+
+
Shares

पञ्चायतदेखि चुनाव जित्दै आएका राजेन्द्र पाण्डे तेस्रो स्थानमा खुम्चिए

पञ्चायतकालदेखि निरन्तर चुनाव लड्दै र जित्दै आएका अनुभवी नेता राजेन्द्र पाण्डेले जेनजी आन्दोलनपछि पनि संसद्‌को यात्रा तय गर्न खोज्दा धादिङ–१ का मतदाताले उनलाई तेस्रो स्थानमा खुम्च्याइदिएका छन्।  

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २४ गते ८:४१
फाइल तस्वीर

२४ फागुन, काठमाडौं । पञ्चायती व्यवस्थादेखि सङ्घीय गणतन्त्रसम्मको राजनीतिक यात्रालाई नजिकबाट भोगेका र संसदीय राजनीतिका ‘चतुर खेलाडी’ मानिने राजेन्द्रप्रसाद पाण्डेको अपराजितजस्तै देखिने चुनावी यात्रामा यसपटक ठूलो पूर्णविराम लागेको छ।

धादिङ निर्वाचन क्षेत्र नम्बर १ बाट आठौंपटक चुनावी मैदानमा होमिएका ६९ वर्षीय पाण्डेलाई मतदाताले नराम्रोसँग नकार्दै तेस्रो स्थानमा खुम्च्याइदिएका छन्। उनलाई पराजित गर्दै सडकबाट उदाएकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की ३७ वर्षीया उम्मेदवार आशिका तामाङ ३९ हजार १२८ मतसहित सानदार रूपमा सङ्घीय संसद्‌मा पुगेकी छन्। पाण्डेले भने १४ हजार ७०९ मत मात्र प्राप्त गरे।

गर्विलो इतिहास

राजेन्द्र पाण्डेको राजनीतिक इतिहास विरलै नेताहरूसँग मात्र मिल्छ। २०३१ सालको विद्यार्थी आन्दोलनबाट राजनीतिमा उदाएका उनले पञ्चायतविरोधी आन्दोलनका क्रममा जेल जीवन र भूमिगत सङ्घर्षको लामो शृङ्खला पार गरेका थिए। २०४४ सालमा सम्पन्न जिल्ला पञ्चायत निर्वाचनमा धादिङबाट ‘जनपक्षीय’ उम्मेदवारका रूपमा सभापति जितेपछि उनको जनआधार फराकिलो बनेको थियो। देशभरबाट जनपक्षीय उम्मेदवारका रूपमा जित्ने उनी एक मात्र सभापति थिए, जसलाई पञ्चायती व्यवस्थाभित्रै लोकतान्त्रिक चेतनाको बलियो सङ्केत मानिएको थियो।

त्यसपछि सुरु भयो उनको संसदीय एकाधिकार। २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा लगातार प्रतिनिधिसभा सदस्य निर्वाचित भएका उनी २०६४ को पहिलो संविधानसभामा पराजित भए पनि २०७० सालमा फेरि सानदार रूपमा फर्किए।

देश सङ्घीयतामा गएपछि २०७४ सालमा प्रदेशसभा सदस्य हुँदै बागमती प्रदेशको मुख्यमन्त्रीसमेत बनेका उनी २०७९ को निर्वाचनमा सङ्घीय संसद्‌मै फर्किएका थिए। तत्कालीन एमाले हुँदै नेकपा एकीकृत समाजवादीको निर्माणमा निर्णायक भूमिका खेलेका उनीसँग सङ्घीय सरकारको मन्त्रीदेखि प्रदेश सरकार सञ्चालनसम्मको अथाहा अनुभव थियो।

धादिङ १ : अनुभवी उम्मेदवारबीच आशिकाको इन्ट्रीले रोचक बन्यो प्रतिस्पर्धा –  Online Khabar

रहरको कहर र पराजयको अन्तर्य

यसपटक पाण्डेले ‘अनुभव, विकास र सुशासन’ लाई मुख्य चुनावी एजेन्डा बनाएका थिए। तर, छ दशक लामो अनुभव यसपटक उनको अनुकूल होइन, प्रतिकूल बनिदियो।

देशभर जेनजी आन्दोलनले पुराना नेता र स्थापित दलहरूप्रति चरम आक्रोश पैदा गरिरहेको थियो। मानिसहरू विकल्पको खोजीमा सडकमा ओर्लिएका थिए। यस्तो सङ्कटपूर्ण घडीमा पनि ६९ वर्षीय पाण्डेले विश्राम लिनुको साटो फेरि एकपटक संसद्‌मा जाने रहर गरे। उनको यही ‘रहर’ धादिङका मतदाता र आफ्नै कार्यकर्तालाई समेत पाच्य भएन र कहरमा बदलियो ।

पाण्डेको उम्मेदवारीलाई लिएर धादिङमा पूर्वएकीकृत समाजवादी धारभित्रै चरम असन्तुष्टि छाएको थियो। ‘कति सधैँ एउटै अनुहार?’ भन्ने प्रश्न भुइँतहबाटै उठेपछि जिल्लाका केही सिनियर नेताहरूले त पार्टी नै छाडेर हिँडे।

आफू जन्मिनुभन्दा अघि नै चुनाव जितिसकेका पाण्डेका कार्यकर्ताहरू ४० नाघिसक्दा पनि अवसर नपाउँदा कार्यकर्ताको ठूलो पंक्ति असन्तुष्ट बनेको थियो ।

चुनावी अभियानका क्रममा पूर्वमाओवादी धारका नेताहरूले आफ्नै कार्यकर्तालाई ‘पाण्डेलाई भोट दिनुस्’ भनेर बारम्बार आह्वान र अनुनय–विनय गर्नुपरेको थियो। तर, नेतृत्वको त्यो ह्विपलाई कार्यकर्ता र आम मतदाताले सीधै नकारिदिए।

अन्ततः जुन इतिहासको जगमा उभिएर पाण्डेले आफ्नो जित सुनिश्चित ठानेका थिए, त्यही इतिहास यसपटक उनको भारी बन्यो। पुराना दलको सिन्डिकेट भत्काउन कम्मर कसेका धादिङ–१ का मतदाताले ३९ हजार १२८ मतसहित नयाँ अनुहारलाई सङ्घीय संसद्‌को बाटो देखाइदिए भने पञ्चायतदेखि गणतन्त्रसम्मका साक्षी राजेन्द्र पाण्डेलाई तेस्रो स्थानमा राख्दै ‘अब विश्राम लिनुस्’ भन्ने कठोर तर स्पष्ट सन्देश दिए।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?