएको थियो ।

सुरक्षा निकायले पनि बलियो सुरक्षा रणनीतिका साथ काम गरिरहेका छन् । चुस्त समन्वयका साथ नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी परिचालन भएका थिए । सेनाले हेलिकप्टरदेखि ड्रोनबाट अनुगमन गरेको थियो । कतिपय जोखिमका मतदान केन्द्रमा सीसीक्यामरासमेत जडान गरेर सूक्ष्म निगरानी गरिएको थियो ।

केही दिनअघि गृहमन्त्री ओमप्रकाश अर्याल, गृह सचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल नै बाजुरा पुगेर सुरक्षा व्यवस्थाबारे जानकारी लिएका थिए ।

मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलले यस पटक शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गर्न मद्दत गर्ने सबै बाजुरावासीलाई धन्यवाद दिए । ‘सबै राजनीतिक दल, सुरक्षाकर्मी, नागरिक समाज, पत्रकार र निर्वाचनमा खटिएका कर्मचारी तथा आम मतदाताको साथ सहयोगले बाजुरामा शान्तिपूर्ण मतदान सम्पन्न भयो,’ पोखरेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?