+
+
Shares

भुइँको टिप्न खोज्दा पोल्टाकै पोखियो

प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिन जनप्रतिनिधिबाट राजीनामा दिएका ३० मध्ये आठ जना मात्र निर्वाचित भए ।

रघुनाथ बजगाईं रघुनाथ बजगाईं
२०८२ फागुन २७ गते १६:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्थानीय तह र प्रदेश सभा सदस्यले पद छाडेर प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिए, तर १७ मध्ये १४ जनाले चुनाव हारे।
  • राष्ट्रिय स्वतन्त्र पार्टीका बालेन्द्र शाह झापा–५ बाट रास्वपाले दुई तिहाई बहुमत नजिक पुगेको प्रतिनिधिसभामा निर्वाचित भए।
  • निर्वाचन आयोगले उपनिर्वाचनबारे निर्णय गर्ने बताएको छ, स्थानीय तह र प्रदेश सभाको कार्यकाल एक वर्षभन्दा बढी बाँकी छ।

२७ फागुन, काठमाडौं । प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न काठमाडौं महानगरको मेयरबाट राजीनामा दिएका बालेन्द्र शाह (बालेन)ले झापा–५ बाट चुनाव जिते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ नेता शाहलाई निर्वाचन अघि नै प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेको थियो । रास्वपा प्रतिनिधिसभामा दुई तिहाई बहुमत नजिक पुगेको छ ।

स्थानीय सरकार प्रमुखको जिम्मेवारी छाडेर प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ सुनसरी–१ बाट निर्वाचित भए । गत कात्तिकमा साम्पाङको अध्यक्षतामा गठन भएको श्रम संस्कृति पार्टी राष्ट्रिय दल बन्ने निश्चित भएको छ ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष सुशील साह कानु पनि पदबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएका थिए । उनले पर्सा क्षेत्र नम्बर–२ बाट चुनाव जिते ।

प्रतिनिधिसभामा उठ्न जनप्रतिनिधिबाट राजीनामा दिएका सबै उम्मेदवार शाह, साम्पाङ र कानु जस्तै भाग्यमानी भने भएनन् । स्थानीय सरकारबाट राजीनामा दिएका १७ जनप्रतिनिधि मध्ये १४ जनाले चुनाव हारे ।

साम्पाङ उठेकै सुनसरी–१ बाट उम्मेदवारी दिएका सूर्यबहादुर भट्टराईले चुनाव जित्न सकेनन् । चुनाव उठ्न उनले धरान उपमहानगरपालिकाका–१७ को वडाअध्यक्ष पदबाट राजीनामा दिएका थिए ।

वीरगन्ज महानगरपालिका २० का वडाध्यक्ष रामकिशोर सिंह पनि पर्सा १ मा उज्यालो नेपाल पार्टीबाट उम्मेदवार थिए । चुनावी परिणाम उनको पक्षमा आएन ।

अरू को–को रोकिए ?

स्थानीय तहको नेतृत्व छाडेर प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएकी भरतपुर महानगरपालिकाकी निवर्तमान मेयर रेणु दाहालले चुनाव जित्न सकिनन् । २०७४ र २०७९ मा निर्वाचित दाहालले दुई कार्यकाल मेयर हुँदा भरतपुरमा गरेको विकासको काम देखाएर दाहाल चितवन–३ बाट उम्मेदवारी दिएकी थिइन् । यो क्षेत्रबाट रास्वपाकी सोविता गौतम निर्वाचित भइन् ।

दुईपटक स्याङ्जाको कालीगण्डकी गाउँपालिका अध्यक्ष बनेका खिमबहादुर थापा पनि कार्यकाल नसकिँदै राजीनामा दिएर संघीय सांसद बन्ने दौडमा लागे । स्याङ्जा–२ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बने, तर परिणाम उनको पक्षमा आएन ।

कैलालीको टीकापुर नगरपालिकाका निवर्तमान प्रमुख रामलाल डगौरा थारुलाई पनि प्रतिनिधि सभा सदस्यको निर्वाचन सिकाइ मात्रै भयो । कैलाली १ बाट उठेका डगौरा तेस्रोस्थानमा आए ।

कैलालीको भजनी नगरपालिका–३ का वडाध्यक्ष विक्रम चौधरी पनि प्रतिनिधिसभा सदस्य बन्न राजीनामा दिएर अगाडि बढे । कैलाली ३ बाट उम्मेदवार बनेका चौधरीको पनि प्रतिनिधिसभा सदस्य बन्ने सपना पुरा हुन सकेन ।

कार्यकाल नसकिँदै छाडेर प्रतिनिधिसभामा आउन खोजेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता थापा पनि रोकिइन् । थापालाई एमालेले ओखलढुंगाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनायो । रास्वपाका विश्वराज पोखरेलले चुनाव जित्दा थापा चौथो भइन् ।

बाँकेको नेपालगन्ज उपमहानगरका निवर्तमान उपप्रमुख कमरुद्दिन राईलाई जनताले संघीय सांसद्मा पत्याएनन् । जनता समाजवादी पार्टी (जसपा), नेपालबाट बाँके २ मा उम्मेदवार बनेका उनी पराजित भए ।
धुलिखेलको मेयर छाडेर काभ्रे २ मा एमालेका उम्मेदवार बनेका अशोक ब्यान्जु श्रेष्ठले पनि चुनाव जित्न सकेनन् । उनी नगरपालिका संघका पूर्व अध्यक्ष हुन् ।

एमालेबाटै मोरङ २ मा उठेका दिलीप अग्रवाल रंगेलीका पूर्वमेयर हुन् । चुनावी परिणाम उनको पक्षमा आएन ।

सूर्योदय नगरपालिकाका पूर्वमेयर रणबहादुर राई इलाम–१ मा पराजित भए ।

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको अध्यक्ष पद छाडेर सोलुखुम्बुबाटै प्रतिनिधिसभा सदस्य बन्न खोजेका असीम राईले चुनाव जित्न सकेनन् ।

उदयपुरको लिम्चुङबुङ गाउँपालिका अध्यक्षबाट राजीनामा दिएर मेजरकुमार राई उदयपुर २ मा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बने । तर परिणाम आफ्नो पक्षमा पार्न सकेनन् ।

मेजरकुमार राई २०७४ र २०७९ को स्थानीय तह निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट लगातार दुई कार्यकाल लिम्चुङबुङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । दोस्रो कार्यकाल पूरा नगरी प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिँदा जम्मा ९० मत पाए ।

प्रदेश सभा छाड्ने पनि धेरै आएनन्

स्थानीय तहको मात्रै होइन, प्रदेश सभा सदस्यको पद छाडेर संघीय संसद् सदस्यमा उम्मेदारी दिनेहरूमध्ये धेरै उम्मेदवारको चुनावी परिणाम पनि सुःखद रहेन । प्रदेश सभा सदस्य कार्यकाल नसकिँदै राजीनामा दिएर प्रतिनिधि सभा सदस्यमा उठेका १३ मध्ये पाँच जनाले मात्र चुनाव जिते ।

प्रदेश सभा सदस्य छाडेर प्रतिनिधिसभा सदस्यको चुनाव जित्नेमा डा. तारा जोशी, रहबर अन्सारी, युवराज दुलाल, सुनिल केसी र कन्हैया बानियाँ छन् ।

डा. जोशीले डडेलधुराबाट चुनाव जितेका हुन् । उनी यसअघि सुदूरपश्चिम प्रदेशमा स्वतन्त्र सांसद थिए । नेपाली कम्युनिष्ट पार्टीका अन्सारीले मधेश प्रदेश सभा सदस्यबाट राजीनामा दिएर उम्मेदवार बनेका थिए ।

बागमती प्रदेश सभा सदस्य छाडेर सिन्धुपाल्चोक २ बाट उठेका पूर्व प्रदेश मन्त्री युवराज दुलालले चुनाव जिते ।

बागमती प्रदेश सभा सदस्य छाडेर उम्मेदवार भएका सुनिल केसीले पनि चुनाव जिते । केसीले प्रदेश सांसद्सँगै राप्रपा छाडेर रास्वपाबाट उठेका थिए ।

प्रदेश सभा सदस्य छाडेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका अर्का नेता हुन्, कन्हैया बानियाँ । उनी लोकतान्त्रिक समाजवादी पार्टीबाट लुम्बिनी प्रदेश सभा सदस्य थिए । चुनावको केही समय अगाडि रास्वपा प्रवेश गरे र रुपन्देही ४ बाट उम्मेदवार बने र चुनाव जिते ।

बागमती प्रदेश सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्य बनेका प्रकाश श्रेष्ठ, अमनकुमार मास्के, वसन्त मानन्धरले चुनाव जित्न सकेनन् । श्रेष्ठ र मानन्धर काठमाडौं ७ मा, मास्के काठमाडौं ६ मा उठेका थिए ।

बागमती प्रदेश सभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन खोजेका कांग्रेसका कुन्दनराज काफ्लेले भने टिकट नै पाएनन् ।

बाँकी जति प्रदेश सभाको कार्यकाल पूरा नगरी प्रतिनिधि सभा सदस्य भए उनीहरूका लागि चुनावी परिणाम सुःखद रहन सकेन ।

लुम्बिनीबाटै बाँकी तीन जना प्रदेश सभा सदस्य छाडेर प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका थिए । उनीहरू हुन्– धनबहादुर मास्की, धर्मबहादुर चौधरी र कृष्णा केसी ‘नमुना’ । यी तीनै जनाले चुनाव जित्न सकेनन् ।

तत्कालीन माओवादीबाट प्रदेश सांसद बाँकेकी कृष्णा केसी पदबाट राजीनामा दिएर प्रगतिशील लोकतान्त्रिक पार्टीबाट बाँके १ मा उठेकी थिइन् ।

तत्कालीन नेकपा माओवादीबाट दाङ–२ (ख) बाट निर्वाचित धनबहादुर मास्की प्रदेश सभा सदस्य छाडेर नेकपाबाटै दाङ २ मा संघीय उम्मेदवार बनेका थिए ।

२०७९ मा नागरिक उन्मुक्ति पार्टीबाट बर्दिया–२ (ख) बाट प्रदेश सभामा निर्वाचित धर्मबहादुर चौधरी पनि संघीय सांसदको उम्मेदवार बने । उज्यालो नेपाल पार्टीबाट बर्दिया–२ मा उठेका उनले चुनाव जित्न सकेनन् ।

मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंह पनि प्रदेश सभा सदस्यको कार्यकाल पुरा नहुँदै संघीय सांसद बन्ने दौडमा लागे तर, उदेश्य पूरा भएन । स्वाभिमान पार्टीबाट सप्तरी २ मा चुनाव लडेका उनले चुनाव हारे ।

मधेश प्रदेशकै पूर्वसभामुख रामचन्द्र मण्डलले पनि चुनाव जित्न सकेनन् । प्रदेश सांसद त्यागेर उनी धनुषा १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका थिए ।

मधेश प्रदेश सभा सदस्य छाडेर नेकपाबाट महोत्तरी–४ मा प्रतिनिसभा निर्वाचनमा उम्मेदवारी दिएका भरतप्रसाद साह पनि पराजित भए । प्रदेश सभा सदस्य छाडेर झापा ४ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनेका राप्रपाका भक्तिप्रसाद सिटौला पनि पराजित भए ।

रिक्त क्षेत्रमा होला उपनिर्वाचन ?

प्रतिनिधिसभा सदस्यको चुनाव लड्न स्थानीय तह र प्रदेश सभा सदस्यको पद छाडेकाहरूको पद रिक्त भएको छ । ती रिक्त भएका पदहरूमा उपनिर्वाचन हुन्छ या हुँदैन भन्ने निर्क्योल छैन ।

स्थानीय तह निर्वाचन ऐनको दफा ३ को उपदफा २ मा एक वर्षभन्दा बढी पदावधि बाँकी रहँदै पद रिक्त भएको अवस्थामा कार्यकारी पदहरूको उपनिर्वाचन गर्न सकिने व्यवस्था छ ।

स्थानीय तहको निर्वाचन २०७९ साल वैशाखमा भएको थियो ।

२०७९ साल मंसिरमा प्रदेश सभा सदस्यको निर्वाचन भएको थियो । यसआधारमा स्थानीय तह र प्रदेश सभा दुवैको कार्यकाल एक वर्षभन्दा बढी छ ।

उपनिर्वाचनबारे निर्वाचन आयोग र सरकारले नै निर्णय गर्ने बताउँछन् निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरे ।

‘निर्वाचन आयोग र सरकारको सल्लाह बमोजिम उपनिर्वाचनबारे निर्णय हुन्छ’ उनी भन्छन्, ‘निर्वाचन गर्ने हुँदा आगामी चैत महिनाभित्र मिति घोषणा गरियो भने सहज हुन्छ । तर, छोटो अवधि बाँकी भएकाले के हुन्छ यसै भन्न सकिन्न ।’

पदाधिकारी रिक्त रहेका स्थानीय तहहरू

काठमाडौं महानगरपालिका– काठमाडौं

धरान उपमहानगरपालिका– सुनसरी

भरतपुर महानगरपालिका– चितवन

धुलिखेल नगरपालिका– काभ्रे

रंगेली नगरपालिका – मोरङ

सूर्योदय नगरपालिका – इलाम

थुलुङ दूधकोशी गाउँपालिका – सोलुखुम्बु

लिम्चुङबुङ गाउँपालिका – उदयपुर

कालिकण्डकी गाउँपालिका – स्याङ्जा

टीकापुर नगरपालिका – कैलाली

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
रघुनाथ बजगाईं

अनलाइनखबरको राजनीतिक ब्यूरोमा आबद्ध बजगाईं संसदीय मामिलामा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?