News Summary
Generated by OK AI. Editorially reviewed.- मध्यपूर्वको तनावका कारण विश्व बजारमा इन्धन आपूर्तिको अभाव कम गर्न अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले आपतकालीन भण्डारबाट ४० करोड ब्यारल तेल उपलब्ध गराउने निर्णय गरेको छ।
- आईईएका ३२ सदस्य देशहरूले सर्वसम्मत रूपमा तेल बजारमा आपतकालीन भण्डारबाट तेल पठाउने निर्णय गरेको बीबीसीले जनाएको छ।
- अमेरिकाले कुल ४० करोड ब्यारेल तेलमध्ये १७ करोड २० लाख ब्यारेल आगामी सातादेखि निकासी सुरु गरी १२० दिनभित्र बजारमा पठाउने जनाएको छ।
काठमाडौं । मध्यपूर्वको तनावका कारण विश्व बजारमा देखिएको इन्धन आपूर्तिको अभावलाई कम गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) ले आपतकालीन भण्डारबाट ४० करोड ब्यारल तेल बजारमा उपलब्ध गराउने निर्णय गरेको छ । यसमा सबैभन्दा धेरै हिस्सा अमेरिकाको हुनेछ । अमेरिकाले कूल ४० करोडमध्ये १७ करोड २० लाख ब्यारेल तेल उपलब्ध गराउने छ ।
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का ३२ सदस्य देशहरूले विश्व बजारमा तेल पठाउने निर्णयको पक्षमा सर्वसम्मत निर्णय गरेको बीबीसीले जनाएको छ ।
मध्यपूर्वको तनावको क्रममा इरान र खाडी देशको बीचमा पर्ने समुद्री मार्ग होर्मुज स्ट्रेटमा आक्रमण भएपछि विश्वभर तेल आपूर्ति प्रभावित भएको छ । तेल मूल्यको आकासिएको छ ।
आईईएका कार्यकारी निर्देशक फेथ बिरोलले तेल बजारले अहिले असाधारण चुनौतीको सामना गरिरहेको भन्दै यस्तो कदम आवश्यक भएको बताएका छन् । उनले भनेका छन्, ‘तेल बजारमा देखिएका चुनौतीहरू अभूतपूर्व छन्, त्यसैले सदस्य देशहरूले यस्तो कदम चाल्नु सकारात्मक कुरा हो ।’
आईईएले आपतकालीन भण्डारबाट निकालिने तेल प्रत्येक सदस्य देशको राष्ट्रिय परिस्थितिअनुसार उपयुक्त अवधिमा बजारमा उपलब्ध गराइने जनाएको छ ।
आईईएका सदस्य देशहरूसँग अहिले १ अर्ब २० करोड ब्यारेलभन्दा बढी आपतकालीन तेल भण्डार रहेको बताइन्छ । त्यसबाहेक उद्योग क्षेत्रमा सरकारी दायित्वअन्तर्गत अतिरिक्त ६० करोड ब्यारेल तेल भण्डार रहेको एजेन्सीले जनाएको छ ।
अमेरिकाले दिनेछ १७ करोड २० लाख ब्यारेल तेल
यस निर्णयअन्तर्गत अमेरिकाले सबैभन्दा ठूलो योगदान गर्ने भएको छ । अमेरिकाले कुल ४० करोड ब्यारेलमध्ये १७ करोड २० लाख ब्यारेल तेल उपलब्ध गराउने जनाएको छ ।
अमेरिकाको स्ट्राटेजिक पेट्रोलियम रिजर्भ (एसपीआर) बाट तेल निकासी आगामी सातादेखि सुरु हुने र करिब १२० दिनभित्र बजारमा पठाइने अमेरिकाको ऊर्जा विभागले जनाएको छ ।
ऊर्जा विभागका अनुसार, अमेरिकाले आगामी एक वर्षभित्र २० करोड ब्यारेल तेल पुन: भण्डारमा भर्ने योजना बनाएको छ । सामान्यतया यस्तो भण्डार पुन: भर्ने खर्च करदाताले बहन गर्नुपर्ने भए पनि यसपटक करदातालाई अतिरिक्त भार नपर्ने दाबी गरिएको छ, यद्यपि त्यसको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।
अमेरिकी ऊर्जा विभागको तथ्यांकअनुसार ६ मार्चसम्म एसपीआरमा करिब ४१ करोड ५० लाख ब्यारेल तेल भण्डारण छ, जबकि यसको कुल क्षमता ७० करोड ब्यारेल रहेको छ ।
प्रतिक्रिया 4