+
+
Shares

बार महासचिवमा पराजित यज्ञमणि अब संघीय सांसद

उनले रास्वपाको अनुशासन आयोगको उपप्रमुखको भूमिका पनि निर्वाह गरिसकेका छन्।

हरि अधिकारी हरि अधिकारी
२०८२ फागुन २४ गते ८:३१

२४ फागुन, विराटनगर । देशभर चलेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बलियो लहरसँगै मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर-१ बाट रास्वपा उम्मेदवार यज्ञमणि न्यौपाने सानदार रूपमा विजयी भएका छन्। उनले २७ हजार ३६७ मतसहित संसद्‌को यात्रा तय गरेका हुन्।

अन्तिम मतपरिणामअनुसार न्यौपानेले निकटतम प्रतिद्वन्द्वी श्रम संस्कृति पार्टीकी उम्मेदवार शान्ति पाख्रिन लामालाई ९ हजार ८४५ मतान्तरले पराजित गरे। शान्तिले १७ हजार ५२२ मत प्राप्त गरिन्।

तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर फागोले ११ हजार ९८६ मत प्राप्त गर्दा चौथो स्थानमा खुम्चिएका नेकपा एमाले उम्मेदवार घनश्याम खतिवडाले ९ हजार ८२३ मत मात्र पाए। त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार कुलप्रसाद साम्बाले २ हजार २२४ मत प्राप्त गरे।

यो क्षेत्र विगतमा कांग्रेस र एमालेको बलियो पकड क्षेत्र मानिन्थ्यो। तर यसपटक पुराना दलप्रतिको चरम वितृष्णा र घन्टीको देशव्यापी उभारले परम्परागत मतपेटिकामा पहिरो गयो। यही जनआक्रोश र परिवर्तनको हुटहुटी सदुपयोग गर्दै यज्ञमणिले मोरङमा बाजी मारे ।

नवनिर्वाचित सांसद एवं अधिवक्ता न्यौपानेको यसपटकको चुनावी यात्रा निकै रोचक छ। सुरुमा उनी आफ्नै गृहजिल्ला झापाको क्षेत्र नम्बर ५ बाट पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग आमनेसामने प्रतिस्पर्धा गर्न चाहन्थे। आफ्नो घर दमक नै भएका कारण उनले त्यहाँ भेटघाट र चुनावी अभियानसमेत सुरु गरिसकेका थिए।

तर, एमाले अध्यक्ष ओलीलाई उनकै गढमा चुनौती दिन काठमाडौँका पूर्वमेयर एवं रास्वपाका प्रभावशाली नेता बालेन शाह झापा–५ मा जाने निश्चित भएपछि न्यौपानेले अन्तिम समयमा आफ्नो चुनावी क्षेत्र परिवर्तन गरी मोरङ–१ रोजेका थिए।

झापामा ओलीसँग लड्न नपाए पनि न्यौपानेले मोरङबाट शानदार रूपमा संसद्‌को यात्रा तय गरे। उता, झापा–५ मा बालेन शाहले पनि एमाले अध्यक्ष ओलीमाथि ऐतिहासिक र फराकिलो जित दर्ता गरेका छन्। वर्षौँदेखि ओलीको एकछत्र राज रहेको र एमालेको ‘किल्ला’ मानिएको उक्त क्षेत्रमा यसपटक घन्टीको एकप्रकारले सुनामी नै आउँदा शाहले ६८ हजार ३४८ मत प्राप्त गर्दा ओली १८ हजार ७३४ मतमै समेटिए। शाह र ओलीबीचको मतान्तर नै ४९ हजार ६१४ रह्यो, जसले पुराना र स्थापित भनिएका नेताहरूप्रतिको चरम असन्तुष्टिलाई प्रस्ट पारेको छ।

पेसाले कानुन व्यवसायी रहेका न्यौपानेको पुर्ख्यौली घर झापाको दमकमा भए पनि उनी लामो समयदेखि काठमाडौँलाई कार्यक्षेत्र बनाएर बसिरहेका छन्। रास्वपा सभापति रवि लामिछानेसँग निकट सम्बन्ध रहेका उनी पार्टीभित्र बौद्धिक नेताका रूपमा चिनिन्छन्। उनले रास्वपाको अनुशासन आयोगको उपप्रमुखको भूमिका पनि निर्वाह गरिसकेका छन्।

यसअघि उनले नेपाल बार एसोसिएसनको महासचिव पदमा समेत उम्मेदवारी दिएका थिए। यद्यपि, बारको निर्वाचनमा उनी पराजित भएका थिए। वकिलहरूको छाता सङ्गठनको महासचिवमा हारे पनि देशव्यापी परिवर्तनको उभारमा उनी सङ्घीय संसद्‌मा भने पुग्न सफल भएका छन्।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?