News Summary
Generated by OK AI. Editorially reviewed.- कलाकार जोडी प्रियंका कार्की र आयुष्मान जोशीले छोरीको नाममा फिल्म निर्माण कम्पनी आयाङ्का फिल्म्स स्थापना गरेका छन्।
- आयाङ्का फिल्म्सबाट निर्माण भएको छोटो फिल्म 'टाख' युट्युबमा रिलिज भई ४ लाखभन्दा बढी पटक हेरिएको छ।
- छोटो फिल्म 'टाख' मा ग्रामीण परिवेश र तुइनको जोखिमपूर्ण यथार्थ प्रस्तुत गरिएको छ, जसमा प्रियंकाले मुख्य भूमिका निभाएकी छन्।
काठमाडौं । कलाकार जोडी प्रियंका कार्की र आयुष्मान जोशीले केही वर्षअघि नै छोरीको नाममा फिल्म निर्माण कम्पनी आयाङ्का फिल्म्स ब्यानरको स्थापना गरेका थिए ।
यो ब्यानरबाट उनीहरू धमाधम फिल्म र टिभी कार्यक्रम निर्माण गर्ने काममा जुटेका छन् । यही ब्यानरबाट वेब-सिरिज र छोटा फिल्महरू ‘जस्ट अनदर लभस्टोरी’, ‘वसन्त’ लगायतका प्रोजेक्ट बनिसकेका छन् ।
यही मेसोमा प्रियंका र आयुष्मानले ब्यानरबाट निर्माण भएको छोटो फिल्म ‘टाख’ युट्युबमा रिलिज भएको छ । १४ मिनेट ४४ सेकेन्डको यो छोटो फिल्मले यतिबेला दर्शकको साथ पाइरहेको छ ।
प्रियंका कार्की युट्युब च्यानलबाट ११ दिनअघि रिलिज भएको यो छोटो फिल्मलाई अहिलसम्म ४ लाखभन्दा धेरै पटक हेरिएको छ । यसले प्रतिक्रिया पनि सकारात्मक प्राप्त गरिरहेको छ ।
छोटो फिल्मको शीर्ष भूमिकामा कार्की स्वयमले अभिनय गरेकी छन् । ग्रामीण परिवेशमा छायांकन गरिएको यो फिल्ममा प्रियंकालाई गाउँले महिलाको भूमिकामा देख्न सकिन्छ ।

पश्चिमेली ग्रामीण जनजीवन र त्यहाँको सामाजिक परिवेशलाई प्रस्तुत गरिएको फिल्ममा विकट गाउँमा नदी पार गर्न प्रयोग गरिने जोखिमपूर्ण ‘तुइन’ को यथार्थलाई देखाइएको छ ।
यसको कथा सारांश यस्तो छ- यो एक युवती आमाको कथा हो, जसको मातृत्वलाई नियतिको कठोर वास्तविकताले चुनौती दिन्छ । बाढीले उर्लिएको नदीमा उनको सात वर्षको छोरा बगेर हराएपछि उनको जीवन गहिरो पीडा र अनिश्चिततामा डुब्छ । तर त्यसैबीच आशाको सानो झिल्को पनि देखापर्छ, जसले उनलाई संघर्ष र प्रतीक्षाको बाटोमा अघि बढिरहन प्रेरित गर्छ ।
अभिनयको विविधतालाई प्रियंकाले यो सर्ट फिल्ममार्फत देखाएकी छन् । साम्तेन भुटियाको निर्देशनमा बनेको फिल्मको कथा निर्देशक स्वयंले लेखेका हुन् । छायांकन चाहिँ आयुष्मान आफैले गरेका हुन् ।
फिल्ममा रोयल केसी, अर्जुन रेग्मी, घनश्याम जोशी, रेणुनाथ योगीले अभिनय गरेका छन् । ‘टाख’ लाई कार्की र आयुष्मान जोशीले लगानी गरेका छन् । आयंका फिल्म्सको ब्यानरमा चाँडै कथानक फिल्म निर्माण हुने जनाइएको छ ।
पछिल्लो समय नेपालमा तुइनको कारण धेरैले ज्यान गुमाइरहेका छन् । पुल नहुँदा जोखिम लिएर तुइनमार्फत नदी पार गर्नुपर्ने अवस्था छ । अघिल्ला सरकारले तुइन विस्थापित गर्ने बताएपनि, यसको कार्यान्वयन चाहिँ हुनसकेको छैन ।
प्रतिक्रिया 4