+
+
Shares

सुदूरपश्चिममा उत्साहित रास्वपा, रक्षात्मक कांग्रेस-एमाले-नेकपा

सुदूरपश्चिममा अप्रत्याशित सफलता हात पारेको रास्वपाले अहिले उत्साहित देखिएको छ, भने ठुला दल रक्षात्मक बनेका छन् ।

जनक विष्ट जनक विष्ट
२०८२ फागुन २४ गते २२:०२

२४ फागुन, धनगढी । सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षतर्फको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । प्रदेशका १६ निर्वाचन क्षेत्रमध्ये प्रत्यक्षतर्फ सबै क्षेत्रको परिणाम आइसकेको छ, भने समानुपातिकतर्फको मतगणना जारी छ ।

प्रत्यक्षतर्फ १६ मध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १० सिट जितेको छ । नेपाली कांग्रेस र नेकपा एमालेले समान ३/३ सिट हात पारेका छन् ।

कैलाली र कञ्चनपुरका सबै क्षेत्रमा विजय हासिल गर्दै रास्वपाले १० सिटमा जित निकालेको हो । रास्वपाले कैलालीका पाँच वटै, कञ्चनपुरका तीन वटै, बैतडी र डडेलधुरामा जित निकालेको छ ।

रास्वपाबाट कैलाली–१ मा कोमल ज्ञवाली, २ मा केपी खनाल, ३ मा जगतप्रसाद जोशी, ४ मा खेमराज कोइराला र क्षेत्र नम्बर ५ मा डा. आनन्दबहादुर चन्द विजयी भएका छन् ।

यस्तै कञ्चनपुर–१ मा जनकसिंह धामी, २ मा दीपक बोहरा र ३ मा ज्ञानेन्द्र महता विजयी भए । बैतडीमा हरि मोहन भण्डारी र डडेलधुरामा डा. ताराप्रसाद जोशी रास्वपाबाट विजयी भए । जितेका रास्वपाका अधिकांश उम्मेदवारले आफ्ना प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पराजित गरेका छन् ।

यस्तै एमालेबाट दार्चुलामा गणेशसिंह ठगुन्ना, बझाङबाट ऐन महर र अछाम–२ मा यज्ञबहादुर बोगटीले जित निकालेका छन् । अघिल्लो पटक एमालेले सुदूरपश्चिममा दुई सिट मात्रै जितेको थियो । जसमा बैतडी र कञ्चनपुर–१ थिए ।

अघिल्लो निर्वाचनमा सुदूरपश्चिमबाट ८ सिट जितेको कांग्रेसबाट यस पटक डोटीमा भरतबहादुर खड्का, बाजुरामा जनकराज गिरी र अछाम–१ मा भरत स्वाँर विजयी भएका छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले भने कुनै पनि क्षेत्रमा जित निकाल्न सकेन ।

सुदूरपश्चिममा अप्रत्याशित सफलता हात पारेको रास्वपाले अहिले उत्साहित देखिएको छ, भने ठुला दल रक्षात्मक बनेका छन् ।

रास्वपा स्रोतका अनुसार उसको जम्मा तीन सिट मात्रै जित्ने आन्तरिक अनुमान थियो । आन्तरिक रूपमा जित्ने आकलन गरिएको डोटी र अछाम–२ मा भने रास्वपाले हार बेहोर्‍यो ।

रास्वपाका प्रदेश सभापति प्रकाश विष्टले भने चुनावी परिणाम अपेक्षाअनुसारकै भएको दाबी गरे । ‘मतदाताको विगतको मतदान प्रवृत्तिअनुसार यस पटक पनि परिणाम तलमाथि हुनसक्ने अनुमान थियो,’ उनले भने, ‘अन्ततः परिणाम हाम्रो अपेक्षाअनुसार नै आयो ।’ अब रास्वपाको बन्ने सरकारले प्रदेशको विकास र समृद्धिका लागि काम गर्ने उनले बताए । निर्वाचित सांसदहरूले पार्टीको नीतिअनुसार आफ्ना निर्वाचन क्षेत्रमा सक्रिय रूपमा काम गर्ने उनले बताए ।

अन्य दलभित्र भने कार्यशैली र पार्टी नीतिबारे बहस सुरु भएको छ । एमाले सुदूरपश्चिमका सचिव रणबहादुर चन्दले प्रदेशमा पार्टीले पाएको परिणाम अपेक्षाअनुसार नभएको बताए । उनले भने, ‘लोकतन्त्रमा जनमतभन्दा ठुलो कुरा हुँदैन, त्यसैले परिणामलाई हामीले स्वीकार गरेका छौँ । तर यो परिणामले पुराना दलहरूले आफ्नो कार्यशैली सुधार गर्नुपर्ने र जनमैत्री नीति बनाउनुपर्ने सन्देश दिएको छ ।’

यस्तै नेकपाका नेता जनकबहादुर बुढाले पनि जनताको मनोविज्ञानमा ठुलो परिवर्तन आएको बताएका छन् । ‘यो परिणाम हाम्रो अपेक्षाअनुसारको होइन । तर अहिलेको अवस्थाले जनताको मनस्थितिमा ठुलो फेरबदल आएको देखाउँछ,’ उनले भने । अब पुराना दलहरूले गम्भीर आत्म समीक्षा गर्नुपर्ने अवस्था आएको उनले बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
सामानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
जनक विष्ट

विष्ट अनलाइनखबरका कैलाली संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?