+
+
Shares

सूर्यमुखी खेतीले बढायो कृषि पर्यटन   

रासस रासस
२०८२ फागुन २६ गते १३:३१

२६ फागुन, चितवन । भरतपुर महानगरपालिका–१५ फूलबारीस्थित श्रीपुरमा प्राङ्गारिक किसान चन्द्रप्रसाद अधिकारीले लगाएको सूर्यमुखी बगानमा अहिले फूल ढकमक्क फुलेसँगै अवलोकन गर्ने मानिसको भिड देखिन थालेको छ । करिब साढे दुई बिघा क्षेत्रफलमा फुलेका सूर्यमुखी फूल हेर्न आउनेको जमात दिनदिनै बढ्दै गएको छ ।

यहाँ कोही टिकटक बनाउँदै भेटिन्छन् भने कोही अध्ययन–अवलोकन गर्दै र कोही फोटो खिच्दै रमाइरहेका देखिन्छन् । फूलमा मौरीले रस सङ्कलन गर्दै बगानभरि घुमिरहेको दृश्य र बाली जोगाउन सुगालगायत चरालाई भगाउन राखिएका ‘डमी’ले यस क्षेत्रलाई थप आकर्षक बनाएको छ । बगानको बीच भागमा निर्माण गरिएका मचानमा बसेर चारैतिर फैलिएको सूर्यमुखी बारी अवलोकन गर्दा निकै रमाइलो अनुभव गर्न सकिन्छ ।

भरतपुर–३ बाट अवलोकन गर्न आभएका पवन अधिकारी र उल्झना अधिकारीले यहाँको वातावरण निकै रमाइलो लागेको बताए । उनीहरूले अन्यलाई पनि यहाँ आएर फूलको सौन्दर्य अवलोकन गर्न र केही समय मन प्रफुल्लित बनाउन आग्रह गरे ।

त्यसैगरी, समूहमा यहाँ घुम्न आएका गीता खड्का, आस्मा गुरुङ, जेनी चौधरी, सानु चौधरी र साना चौधरीले पनि बगान निकै आकर्षक रहेको बताए । नारायणगढबाट आएका उनीहरूले अघिल्लो वर्ष आउने योजना भए पनि फूल सुकेको हुँदा आउन नपाएको र यस वर्ष भने फूल फुलेको समयमा आएको बताए । टिकटकमा देखेर यहाँ आउन प्रेरणा मिलेको उनीहरूको भनाइ छ ।

एग्रो–इको टुरिजम प्रवर्द्धन गर्ने उद्देश्यले तयार गरिएको यस बगानले यस क्षेत्रलाई चहलपहल बनाउनुका साथै युवाहरूलाई कृषि क्षेत्रमा लाग्न प्रेरणा पनि दिएको छ । हाल यहाँ दैनिक चारदेखि पाँच सयसम्म मानिस विभिन्न स्थानबाट अवलोकन गर्न आउने गरेका छन् । फूल फुल्ने समय सीमित हुने भएकाले यस अवधिमा आगन्तुकको भिड बढी हुने गरेको छ ।

अधिकारीले भने, ‘धेरैजसो रमाउन, फोटो खिच्न र टिकटक बनाउन आउनुहुन्छ । कतिपय भने खेतीबारे बुझ्न पनि आउनुहुन्छ । बीउ कहाँ पाइन्छ ? ‘मेरो पनि जग्गा छ, म पनि लगाउँछु’ भन्दै सल्लाह लिन आउनुहुन्छ । सकेसम्म मैले जानेको कुरा सिकाएर पठाउने गरेको छु ।’

युवाहरूमा पनि यस खेतीप्रति आकर्षण बढ्दै गएको र कृषि पर्यटनको सम्भावना देखिएको उनको भनाइ छ ।

प्राङ्गारिक किसान अधिकारीले कुनै पनि रासायनिक मल वा विषादी प्रयोग नगरी खेती गर्न थालेको ३६ वर्ष भएको बताउँछन् । उनको अग्रसरतामा जिल्लाका केही स्थानमा प्राङ्गारिक कृषि प्रणाली पनि अपनाइएको छ । यहाँ उनले सूर्यमुखीसँगै गाजर, चुकन्दरलगायतका खेती पनि गर्दै आएका छन् ।

उनका अनुसार गत वर्ष यहाँ गाजर र चुकन्दरखेती गरिएको थियो भने अघिल्लो वर्ष पनि सूर्यमुखी लगाइएको थियो । यस वर्ष पुनः सूर्यमुखी खेती गरिएको उनले बताए । अघिल्लो वर्ष आगन्तुकबाट राम्रो प्रतिक्रिया प्राप्त भएपछि यस वर्ष पनि सूर्यमुखी लगाइएको र हालसम्म राम्रो भइरहेको उनको भनाइ छ । उनका अनुसार यस बगान स्थापना गर्न रोपाइँ, गोडमेल र व्यवस्थापनमा ठूलो लगानी गरिएको छ । उनले तेलबाली अनुसन्धान कार्यक्रम सर्लाहीबाट बीउ ल्याएर यहाँ सूर्यमुखीखेती गरेका हुन् । यहाँ उत्पादन हुने प्राङ्गारिक वस्तुको बजारको समस्या नभएको उनले बताए । काठमाडौंस्थित अर्ग्यानिक मार्टमा यहाँका उत्पादन जाने गरेका छन् । सूर्यमुखीको तेल प्रतिलिटर ८०० रुपैयाँमा बिक्री हुने उनको भनाइ छ ।

उनका अनुसार मंसिरको सुरुमा रोपिएको सूर्यमुखी चैतमा उत्पादन दिन्छ । यही समयमा फूल फुल्ने भएकाले मानिसहरू अवलोकन गर्न आउने गरेका हुन् । ‘फूल फुल्ने समयमा कृषि पर्यटनसँग जोडिएको छ,’ उनले भने, ‘मैले सुरुमा पर्यावरणमैत्री कृषि गरिरहेको थिएँ, पछि यससँग पर्यटन पनि जोडियो ।’

कृषिमा अत्यधिक नाफाको अपेक्षा गर्नु नहुने उनी बताउँछन् । ‘कृषि गर्नु आफैँमा आनन्दको विषय हो,’ उनले भने । अवलोकनका लागि आउने आगन्तुकबाट आफूलाई पनि हौसला मिलेको उनको भनाइ छ ।

नेपालको भौगोलिक विविधताले फरक-फरक स्थानमा फरक किसिमको कृषि प्रणाली अपनाउन सकिने सम्भावना रहेको उनले बताए ।

‘हरेक भूगोलअनुसार उत्पादन गरेर देशलाई आवश्यक पर्ने वस्तु उपलब्ध गराई बाँकी निर्यात गर्न सकिन्छ,’ उनले भने, ‘यसका लागि कृषि विज्ञको परामर्श र नीतिनिर्माताको सहयोग आवश्यक छ ।’

नेपालमा कृषिको सम्भावना राम्रो रहेको उल्लेख गर्दै उनले जानेर–बुझेर तथा विज्ञको सल्लाह लिएर फरकफरक प्रकारका कृषिबाली र कृषि पद्धति अपनाउनसके राम्रो हुने सुझाव दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?