२४ फागुन, काठमाडौं । फागुन २१ गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको नतिजा आउने क्रम अन्तिम चरणमा पुगेको छ । प्रत्यक्षतर्फ १६५ मध्ये १५६ सिटको अन्तिम नतिजा आइसकेको छ । जसमध्ये १२० बढी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जित निकालेको छ ।
नेपाली कांग्रेस १७ र नेकपा एमाले ७ सिटमा खुम्चिएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेपका) ७, श्रम संस्कृति पार्टी ३, राप्रपा र स्वतन्त्रले एकएक सिट जितेका छन् ।
धेरै क्षेत्रमा ठुलो मतान्तरले विजयी हुँदा केही क्षेत्र भने थ्रिलर बनेका छन् । कसैले ४९ हजार बढी मतान्तरले जित्दा कसैले ५ मतान्तरले पनि विजयी भएका छन् । तीमध्ये कम मतान्तरले हारजित भएका ९ सिट यस्ता छन् ।
ओखलढुंगा-१
ओखलढुंगा क्षेत्र नम्बर १ मा कांग्रेसका कुमार लुइँटेलले ५ मतको नमिठो हार बेहोर्न पुगे । उनले रास्वपाका विश्वराज पोखरेलसँग ५ मतको साँघुरो हार बेहोरेका हुन् । पोखरेलले १३ हजार ९५३ मत ल्याएर विजयी हुँदा लुईटेलले १३ हजार ९४८ मत ल्याएर दोस्रो बने ।
सिन्धुली-१
सिन्धुली-१ मा नेकपा एमालेका प्रदीप कुमार कटवाल क्षेत्री साँघुरो मतान्तरले पराजित भए । उनलाई ७ सय ८४ मतान्तरले पराजित गर्दै रास्वपाका धनेन्द्र कार्कीले संसद्तर्फ पाइला चाले । उक्त क्षेत्रमा कार्कीले १६ हजार ६५९ र क्षेत्रीले १५ हजार ८७५ मत पाए ।
बागलुङ-२
कम मतान्तरले हारजित हुने अर्को क्षेत्र हो, बागलुङ-२ । उक्त क्षेत्रमा नेपाली कांग्रेसका टेकराज पौडेल ७ सय ७९ मतान्तरले पराजित भए । उनलाई रास्वपाका उम्मेदवार सोम शर्माले पराजित गरे । पौडेलले ११ हजार ८६८ र शर्माले १२ हजार ६४७ मत ल्याए ।
गुल्मी-२
गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका उपाध्यक्ष गोकर्ण विष्ट साँघुरो मतान्तरले पराजित हुने उम्मेदवार हुन् । यसअघि उक्त क्षेत्रमा निर्वाचित भएका विष्ट यसपटक भने पराजित हुन पुगे । उनी रास्वपाका गोविन्द पन्थीसँग ५ सय ६१ मतले पछि परे । विष्टले १६ हजार ९६७ मत पाउँदा पन्थीले १६ हजार ४०६ मत पाए ।
तेह्रथुम-१
एकमात्र क्षेत्र रहेको तेह्रथुममा पूर्वमन्त्रीसमेत रहेका भानुभक्त ढकाल सानो मतान्तरले पराजित भए । रास्वपाका सन्तोष सुब्बासँग ८ सय ७९ मतले पछि पर्दा भानुभक्तको संसद् छिर्ने ढोका बन्द भयो । ढकालले १० हजार ६८२ र सुब्बा ११ हजार ५६१ मत ल्याए ।
दैलेख-१
दैलेख क्षेत्र नम्बर १ मा पनि एमालेका उम्मेदवार साँघुरो मतान्तरले पराजित हुन पुगे । उक्त क्षेत्रमा एमालेबाट उम्मेदवार बनेका रविन्द्र राज शर्मा कांग्रेसकी बासना थापासँग ५ सय ७६ मतले हार ब्योहोरे । शर्माले ११ हजार ७९६ र थापाले १२ हजार ३७२ मत प्राप्त गरे ।
बाजुरा-१
बाजुरा क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार लालबहादुर थापा कम मतान्तरले पराजित हुन पुगे । उनी कांग्रेसका जनकराज गिरीसँग ५४० मतले पछि परे । गिरीले १७ हजार १७३ मत ल्याएर विजयी हुँदा एमालेका थापाले १६ हजार ६३३ मत पाए ।
अछाम-१
अछाम क्षेत्र नम्बर १ मा कांग्रेसका भरतबहादुर स्वार भाग्यमानी बने । स्वारले नेकपाका भीम रावललाई ५२६ मतको अन्तरमा हराए । स्वारले १० हजार ७ सय ५९ मत ल्याउँदा रावलले १० हजार २ सय ३३ मत प्राप्त गरे ।
डोटी-१
डोटी क्षेत्र नम्बर १ मा एमालेका विद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्व गरिरहेका दीपकबहादुर धामी सानो मतान्तरले पराजित हुन पुगे । उनी कांग्रेसका भरतबहादुर खड्कासँग ७८७ मतले पछि परे । खड्काले १४ हजार ८९७ र धामीले १४ हजार ११० मत लिए ।
प्रतिक्रिया 4