२६ फागुन, सिरहा । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ पनि सिरहाका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्पष्ट वर्चस्व कायम गरेको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको मतपरिणामअनुसार रास्वपाले जिल्लाभर करिब ५८ प्रतिशत मत प्राप्त गर्दै अन्य दललाई फराकिलो अन्तरले पछि पारेको हो ।
जिल्लाका चारवटै क्षेत्रमा प्राप्त मत जोड्दा रास्वपाले एक लाख ६० हजार ८२४ मत प्राप्त गरेको छ । यस्तै नेपाली कांग्रेस ३३ हजार ३८८ मतसहित दोस्रो स्थानमा रहेको छ भने नेपाल कम्युनिस्ट पार्टी (एमाले) २६ हजार ९१ मतका साथ तेस्रो स्थानमा रहेको छ । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले १९ हजार ३६८ मत प्राप्त गरेको छ ।
सिरहा–१ मा रास्वपाले ४१ हजार ५३६ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ । नेपाली कांग्रेस ८ हजार ९०१ मतसहित दोस्रो, एमाले ७ हजार १४९ मतका साथ तेस्रो, जनता समाजवादी पार्टी नेपाल ३ हजार ३१ मतका साथ चौथो र नेकपा दुई हजार ५७४ मतसहित पाचौं स्थानमा रहेका छन् ।
सिरहा २ मा मा रास्वपा ४१ हजार ९२७ मतसहित पहिलो बनेको छ । नेपाली कांग्रेसले ११ हजार २४७, एमाले ६ हजार ३२०, जसपाले ३ हजार ७३४ र नेकपाले २ हजार ७७८ मत प्राप्त गरेका छन् ।
सिरहा–३ मा रास्वपाले ३७ हजार ९५८ मत प्राप्त गर्दै अग्रता कायम गरेको छ । यहाँ नेपाली कांग्रेसले ९ हजार ५०, एमालेले ८ हजार ६५७, माओवादी केन्द्रले ८ हजार ५ र जसपाले ५ हजार २९६ मत प्राप्त गरेको छ ।
सिरहा–४ मा रास्वपाले ३९ हजार ३५८ मत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ । नेकपाले ६ हजार ११, जनमत पार्टी ४ हजार ६४३, नेपाली कांग्रेस ४ हजार १९०, एमाले ३ हजार ९६५ र जसपा ३ हजार ४३० मतसहित रहेका छन् ।
निर्वाचन आयोगका अनुसार सिरहामा कुल ४ लाख ५६ हजार २१७ मतदातामध्ये २ लाख ७९ हजार ४२९ मत खसेको थियो । खसेको मतमध्ये २ लाख ६८ हजार ८८१ मत सदर र १० हजार ५४८ मत बदर भएको जनाइएको छ ।
यसअघि प्रत्यक्षतर्फ पनि रास्वपाका उम्मेदवारहरूले सिरहाका चारवटै क्षेत्रमा विजय हासिल गरेका थिए । सिरहा–१ मा बब्लु गुप्ता, सिरहा–२ मा शिवशंकर यादव (शिव), सिरहा–३ मा डा. सम्भु यादव र सिरहा–४ मा तपेश्वर यादव विजयी भएका हुन् ।
प्रत्यक्षसँगै समानुपातिकतर्फ पनि आएको परिणामले सिरहामा नयाँ राजनीतिक शक्तिको उदय भएको विश्लेषण गर्न थालिएको छ ।
प्रतिक्रिया 4