News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र विकास बोर्डले लामो समय योगदान पुर्याएका चलचित्रकर्मीलाई परिचयपत्र वितरण प्रक्रिया सुरु गरेको छ।
- विशिष्ट श्रेणीका लागि कम्तीमा ३० वर्ष, चलचित्रकर्मी श्रेणीका लागि २० वर्ष योगदान आवश्यक छ।
- आवेदन फाराम बोर्डको कार्यालय वा वेबसाइटबाट डाउनलोड गरी आवश्यक कागजातसहित पेश गर्न सकिनेछ।
काठमाडौँ । लामो समयदेखि योगदान पुर्याउँदै आएका चलचित्रकर्मीलाई सम्मानस्वरूप चलचित्र विकास बोर्डले परिचयपत्र वितरण गर्ने प्रक्रिया सुरु गरेको छ ।
बोर्डले सोमबार सूचना जारी गर्दै ‘चलचित्रकर्मी परिचय पत्र वितरण सम्बन्धी कार्यविधि, २०८१ (पहिलो संशोधन)’ अनुसार विशिष्ट, चलचित्रकर्मी तथा मानार्थ श्रेणीका परिचयपत्रका लागि योग्य व्यक्तिहरूबाट आवेदन आह्वान गरेको हो ।
बोर्डका अनुसार स्वदेशी चलचित्र क्षेत्रमा निरन्तर कम्तीमा ३० वर्ष योगदान पुर्याएका चलचित्रकर्मीले विशिष्ट श्रेणी, कम्तीमा २० वर्ष योगदान गरेकाले चलचित्रकर्मी श्रेणी तथा कुनै विधामा कम्तीमा २० वर्ष समर्पित रही नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन योगदान पुर्याएका विदेशी नागरिक वा दीर्घ साधना सम्मान प्राप्त व्यक्तिले मानार्थ श्रेणीको परिचयपत्रका लागि आवेदन दिन सक्नेछन् ।
बोर्डले आवेदन दिने इच्छुक चलचित्रकर्मीलाई स्वीकृत ढाँचाको फाराम भरी चलचित्र विकास बोर्डको कार्यालय वा बोर्डको इमेलमार्फत आवेदन पेश गर्न आग्रह गरेको छ ।
आवेदनसँग नेपाली नागरिकताको प्रतिलिपि, व्यक्तिगत विवरण (बायोडाटा), चलचित्र क्षेत्रमा प्राप्त पुरस्कार तथा सम्मानका प्रमाणपत्र, हालसालै खिचिएको पासपोर्ट साइजको रंगिन फोटो दुई प्रति र सम्भव भएसम्म आफूले काम गरेको चलचित्रको स्क्रिनसट संलग्न गर्नुपर्ने जनाइएको छ ।
आवेदन फाराम चलचित्र विकास बोर्डको कार्यालय वा बोर्डको वेबसाइटबाट डाउनलोड गर्न सकिने उल्लेख छ ।
प्रतिक्रिया 4