+
+
Shares

रानीबेल : स्मृति, विज्ञान र संरक्षणको कथा

रानीबेल संरक्षण गर्नु भनेको जैविक विविधता संरक्षण मात्र होइन, भावी पुस्ताका लागि सम्भावित आर्थिक, औषधीय र वैज्ञानिक स्रोत जोगाउनु पनि हो ।

कमल मादेन कमल मादेन
२०८२ फागुन २८ गते ९:११

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरीको बक्लौरी गाउँको सीमावर्ती जङ्गलमा ५० वर्षअघि पाँच घर मात्रै थिए, अहिले करिब ६० घर भएका छन्।
  • रानीबेल नामक जङ्गली फलको एम.एस्सी. शोधकार्यमा प्रोटिन ८.२२ प्रतिशत, तैलीय पदार्थ ०.७७ प्रतिशत र खनिज ३.४८ प्रतिशत पाइयो।
  • नेपालमा रूख प्रजाति पहिचान र संरक्षणमा समस्या छ, जसका कारण जैविक विविधता र औषधीय वनस्पति संरक्षणमा चुनौती छ।

करिब ५० वर्षअघि सुनसरीको बक्लौरी गाउँ पञ्चायत वडा नं. २ स्थित पञ्चायन झोडाको चारकोसे जङ्गल सीमावर्ती भू–भागमा मानिसको बसोबास अत्यन्तै कम थियो। त्यहाँ हिजोआजको आफन्त टोलस्थित भट्टराई पसलभन्दा उत्तरतर्फ करिब आधा वर्ग कि.मि. आवादी क्षेत्रमा जम्मा पाँच घर थिए।

हाम्रो घर जङ्गलबाट करिब ७५ मिटर पर थियो। बाँकी चार घरहरू जङ्गलबाट करिब २/३ सय मिटर टाढा थिए। त्यसैले हाम्रो परिवारको दैनिकी जङ्गलसँग लुकामारीमा बित्थ्यो। वन्यजन्तु प्रशस्तै थिए। कहिलेकाहीँ बाघ जङ्गल सिमानामा निस्केर गर्जिन्थ्यो। प्रायः सुन्थेँ, २५/२६ सालतिर त हाम्रो एउटा गोरु र बाच्छो नै खाइदिएको थियो रे! हिजोआज त्यहाँ करिब ६० जति सङ्ख्यामा घरहरू छन्।

उसताका बँदेलले धान, मकै, गहुँ, कोदो खाइदिनु सामान्यजस्तै थियो। कहिलेकाहीँ राति घरछेउमै खाइरहेको थाहा पाइन्थ्यो। मङ्सिरे धान पाकेको बेला खेतमै दाजुहरूसँग आलोपालो गर्दै कठाङ्ग्रिँदै सुत्नुपर्थ्यो, बँदेलबाट जोगाउन। धन्न त्यसबेला हात्ती थिएन। बाघ करिब ३०/३१ सालयता मासियो।

मैले २०२८/२९ सालतिर चौसट्ठी बिघास्थित विद्यालयमा शिशु कक्षा पढेँ। मभन्दा माथिका एक जना दाइ र दिदीले त्यसबेला त्यही विद्यालयबाट प्राथमिक तहको कक्षा ५ उत्तीर्ण गरेपछि, नजिकै निम्न वा माध्यमिक विद्यालय नभएकाले माथिल्ला कक्षा पढ्न अन्यत्र जान सकेनन्।

त्यसको प्रत्यक्ष असर ममाथि पनि पर्‍यो। आमाबुबाले मलाई एक्लै विद्यालय पठाएनन्। परिवारको अवस्थिति र विद्यालय टाढा भएकै कारण ४ वर्ष विद्यालय जान वञ्चित भएँ।

उसताका मेरो दैनिक जीवन गाउँको परिवेशसँग पूर्ण रूपमा भिजेको थियो। प्रायः गाईवस्तु चराउने मुख्य काम हुन्थ्यो। धान र गहुँ पाक्ने मौसममा भने बाँदरबाट बाली जोगाउन बिहान-बेलुका जङ्गलको सिमानामा गुलेली लिएर बस्नुपर्थ्यो। त्यही क्रममा चरा मार्ने, खोल्साखाल्सीमा माछा मार्ने, र घरको तरकारीका लागि निगुरो, मोरङ्गे जस्ता वनस्पति टिप्ने काममै समय बित्थ्यो।

यसो भनौँ, जङ्गल नै हाम्रो जीवनको आधार थियो। जङ्गलमा पाइने कुन फलफूल वा वनस्पति खान हुन्छ, कुन हुँदैन राम्रो हेक्का थियो। बर्खामा जङ्गलमा वस्तु चराउँदा जङ्गली फल खाएर पेट अघाउँथ्यो। फर्किंदा कहिलेकाहीँ घरमा पनि ल्याइन्थ्यो।

प्रकृति–पूजक समुदायहरू स्वभावतः प्रकृतिसँग घुलमिल भएर बस्न सक्ने हुन्छन्। सायद हाम्रा पूर्वजहरू पनि प्रकृतिलाई नै आराध्य मानेर बाँच्ने भएकाले होला, हामीलाई जङ्गलसँग नजिक रहन, त्यही वातावरणमा रमाउन स्वाभाविक रूपमा मन पर्थ्यो वा विकल्प नभएर त्यहीँ दशकौँ बितायौँ।

रानीबेलको फूल । तस्वीरः योगेन्द्रबिक्रम पौडेल

 

जङ्गल, झाडी, वन्यजन्तुसँग हाम्रो सम्बन्ध केवल बाध्यात्मक मात्र नभई अपनत्व अनि निर्भरता पनि मिसिएको थियो होला। त्यो कालखण्ड सम्झँदा लाग्छ कि हामीमा प्रकृति जोगाउनुपर्छ भन्ने चेतभन्दा कसरी त्यस्तो परिवेशमा अन्तरघुलन हुनुपर्छ भन्ने ध्याउन्नमा हुन्थ्यौँ।

जेठो दाजु बाघ आजकाल यसो सोच्छु, त्यस्तो एकान्त ठाउँमा कसरी बसियो? बाघसँग किन डराएनौँ? उसो त हामी लिम्बु भएकाले बाघ नै हाम्रो मिथकमा जोडिन्छ। लिम्बुको खुबै भनिने मिथकमा बाघ र लिम्बु एकै आमाका सन्तान हुन् भन्ने कथन छ (याक्थुङ साम्जिक मुन्धुम, २०७९, पृ. १८५४–१८७३)। मिथकका कुरा वास्तविकतामा अक्सर सम्भव हुन्न।

बाघ र लिम्बुको मिथक ‘केसामी’ र ‘नाम्सामी’ हो। जसअनुसार, एउटी महिलाले जुम्ल्याहा बच्चा पाएकी थिइन्। त्यसमध्ये दाजु चाहिँ बाघ जन्मिएको अर्थात् केसामी र भाइ चाहिँ मनुवा (नाम्सामी) जन्मिएको थियो।

भारतको अरुणाचल प्रदेशअन्तर्गत तिब्बती बोर्डरमा रहेको दिभाङ उपत्यकामा इडु मिश्मी (Idu Mishmi) आदिवासी छन्। तिनका मिथकमा पनि बाघलाई जेठो दाजु नै मान्छन्। उता तिब्बतमा पनि मिश्मी समुदाय छन्।

लिम्बु र इडु मिश्मी समुदायमा “बाघ हाम्रो जेठो दाजु हो” भन्ने विश्वासलाई वैज्ञानिक दृष्टिले हेर्दा यो कुनै जैविक वास्तविकता होइन। यो त टोटेमवाद (Totemism) र प्रकृतिपूजक (Animism) जस्ता प्राचीन सांस्कृतिक धारणाअन्तर्गत बुझिन्छ।

टोटेमवाद भनेको कुनै समुदाय, कुल (Clan) वा गोत्रले आफूलाई कुनै विशेष जनावर, बोटबिरुवा वा प्राकृतिक तत्त्वसँग विशेष आत्मीय–पूर्वज सम्बन्ध भएको मान्ने विश्वास हो। यसअनुसार, कुनै जनावर वा वस्तु ‘टोटेम’ बन्छ। त्यसले गर्दा ती समुदायले ती जनावरलाई तिनका रक्षक, प्रतीक वा पुर्खाजस्तो मान्छन्। अतः त्यस्ता प्रतीकलाई मार्नु, खानु वा अपमान गर्नुहुन्न भन्छन्। यस्तै, प्रकृतिले संसारका सबै वस्तुहरू जस्तै मानव, जनावर, बोटबिरुवा, नदी, पहाड, ढुङ्गा आदि सबैमा आत्मा वा चेतना (Spirit) हुन्छ भन्ने विश्वास गर्छन्।

मानवशास्त्रअनुसार, प्रागैतिहासिक समाजहरूले आफू वरपरका शक्तिशाली जनावरसँग रक्त–सम्बन्धको कल्पना गर्थे, जसले सामाजिक ऐक्यबद्धता र प्रकृतिप्रति सम्मानको भावना निर्माण गर्थ्यो।

बाघजस्तो शीर्ष सिकारी (Apex predator) सँग दाजुभाइ सम्बन्ध जोड्नुले जङ्गलको नियम, साहस, शक्ति र नैतिक अनुशासनको प्रतीकात्मक अर्थ दिन्थ्यो। यस्तो मिथकले वन्यजन्तुको अनावश्यक हत्या रोक्ने सामाजिक नियन्त्रणको काम पनि गर्थ्यो, किनकि “दाजु” लाई मार्नु पाप मानिन्थ्यो।

विकासवादी मनोविज्ञानको दृष्टिले हेर्दा, मानव मस्तिष्कले खतरनाक तर प्रभावशाली जनावरलाई व्यक्तित्व दिन्छ र कथामार्फत सम्बन्ध बनाउँछ, जसले भयलाई सांस्कृतिक संरचनामा रूपान्तरण गर्छ।

पूर्वी हिमालय क्षेत्रमा बस्ने तिब्बती–बर्मेली भाषिक समूहहरूबीच यस्ता कथाहरू साझा हुनु प्राचीन सांस्कृतिक जड र दीर्घकालीन सह–अस्तित्वको सङ्केत पनि हुन सक्छ।

त्यसैले “बाघ जेठो दाजु” भन्ने धारणा वैज्ञानिक अर्थमा जैविक होइन, तर पारिस्थितिक, सामाजिक र मनोवैज्ञानिक सन्दर्भमा गहिरो सांस्कृतिक व्याख्या हो। हाम्रा बा–आमालाई बाघबाट भय भए पनि यो त हाम्रो नातेदार हो भन्ने लाग्थ्यो होला।

रानीबेल

रानीबेल । तस्वीर : कमल मादेन ।

अब, जङ्गलकै कुरा जोडौँ। ४/५ दशकअघिताका जङ्गली फलहरू निकै खाने चलन थियो। बजारमा पाइने स्याउ, अङ्गुर देखेको त यदाकदा धरान जाँदा हेरिएका फिल्ममा मात्र हो। स्वाद कस्तो हुन्छ भन्ने थाहा थिएन।

हाम्रा लागि मौसमानुसार जङ्गलले जे दिन्थ्यो, त्यही नै फलका निम्ति हाम्रो स्वाद र पोषणको स्रोत बन्थ्यो। उसताकाको जङ्गली फलमध्ये यदाकदा मात्र पाइने, तर विशेष सम्झनामा बसेको एक फल हो, रानीबेल।

त्यसबेला गाउँनजिक रानीबेलका एकाध वटा रूख थिए। तीमध्ये करिब २५ मिटर अग्लो एउटा रूख हाम्रो घरभन्दा पूर्व–दक्षिणतिर, कचरा खोलाको पूर्वपट्टि थियो। अहिले भने त्यही ठाउँमा वन अतिक्रमण भएर बस्ती बसेको छ।

साउन–भदौको आसपास रानीबेल पाक्छ क्यारे! रूखमुनि खसेका पाकेका फलहरू भेटिन्थ्यो। रानीबेलको रूख चढेर टिपेको सम्झना छैन। फलको रङ खैरोमा सुन्तलाको झल्को मिसिएको जस्तो हुन्थ्यो। आकार अण्डाकार तर अण्डाभन्दा करिब दोब्बर ठूलो। काँचो फल बेलजस्तै कडा। पाकेपछि खासै गिलो हुँदैन, औँलाले बेस्सरी थिच्दा कुच्चिएर फोडिन्छ, गुदी गुलियो र स्वादिलो।

फलभित्र बीउ ४/५ वटा वा त्योभन्दा बढी हुन्थ्यो कि? चेप्टा, फर्सीको बीउभन्दा आधाजति सानो हुन्छ जस्तो लाग्छ। हामी गुदी चुसेर बीउ फाल्थ्यौँ। साधारण देखिने त्यो जङ्गली फल खासै ‘वाह’ लाग्ने खालको त होइन। तर किन हो किन, स्मृतिको तहबाट कहिल्यै मेटिएन, रानीबेल। अझ अनौठो त के भने, यसको रूख जङ्गलको गहिराइमा कतै भेटिँदैनथ्यो; बस्तीनजिकको सीमित ठाउँमै मात्र देखिन्थ्यो, जसले त्यसलाई झन् रहस्यमय बनाएको थियो।

रूख ढालियो

२०३३ सालतिर कुमरखत प्राविमा गएँ। त्यसपछि जङ्गलमा जाने समय क्रमशः घट्न थाल्यो। तर त्यो रानीबेलको रूखसँगको सम्झना अझै ताजा छ। करिब ३५/३६ सालतिर कसैले त्यो रूख ढालिदियो। त्यसपछि नजिक कतै यसको बोट थाहा पाएनौँ। बाल्यकालको स्मरण जोडिएको त्यो रूख त्यसपछि झन्डै २ दशक केवल स्मृतिमा मात्र बच्यो।

२०४० सालमा आदर्श मावि बक्लौरीबाट कक्षा ९ उत्तीर्ण गरेपछि, कक्षा १० पढ्न धरान गएँ। निकेतन माविबाट कक्षा १० गरेँ। त्यहीँको केन्द्रीय प्रविधि क्याम्पस, हात्तीसारबाट जीव विज्ञान विषयमा आई.एस्सी. गरेँ। अनि तेह्रथुमस्थित शङ्कर मावि जलजलेमा पढाउन गएँ।

२०४७ मा बी.एस्सी. पढ्न काठमाडौँ लागेँ। हिउँदको १५ दिने बिदामा तेह्रथुम फिरेको, आसन्न चुनावका कारण पढ्न काठमाडौँ फर्किन सकिनँ।

२०४८ सालमा विराटनगरमा बी.एस्सी.मा भर्ना भएँ। पढाइ कतिपय समय विराटनगरमा र कतिपय समय तेह्रथुममै गर्दै सिध्याएँ। एम.एस्सी.को प्रथम वर्ष पनि पढ्दै–पढाउँदै बिताएँ। मेरो एम.एस्सी.को शोधकार्यको शीर्षक ‘पूर्वी नेपालको कोसी अञ्चलका जङ्गली खाद्य फलहरूको सामान्य सर्वेक्षण तथा जैव–रासायनिक विश्लेषण’ थियो।

शोधकार्यका निम्ति तेह्रथुम, धनकुटा र सङ्खुवासभाका केही जङ्गलहरूमा अध्ययन गरेँ। धेरैजसो सर्वेक्षण चाहिँ चारकोसे जङ्गलमा गरेँ। सर्वेक्षणमा समावेश फलहरूमध्ये १० प्रजाति छानेँ, जसको यसअघि प्रोटिन, तैलीय पदार्थ र खनिज पदार्थको विश्लेषण गरिएको थिएन। ती १० प्रजातिमध्ये आधा तराईका थिए भने आधा पहाडी भूभागका।

बायो–केमिकल एनालाइसिस

पहिले बायो–केमिकल एनालाइसिस भइनसकेका खान हुने जङ्गली फलका बारेमा थाहा पाउनु कठिन थियो। यसका लागि मेरा गुरुहरू मीनराज ढकाल तथा शशीनाथ झाले काउन्सिल अफ साइन्टिफिक एन्ड इन्डस्ट्रियल रिसर्च (सीएसआईआर), नयाँ दिल्लीबाट प्रकाशित ‘द वेल्थ अफ इन्डिया’ (The Wealth of India: Raw Materials) शीर्षकको पुस्तक हेर्न सुझाउनुभएको थियो।

त्यो पुस्तकमा भारतमा पाइने धेरैजसो वनस्पतिका पात, डाँठ, फल, जरा आदिका बायो–केमिकल एनालाइसिसको तथ्याङ्क समावेश छ। यो पुस्तक भारतमा पाइने प्राकृतिक कच्चा पदार्थको बहु–खण्डीय विश्वकोशीय ग्रन्थ हो। यो पुस्तक आर्थिक, औद्योगिक वा औषधीय दृष्टिले महत्त्वपूर्ण छ। त्यो पुस्तक सन् १९४८ देखि १९८९ सम्म जम्मा ११ भोल्युममा प्रकाशित भएको थियो। यो पुस्तकका केही भोल्युम विराटनगरमा फेला पार्न सकिनँ। केही भोल्युम तरहरास्थित कृषि फर्ममा रहेको रसायन उत्पादन गरिने अफिसमा फेला पारेँ।

बायो–केमिकल एनालाइसिसको कामका लागि धरानस्थित केन्द्रीय प्रविधि क्याम्पस, हात्तीसारको प्रयोगशालामा गएँ। यसअघि यस्ता प्रयोगहरू कहिल्यै गरेको थिइनँ। यस्तो एनालाइसिस कि त रसायनशास्त्र वा फुड टेक्नोलोजीका विद्यार्थी वा शोधकर्ताले गर्छन्।

काम सिक्न एक–दुई दिन लाग्यो। प्रारम्भिक रूपमा वसन्तकुमार राई सरले काम सिकाउनुभयो। पछि प्रयोगशालाका टेक्निसियन तथा ल्याबब्वायहरूले सहयोग गरे। राई सर हिजोआज सोही क्याम्पसको क्याम्पस प्रमुख हुनुहुन्छ। २०५५ पछि मैले त्यहाँ पनि वनस्पतिशास्त्र केही वर्ष अध्यापन गरेँ।

बायो–केमिकल एनालाइसिस गरिरहेको बेला मेरो घरको पश्चिमपट्टि जङ्गल सिमानामा रानीबेलको कलिलो रूख भर्खरै फल्न थालेको थाहा पाइयो। फल पूर्णरूपमा पाकेको अवस्था नभए पनि, कटमेरो हुन थालेको थियो। फलहरू क्यानन क्यामेराबाट तस्बिर खिचेँ र ५/६ वटा प्रयोगशालामा एनालाइसिसको निम्ति लगेँ।

पोषक तत्त्व

काठमाडौँका केही वनस्पतिविज्ञहरूलाई पनि रानीबेलको तस्वीर देखाएको थिएँ। उनीहरूले भनेका थिए, “यो त अचम्मको फल रहेछ, तर बेल समूहसँग सम्बन्धित होला जस्तो लाग्दैन।”

फलको सुक्खा वजन पत्ता लगाउन फलको तौल मापन गरियो। त्यसपछि फललाई साना–साना पातला टुक्रामा काटियो, ताकि समान रूपमा सुक्न सकून्। त्यसपछि ती टुक्राहरूलाई ६०–८० डिग्री सेल्सियस तापक्रममा हट–एयर ओभनमा २४–४८ घण्टा राखेर पूर्ण रूपमा सुकाइयो। सुकाउने क्रममा फलमा रहेको पानी बाहिर निस्कँदै गएपछि फलका चाना/टुक्राहरू अझ पातला र साना हुँदै गए।

यो प्रक्रिया सकिएपछि, प्रयोगशालाको विधिअनुसार २–३ पटक केही घण्टाको अन्तरालमा फलका टुक्राहरू मापन गरिन्छ। जब तौल लगातार बराबर आउँछ, त्यसले फलमा रहेको पानी पूर्ण रूपमा बाहिरिसकेको जनाउँछ। त्यो नै फलको ड्राइ वेट ‍हुँदोरहेछ।

सुक्खा फलका पिसहरूलाई धुलो बनाएपछि विभिन्न किसिमका रासायनिक पदार्थ मिसाएर प्रयोगशालामा विधिपूर्वक विभिन्न औजारहरूमा शृङ्खलाबद्ध परीक्षण गरियो। अन्ततः फलमा रहेको प्रोटिन, तैलीय पदार्थ र खनिजको प्रतिशत सूत्रअनुसार निकालियो।

रानीबेलको फलमा फलको सुक्खा वजनअनुसार प्रोटिन, तैलीय पदार्थ र खनिज (खरानी) क्रमशः ८.२२ प्रतिशत, ०.७७ प्रतिशत र ३.४८ प्रतिशत निकालेको रहेछु। अहिले शोधकार्य हेर्दा थाहा पाएँ। त्यति थाहा पाउन एक हप्ता बढी लाग्यो। यो काम चाहिँ अहिले सम्झँदा ठीकै गरेछु भन्ने लागेको छ। यसका निम्ति प्रयोगशालामा एक हप्ता बढी समय लगाएँ।

शोधकार्यमा समावेश

प्रयोगशालाको काम सकेपछि वनस्पतिको वैज्ञानिक नाम थाहा पाउन अध्ययन गर्दै जाँदा रानीबेलको वैज्ञानिक नाम थाहा पाउन सकिएन। रानीबेलको फलबाट प्रोटिन, तैलीय पदार्थ र खनिज (खरानी) को मात्रा निकालेको हुनाले यसलाई शोधकार्यमा राखौँ कि नराखौँ भनेर बडो दोधार भयो। वनस्पतिशास्त्रको एम.एस्सी. तहको शोधकार्यमा वैज्ञानिक नाम समावेश नभए, त्यस्ता सूची वा तथ्याङ्कको खासै अर्थ रहन्न। स्थानीय नाम मात्र राखिने चलन खासै छैन।

शोधकार्य सल्लाहकार मीनराज ढकाल सरले बडो सही सुझाव दिनुभयो। उहाँले यसलाई कोसी अञ्चलमा पाइने जङ्गली फलको सूचीमा समावेश नगरौँ तर यसको जैविक रसायन जे जति प्रतिशत प्राप्त भएको छ, त्यो चाहिँ रानीबेल नै भनेर अन्य ९ वटा प्रजातिसँगै तालिकामा समावेश गर्न लगाउनुभयो।

उसबेला उहाँले “अहिले यसको वैज्ञानिक नाम थाहा पाउन सकिएन। भोलिका दिनमा कसैले न कसैले, वा तिमीले नै थाहा पाउँछौ, वा पत्तो लगाउँछौ, शोधकार्यमा यसको तस्बिर समावेश छँदैछ, त्यसपछि तिम्रो कामको महत्त्व हुन्छ” भन्नुभएको सम्झना छ। उसबेलादेखि रानीबेलले झन्डै एक दशकअघिसम्म ‘वैज्ञानिक नाम के हो?’ भनेर सतायो।

यसरी रानीबेल, शोधकार्यमा समावेश गरियो। मैले अनलाइनखबरको ११ फागुन २०८२ संस्करणअन्तर्गत ‘जलथल जैविक धरोहर: ठेकीफल अझै मनग्गे‘ शीर्षक लेखमा वैज्ञानिक नाम थाहा नपाएकै कारण ठेकीफल शोधकार्यमा समावेश गर्न नसकेको उल्लेख गरेको छु।

तर, मलाई रानीबेलको तुलनामा ठेकीफलको वैज्ञानिक नाम थाहा पाउन खासै गाह्रो भएन। यसको मुख्य कारण, शोधकार्यमा बाँदरझुला (Uvaria hamiltonii) समावेश गरेको थिएँ। बाँदरझुला र ठेकीफलका फल, पात थोरै भए पनि मिल्दाजुल्दा हुन्छन्।

यसबाट अनुमान लगाएको थिएँ कि बाँदरझुला परिवारकै नै ठेकीफलको परिवार हुनुपर्छ। वनस्पतिको परिवारका आधारभूत विशेषता थोरै बुझिसकेपछि त्यस परिवारअन्तर्गतका वंश (Genus) र प्रजातिहरू पहिचान गर्न सहज हुन्छ। किनभने एकै परिवारका वनस्पतिहरूमा फूल, फल र केही हदसम्म पातको बनावटमा समानता हुन्छ।

अध्येताहरूले वनस्पति परिवार, वंश र प्रजाति पहिचान गर्न निश्चित पहिचान कुञ्जी (Key) तयार गरेका छन्। यी कुञ्जीको प्रयोग गर्दा, कुनै वनस्पति कुन परिवारमा पर्छ भन्ने थाहा पाइन्छ। त्यसैगरी, परिवारको आधारमा अध्ययन गर्दै गरेको वनस्पति कुन वंशमा पर्छ र वंशभित्र कुन प्रजाति हुन सक्ने अनुमान पनि गर्न सकिन्छ।

भारतीय अभिलेख

ब्रिटिस वनस्पतिशास्त्री जोसेफ डाल्टन हुकरले १९औँ शताब्दीको मध्यमा पूर्वी नेपाल, सिक्किम र दार्जिलिङलगायत भारतका विभिन्न भागमा वनस्पति खोज–अध्ययन गरेका थिए। उनले सन् १८७२-९५ मा ‘फ्लोरा अफ ब्रिटिस इन्डिया’ (Flora of British India) जम्मा ७ वटा भोल्युममा लेखे। त्यो पुस्तकमा समावेश एन्नोनेसी (Annonaceae) परिवारका वंशहरू हेरेर मैले ठेकीफलको वैज्ञानिक नाम अनुमान लगाएको थिएँ। पहिलो भोल्युममा एल्फोन्सिया (Alphonsea) वंशअन्तर्गत एक प्रजातिको विवरण ठेकीफलसँग मिल्न गएको पाएँ। यसै आधारमा ठेकीफलको वैज्ञानिक नाम एल्फोन्सिया भेन्ट्रिकोसा (Alphonsea ventricosa) हुनुपर्छ भन्ठानेँ।

अध्येताहरूले वनस्पति पहिचान गर्दा केवल पुस्तक वा जर्नलमा लेखिएका विवरण हेर्ने मात्र होइनन्; पहिले नै पहिचान गरिएका नमुनाहरू अध्ययन गरेका नमुना पनि हेर्न पायो भने त्यस्तो पहिचान पक्का हुन्छ। यसै कारण, मैले ठेकीफलका नमुनाहरू बेलायतमा खोजेर अध्ययन गरेको थिएँ, ताकि वैज्ञानिक दृष्टिले प्रजाति पहिचान पूर्ण रूपमा प्रमाणित गर्न सकियोस्।

फरक : बेल र रानीबेलमा

मलाई रानीबेल कुन वनस्पति परिवारमा पर्छ भन्ने कुरा पत्ता लगाउन एकदमै सकस पर्‍यो। रानीबेल हाम्रो गाउँका मानिसहरूले सजिलै स्थानीय नामबाट चिन्थे। तर धरान–विराटनगर क्षेत्रमा अध्ययन र अध्यापन गर्ने शिक्षक तथा अनुसन्धानकर्ताहरूलाई यसको बारेमा अत्तोपत्तो पनि थिएन।

काठमाडौँका केही वनस्पतिविज्ञहरूलाई पनि रानीबेलको तस्वीर देखाएको थिएँ। उनीहरूले भनेका थिए, “यो त अचम्मको फल रहेछ, तर बेल समूहसँग सम्बन्धित होला जस्तो लाग्दैन।”

रुटेसी परिवारको फूल । तस्वीर : सरोज कसजू

बेल वंशमा जम्मा २ प्रजाति छन्। तीमध्ये हामीले चिनेको बेल चाहिँ दक्षिण एसियामा मात्र पाइन्छ। अर्को प्रजाति फिलिपिन्समा मात्र पाइन्छ। अनि बेल रुटेसी (Rutaceae) परिवारको वनस्पति हो।

फिलिपिन्समा सन् १९०६ मा संकलित नमूनाहरू

हामीकहाँ रुटेसी परिवारका धेरै परिचित वा घरपालुवा प्रजातिहरू छन्। जस्तै: कागती, भोगटे, सुन्तला, ज्यामिर, जुनार आदि। सामान्यतया कागती, भोगटे, सुन्तला, ज्यामिर, जुनारका पात माड्दा हल्का कागतीको बास्ना आउँछ, तर रानीबेलको पातमा त्यस्तो बास्ना आउँदैन। यसको पातमा त्यस्तो तैलीय ग्रन्थि नभएर होला।

त्यस्तै, रानीबेलको फूलको संरचना पनि कागती, सुन्तला वा भोगटेसँग मेल खाँदैन। पातमा तेल ग्रन्थि नभएको र फूलको संरचना फरक भएकाले रानीबेल र बेल एउटै परिवारका हुने सम्भावना निकै कम अनुभूत गरेको थिएँ।

रानीबेलको परिवार के हो भनेर निकै अन्योलमै रहेँ। पछि नेपालका रूखहरूसम्बन्धी चासो बढाउँदै लैजाँदा पहिले रानीबेलको परिवार होइन, वंश चाहिँ थाहा पाउन सफल भएँ। तर, कुन प्रजाति हो भनेर निश्चित गर्न सकस नै भएको थियो।

रूखको महत्त्व

वनस्पतिहरू, विशेषगरी रूखहरू, हाम्रो वातावरण र पारिस्थितिकी तन्त्रको स्थायित्वका लागि अत्यन्तै महत्त्वपूर्ण छन्। पारिस्थितिकी दृष्टिकोणबाट हेर्दा, रूखहरूले अक्सिजन उत्पादन गर्ने, कार्बन डाइअक्साइड सोस्ने, माटोको क्षय रोक्ने र जल–चक्रलाई सन्तुलित राख्ने जस्ता आधारभूत भूमिका खेल्छन्।

भनिरहनु परेन कि रूखहरू विभिन्न जन्तुहरूको आश्रयस्थल तथा प्रजनन स्थल हुन्। रूखले जैविक विविधता संरक्षणमा ठूलो योगदान पुर्‍याउँछ। रूखहरूको जरा प्रणालीले माटोलाई मजबुत बनाउँदै बाढी, पहिरो र भू–क्षयको जोखिम कम गर्छ। रूखले प्राकृतिक विपद् नियन्त्रणमा सहयोग पुर्‍याउँछ। यस अर्थमा रूखहरू पारिस्थितिकी सन्तुलनका प्रमुख आधारस्तम्भ हुन्।

रूखहरूको मानव जीवनमा पनि अत्यन्त ठूलो महत्त्व छ। तिनीहरूले खाद्य, औषधि, इन्धन, काठ तथा घर निर्माणका सामग्री उपलब्ध गराउँदै ग्रामीण र सहरी समुदायको जीविकोपार्जनमा प्रत्यक्ष योगदान दिन्छन्।

साथै, रूखले छाया प्रदान गर्ने, तापक्रम सन्तुलित राख्ने, हावा शुद्ध पार्ने र ध्वनि प्रदूषण घटाउने जस्ता सेवाहरूले मानव स्वास्थ्य र जीवनस्तर सुधार गर्छ। यसरी रूखहरू आर्थिक मात्र नभई सामाजिक र वातावरणीय कल्याणसँग पनि गहिरो रूपमा जोडिएका छन्।

तर मानिसले रूखहरूको महत्त्वलाई केवल आर्थिक दृष्टिले मात्र हेर्ने प्रवृत्ति राख्छन्, जुन सङ्कुचित सोच हो। रूख केवल उत्पादनका साधन होइनन्; तिनीहरूले जीवन र प्रकृतिको आधार संरचना निर्माणकर्ता पनि हुन्।

यदि हामीले रूखलाई केवल काठ वा आम्दानीको स्रोतको रूपमा मात्र बुझ्यौँ भने दीर्घकालमा वातावरणीय सङ्कट, जलवायु असन्तुलन र जैविक विविधताको ह्रास निम्तिन सक्छ। त्यसैले रूखहरूको महत्त्वलाई बहुआयामिक–पारिस्थितिक, आर्थिक, सामाजिक र वातावरणीय–दृष्टिकोणबाट समग्र रूपमा बुझ्न र संरक्षण गर्न आवश्यक छ।

विज्ञले रूख चिन्दैनन्

वैज्ञानिक दृष्टिकोणबाट हेर्दा, कुनै पनि रूखको सही पहिचान संरक्षण र व्यवस्थापनको आधारभूत सर्त हो। तर नेपालको सन्दर्भमा हेर्दा, यहाँका रूखको ठूलो हिस्सा अझैसम्म अत्यन्त कम वैज्ञानिक ढङ्गले चिनिएका छन्।

नेपालको वनस्पतीय सूचीसम्बन्धी पुस्तकहरूमा नेपालमा पाइने घाँस, लहरा, झाडी वा रूख भनेर छुट्याएको पाइन्छ, तर तिनीहरूबाट रूख कस्ता छन् भनेर वनस्पति पहिचानमा रुचि राख्नेले पनि पहिचान गर्न सक्दैनन्।

हुन त नेपालमा रूखका बारेमा वैज्ञानिक जानकारी सन् १८०५ बाट प्रकाशित हुन थालेको हो। यो कामको श्रेय सन् १८०२ मा नेपाल आउने इस्ट इन्डिया कम्पनीका एक कारिन्दा बुकानन ह्यामिल्टनलाई जान्छ। उनले सन् १८०५ मा नेपालको जीव विज्ञानसम्बन्धी पहिलो लेख प्रकाशित गरेका थिए।

त्यो लेखको शीर्षक थियो ‘फिगर्स एन्ड डिस्क्रिप्सन्स अफ नेपाल प्लान्ट्स’ (Figures and Descriptions of Nepal Plants)। त्यो लेख सर जेम्स एडवार्ड स्मिथले सम्पादन गरेको ‘एक्जोटिक बोटानी’ (Exotic Botany) जर्नलको भोल्युम दुईमा प्रकाशित भएको थियो (केशव आर. राजभण्डारी लिखित अ बिब्लियोग्राफी अफ द प्लान्ट साइन्स अफ नेपाल, सन् १९९४, पृ.४८)।

विभिन्न पुस्तकमा नेपालमा पाइने रूखका वैज्ञानिक नाम लेखिएका भए पनि अधिकांशका नमुना (Specimen) नेपालका वनस्पति सङ्ग्रहालयहरू (हर्बेरियम) मा उपलब्ध छैनन्, र तिनलाई चिनाउने स्पष्ट तस्बिर तथा अद्यावधिक अभिलेखहरू पनि अत्यन्त सीमित छन्। यसले देखाउँछ कि नेपालका रूखहरू वैज्ञानिक रूपमा खोजी गर्दा निकै धेरैको नामसम्म पाइन्छ, तर तिनलाई चिन्न सक्ने अवस्था छैन।

यदि वनस्पतिशास्त्री वा वनविज्ञले रूखको प्रजाति नै स्पष्ट रूपमा चिन्न सकेनन् भने त्यसको वितरण क्षेत्र, पारिस्थितिक भूमिका, प्रजनन चक्र तथा आनुवंशिक विविधताको अध्ययन अधुरो रहन्छ। कुनै प्रजाति सामान्य, पर्याप्त मात्रामा वा ‘संवेदनशील’ (Vulnerable) वा ‘सङ्कटापन्न’ (Endangered) अथवा भनौँ ‘अति सङ्कटापन्न’ (Critically Endangered) अवस्थामध्ये कुन श्रेणीमा पर्छ भन्ने निर्धारण गर्न पनि ठोस वैज्ञानिक पहिचान आवश्यक हुन्छ। संरक्षणमा यस्ता प्रजातिलाई महत्त्व दिइन्छ।

तर प्रजाति नचिनिएको अर्थात् कुन प्रजाति छ भन्ने थाहै नभएको अवस्थामा रूख प्रजातिका जोखिमको स्तर र संरक्षण प्राथमिकता कसरी तय गर्ने? यति मात्र होइन कि औषधीय, वातावरणीय वा पारिस्थितिक दृष्टिले महत्त्वपूर्ण रूखहरू पहिचान गर्न पनि यथार्थ वैज्ञानिक आधार अपरिहार्य हुनुपर्छ।

विडम्बनाको कुरा के छ भने, नेपालका वनस्पतिविज्ञहरूले झाडी, घाँस वा उनीउँजस्ता समूहहरू तुलनात्मक रूपमा सजिलै चिन्न सक्छन्, तर दीर्घजीवी र ठूला रूखहरू चिन्दैनन्। कुन परिवार वा वंशका हुन् भनेर अनुमान पनि लगाउन सक्दैनन्। नेपालमा रूख प्रजाति पहिचानमा रुचि राख्नेहरू केही जना मात्रै छन्, वनस्पतिविज्ञहरू। नेपालका ९८/९९ प्रतिशत वनस्पतिविज्ञ तथा १०० प्रतिशत वनविज्ञलाई रूख प्रजातिबारे चासो छैन भन्ने अवस्था छ।

यसैले वैज्ञानिक पहिचान र वर्गीकरण केवल तथ्याङ्क मात्र नभई राष्ट्रिय वनसम्पदा संरक्षणको आधार हो। रूखलाई सही रूपमा नचिनी संरक्षण योजना बनाउनु भनेको अन्धकारमा बाटो खोज्नुजस्तै हो। त्यसकारण नेपालमा रूखहरूको वैज्ञानिक अध्ययन, नमुना सङ्कलन तथा सङ्ग्रह, तस्बिरसहितका पुस्तक–अभिलेख र आधुनिक विधि (जस्तै: डीएनए विश्लेषण) को विकास नगरी दिगो वन व्यवस्थापन र जैविक विविधता संरक्षण सम्भव हुँदैन।

अध्ययन प्रस्ताव

विभिन्न जैव–भौगोलिक क्षेत्रमा रुख प्रजाति संख्या

हालैको एक वैश्विक अध्ययनले पृथ्वीमा करिब ७३ हजार रूख प्रजाति रहेको अनुमान गरेको छ, जसमा अझै करिब ९ हजार प्रजाति विज्ञानका लागि अज्ञात छन्। यो जानकारी रोबर्टो काज्जोला गाट्टीलगायतले सन् २०२२ मा ‘प्रोसीडिङ्ग्स अफ द नेसनल एकेडेमी अफ साइन्सेस’ (पीएनएएस) मा प्रकाशित गरेका हुन्।

तीर्थराज पाण्डेले ‘ट्री डाइभर्सिटी इन नेपाल: एन अपडेटेड लिस्ट’ शीर्षक लेख जर्नल अफ प्लान्ट रिसोर्सेसको २०२४ संस्करण, भोल्युम २२ मा लेखेका छन्। लेखमा ९० परिवार, ३ सय वंशअन्तर्गत ६ सय ८८ रूख प्रजाति रहेको लेखिएको छ।

तीमध्ये नेपालमा १०८ प्रजातिको नमुना नेपालबाहिर विशेषतः बेलायतमा सङ्ग्रहित छ। लेखमा चारकोसे जङ्गलमा गलेनीका ४ प्रजातिलाई रूख लेखिएको छ। गलेनी अर्थात् लीया वंश (Leea genus) लाई रूख मानिँदैन। यस्तै यो ६८८ को रूख सूचीमा कैयौँ झाडी वर्गका वनस्पतिलाई रूखका रूपमा सूचीकृत गरिएको छ।

यो पङ्क्तिकारले ८-९ वर्षअघि ‘हरियो वन’ नामक परियोजना प्रमुखलाई नेपालका रूख प्रजातिहरू के कति छन् थाहा नभएको र स्वयं वनस्पतिविज्ञहरूले पनि खासै नचिन्ने अवस्था रहेको बताएको थियो। रूख जङ्गलको मुख्य वनस्पतीय स्रोत भएकाले रूख प्रजातिहरू पहिचानका निम्ति तिनका बोट, फूल, पात आदिका रङ्गीन तस्बिर र विवरण प्रकाशन गर्न आवश्यक रहेको र त्यसमा बृहत् अनुसन्धान गर्नुपर्ने आवश्यकता भएको साझा गरेको थियो।

परियोजना प्रमुख यसबारे सकारात्मक मात्र नभई यसको लागि प्रस्ताव पेस गर्न सुझाएका थिए। उनले यो कामको लागि प्रस्ताव वन मन्त्रालयअन्तर्गतको कुनै विभागबाट अघि सार्नुपर्ने बताएका थिए। त्यसपछि यसबारे मन्त्रालयको एक विभागका महानिर्देशकसँग कुरा भयो।

प्रस्तावित रकम निकै ठूलै थियो। महानिर्देशक तुरुन्तै सहमत भएका थिए। त्यसका निम्ति महानिर्देशक स्वयं कोर्डिनेटर, मन्त्रालयकै रिटायर्डसहित थप मन्त्रालयको विभागअन्तर्गत कार्यरत अन्य ३ जना वनस्पतिविद्‌सहित ६ जनाको टिम प्रस्तावित गर्‍यौँ। सबै सहमत भए।

त्यसपछि प्रस्ताव लेखनमा लागेँ। प्रस्ताव तयार भएपछि त्यसमा काँटछाँट तथा थपथाप गर्ने काम संयुक्त रूपमा भयो। त्यो प्रस्ताव ‘नेपालका वन वृक्षहरूको खोज तथा अन्वेषण’ शीर्षकमा तयार गर्‍यौँ।

विभागले प्रस्ताव अघि बढायो। कुरा भएकै थियो। मौखिक रूपमा हरियो वन परियोजनाले रकम उपलब्ध गराउने भनेकै थिए। तर, हरियो वनले रकम उपलब्ध गराएन विभागलाई।

विभागले कुरो बदल्यो

शोधकर्ममा समावेश तस्वीर

करिब एक-डेढ महिना बित्यो। त्यसपछि, ‘के भइरहेको छ?’ भनेर सोधीखोजी गरेँ। विभागबाट अपुष्ट रूपमा थाहा पाएँ कि तत्कालीन महानिर्देशकबाट कुरा बदलिएको रहेछ। यो कुरा विभागका एक कर्मचारीले बडो खिन्न हुँदै सुनाएका थिए।

महानिर्देशकले ‘हरियो वन’ परियोजनालाई नेपालका वन वृक्षहरूको खोज तथा अन्वेषणको लागि छुट्याएको रकम विभागको एक अर्को परियोजनामा उपलब्ध गराउन एक अर्को छुट्टै प्रस्ताव पेस गर्न लगाएका रहेछन्। हरियो वन परियोजनाले चाहिँ ‘एक शीर्षकमा छुट्याएको रकम अर्को शीर्षकमा दिन मिल्दैन’ भन्यो। त्यो प्रस्ताव त्यसै तुहाइयो।

के कारणले विभाग प्रमुखले यसो गरे भन्ने बुझ्न धेरै समय कुर्नुपरेन। कुरा के भयो भने, महानिर्देशक अन्यत्र सरुवा भइसकेका थिए। उनी उक्त विभागबाट सरुवा हुने निश्चित भएछ, प्रदेशमा। प्रस्तावमा विभागका महानिर्देशक कोर्डिनेटर रहने लेखिएको थियो।

उनी महानिर्देशकबाट अन्यत्र सरुवा भएपछि उनी स्वतः कोर्डिनेटर रहँदैनथे। त्यसैले त्यसो गरियो। कस्तो विडम्बना! हाम्रा कर्मचारीहरूको मनोदशा यस्तो छ। मन्त्रालयमा यस्ता गतिविधि अत्यन्त सामान्य मानिन्छ। त्यो अझ पछिल्लो कालखण्डमा मौलाउँदै गइरहेको छ।

त्यो प्रस्तावअनुसार काम भएको भए, नेपालका रूखहरूका तस्बिरसहित विवरण ३ भोल्युममा प्रकाशित भइसकेको हुने थियो। त्यस प्रस्तावमा २ वटा समूह बनाएर डेढ वर्ष जति त फिल्ड वर्क गर्ने तय गरिएको थियो।

त्यसअघि पनि मेरो नेपालका वन वृक्षहरूको खोज तथा अन्वेषण बहुसरोकारवाला वन परियोजनामा कुराकानी भएको थियो। तर, प्रस्ताव पेस गर्न लाग्दा स्वयं उक्त परियोजना अकस्मात् बन्द गरिने प्रक्रियामा अघि बढ्यो र बन्द नै भयो। ती दुवै परियोजना अहिलेसम्मका वनसम्बन्धी अत्यधिक ठूला परियोजना थिए।

दुवै परियोजनामा रूखका बारेमा प्रस्ताव अधुरै रहे पनि मेरो नेपालका रूख प्रजातिबारे चासो अझ बढ्दै गयो। निरन्तर तथ्याङ्क जुटाउने काम गरिरहेँ। पछिल्लो पटक, प्रस्ताव लेखेपछि रानीबेल त रुटेसी परिवारअन्तर्गत नभई अर्कै परिवारको वनस्पति हो भन्ने थाहा पाउन सकेको थिएँ।

रानीबेलसम्बद्ध परिवार

रूखहरू हेर्दा त सबैमा फूल, फल, बीउ आदि भएर जीवनचक्र पूरा होला भन्ने लाग्छ। तर, सबै रूख प्रजातिमा फूल र फल हुँदैन। तर, बीउ भने हुन्छ। फूल नफुल्ने, फल पनि नहुने तर बीउ लाग्ने रूख प्रजाति संसारभर करिब ७०० देखि ७५० प्रजाति छन्। यस्ता वनस्पति जिम्नोस्पर्म्समा रूख मात्र होइन, झाडी वर्गका प्रजाति पनि हुन्छन्।

फल नभएपछि बीउ कसरी लाग्छ भन्ने लाग्न सक्छ। फूल नहुने तर फलजस्तो आकृतिमा बीउ लाग्छ। यस्ता बीउलाई फलले ढाकेको हुन्न। आँखाले सोझै बीउ देखिन्छ। उदाहरणका लागि सल्लो, गोब्रे सल्लो, लौठसल्ला आदि। बीउका आधारमा यस्ता वनस्पतिलाई अनावृतबीजी भनिन्छ। फलभित्र बीउ हुने वनस्पतिलाई चाहिँ आवृतबीजी (Angiosperms) भनिन्छ।

धान बीउ त हो। तर, यसको वास्तविक उम्रने भागलाई बाहिरी आवरण अर्थात् भुसले ढाकेको हुन्छ। नेपालमा अनावृतबीजी र आवृतबीजीसम्बद्ध क्रमशः ७ र २०० परिवार छन् (प्लान्ट्स अफ नेपाल, सन् २०२२, पृ.९०३)। रानीबेल आवृतबीजीअन्तर्गत सेलास्ट्रेसी (Celastraceae) परिवारअन्तर्गतको वनस्पति हो।

रानीबेल सन् २०२२ सम्म नेपालमा सूचीकृत नभएको सिफोनोडोन (Siphonodon) वंशको वनस्पति हो। रानीबेल, विश्वको निम्ति सर्वप्रथम तत्कालीन इस्ट इन्डिया कम्पनीका एक कारिन्दा विलियम ग्रिफिथले सन् १८४४ मा सिफोनोडोन सेलास्ट्रिनियस (Siphonodon celastrineus) नामकरण गरेका रहेछन्। रानीबेलको अर्को एक रूख मैले सन् २००७ मा अरुण खोला किनारमा भोजपुरमा देखेको थिएँ।

‘फरेष्टएक्सन’ नामक एक गैरसरकारी संस्थाले झापास्थित जलथलको जैविक विविधता संरक्षण, स्थानीय समुदायको जीविकोपार्जन सुधार र वातावरणीय सुशासन सुदृढीकरणको लागि बेलायत सरकारको ‘डार्विन इनिसियटिभ’ कार्यक्रममा सहकार्य गरेको थियो।

त्रिभुवन विश्वविद्यालयको वनस्पति विभागका योगेन्द्रविक्रम पौडेलले एम.एस्सी. को थेसिसको निम्ति काम गर्न लागेका थिए। त्यसैबेला, फरेष्टएक्सनले पौडेललाई जलथल जङ्गलका वनस्पति अध्ययन गर्न सुझाए।

पौडेलले त्यहीँ अत्यन्त मिहिनेत गरेर वनस्पति नमुना सङ्कलन गरी अध्ययन अगाडि बढाए। उनले बेलायतका वनस्पतिविज्ञहरूको सहयोगमा विशेषगरी भाष्कर अधिकारी र मार्क वाट्सनको सरसहयोगमा जलथलका वनस्पतिहरू धमाधम पहिचान गरे।

जलथलमा रानीबेल

जलथलका रुखहरु

पौडेलले रानीबेल जलथलमा फेला पारे। मैले एम.एस्सी. शोधकार्यमा रानीबेल समावेश गरेको २५ वर्ष भएको थियो। त्यसपछि सन् २०२३ मा मात्र औपचारिक रूपमा नेपालमा रानीबेल अर्थात् सिफोनोडोन सेलास्ट्रिनियस पाइन्छ भन्ने जानकारी जापानबाट प्रकाशन हुने जर्नल ‘न्युजलेटर अफ हिमालयन बोटानी’ नम्बर ५३ मा प्रकाशित भयो।

यो जानकारी ‘अ रिपोर्ट अन द प्लान्ट कलेक्टिङ फिल्डवर्क इन जलथल फरेष्ट, इष्टर्न नेपाल, विथ फोर न्यु रेकर्ड्स टु द फ्लोरा अफ नेपाल’ शीर्षकमा प्रकाशित छ। उक्त लेखअनुसार रानीबेल जलथलस्थित चौकी बिरान सामुदायिक वनमा फेला परेको हो।

जे होस्, न्युजलेटर अफ हिमालयन बोटानीबाट जलथल जङ्गलमा सिफोनोडोन सेलास्ट्रिनियस पाइन्छ भन्ने जानकारी विश्व वनस्पति तथ्याङ्कमा थपियो। उल्लिखित लेखका लेखकमध्ये लीलानाथ शर्माले बताएअनुसार, रानीबेल जलथल जङ्गलको पूर्वपट्टि कमलधाप–रामपोखरी, विशाल, दियालो तथा जलथल जङ्गलको उत्तरतर्फको पाथीभरा कालिका सामुदायिक वनहरूमा पनि पाइएका छन्। उनैका अनुसार, रानीबेल चितवनको जङ्गलमा एकाध वटा पाइएको छ।

फल लामै अडिने

‘जलथलका रूखहरू’ शीर्षक पुस्तकमा सिफोनोडोन सेलास्ट्रिनियसको फलेको हाँगो, फलको भित्री भाग, फूल तथा काण्ड देखाइएको छ। लेखिएअनुसार, रानीबेल २० मिटरसम्म अग्लो हुने सदाबहार रूख हो। यसका पातहरू गाढा हरियो र चिल्ला हुन्छन्। काण्ड सुरिलो र बोक्रा खैरो–कालो रङको हुन्छ।

फूल निकै साना हुन्छन्। फूल पातको कापमा फुल्छ। यसको फल बेलभन्दा सानो करिब ६ से.मि. लामो हुन्छ भनेर लेखेको छ। मैले चाहिँ शोधकार्यमा यसको फल ३.५–४.५ से.मि. लामो हुन्छ भनेर लेखेको रहेछु।

पुस्तकमा रानीबेल मे–अप्रिलमा फुल्छ भनेर लेखेको छ। मैले चाहिँ जुन महिनामा फुलेको फेला पारेको थिएँ। २०५४ यता रानीबेलको बोट कैयौँ पटक नियालेको छु। एकाध पटक मात्रै फुलेको फेला पारेको थिएँ। तर, फल हम्मेसी हुन्थ्यो। खान लायक चाहिँ भेटिनँ।

यसको अर्थ फल लामै अवधि बोटमा अडिन्छ। केही पटक त फुलेको अवस्थामा अघिल्लो वर्षका फल पनि देखेको थिएँ।

उत्पत्तीय भूभाग

नेपालको कुल जङ्गलको क्षेत्रफलमध्ये जलथल जङ्गलले मात्र ०.१ प्रतिशत क्षेत्र ओगटेको छ। त्यति सानो क्षेत्रमा रहेको जङ्गलबाट नेपालको निम्ति १४ प्रजाति थपिनु भनेको चानचुने कुरा होइन। यसले नेपालमा रूख प्रजातिहरू निकै कम अन्वेषण भएको प्रस्ट सङ्केत गर्छ

विलियम ग्रिफिथले मलायाको वनमा वनस्पति सङ्कलन गर्दा एक नयाँ वंशका वनस्पति फेला पारेका थिए। उनले सन् १८४३ मा त्यो वंशको नाम सिफोनोडोन राखे। हिजोआज यो प्रजातिमा जम्मा ६ प्रजाति सूचीकृत छन्।

तीमध्ये ३ प्रजाति अष्ट्रेलियामा मात्र छन्। एक अर्को प्रजाति अष्ट्रेलियानजिक न्यु गिनी (New Guinea) मा पाइँदोरहेछ। विभिन्न सामग्रीहरूमा लेखिएबमोजिम रानीबेल चाहिँ न्यु गिनीबाट नेपालसम्म पाइन्छ भन्ने लेखिएको छ।

यस्तै एक अर्को प्रजाति भियतनाम र थाइल्यान्डमा पाइँदोरहेछ। यस आधारमा यो वंशको उद्विकास सम्भवतः अष्ट्रेलिया वा यसको सीमावर्ती दक्षिणपूर्वी एसियामा भएको हुनुपर्छ।

विभिन्न शोधकार्यहरूमा उल्लेख भएअनुसार लगभग ३५–३० लाख वर्षअघि शिवालिक क्षेत्रहरू उच्च हुँदै गएका थिए। त्यसक्रममा मनसुन वर्षा बढ्दै गयो। त्यसबाट दक्षिण–दक्षिणपूर्व एसियाका सदाबहार प्रजातिका निम्ति नयाँ आवास र आवासका निम्ति मार्गहरू उपलब्ध भएको हुनुपर्छ।

यसैक्रममा रानीबेलजस्तो फैलाव क्षमता उच्च भएको प्रजाति दक्षिणपूर्व एसियाबाट जलथल हुँदै मध्य नेपालका चुरे र तराईका वनसम्म विस्तार भएको हुनुपर्छ। मानिसको चाप र चिस्यान क्षेत्र घटेका कारण यसको सङ्ख्या घट्दै गएको हुनुपर्छ। हिजोआज त फलेका बोटमा बाँदर, ढेडुले कलिलैमा खाइदिने भएकाले फल पाक्न पाउन्न।

पाकेको फल खाने जनावरबाट यसको प्रसार हुने गरेको हो। यसलाई सम्भवतः जुरेली, मैना, थ्रस बार्बेटजस्ता अक्सर फल खाएर जीवन निर्वाह गर्ने पक्षीले एक ठाउँबाट अर्को ठाउँमा पुर्‍याउँछन्। त्यो क्रम २०-३० लाख वर्षअघि सुरु भएको थियो होला। तर, हिजोआज नेपालको जङ्गलमा यसको अस्तित्व सङ्कटमा छ।

आवश्यकता

रानीबेल औषधिजन्य वनस्पति हो। यसको प्रयोग दक्षिणपूर्वी एसियाली देशहरूमा अनेकौँ समस्यामा हुने गरेको छ। एक अनुसन्धानमा रानीबेलको पातलाई इथानोल (रक्सी) मा भिजाएर त्यसको रस निकालेर परीक्षण गरेका थिए। त्यसपछि त्यो रसलाई स्तन क्यान्सरका कोशिकामाथि (प्रयोगशालामा हुर्काइएका क्यान्सर कोष) प्रयोग गरेर हेरेका थिए।

यसले क्यान्सर कोषहरूलाई नष्ट वा बढ्न दिएन। यसको अर्थ, यसमा क्यान्सरविरुद्ध काम गर्न सक्ने तत्त्व हुन सक्छ भन्ने सङ्केत हो। तर, यो परीक्षण प्रयोगशालामा मात्र गरिएको हो। मानिसमा औषधि बनाई प्रयोग गर्नअघि धेरै थप अनुसन्धान र परीक्षण आवश्यक हुन्छ।

यो कुरा ‘आर्काइभ अफ फार्मास्युटिकल रिसर्च’ शीर्षक जर्नलको भोल्युम २८, अङ्क ५, पृष्ठ ५४६–५४९ मा सन् २००५ मा प्रकाशित छ। यो जर्नल फार्मास्युटिकल सोसाइटी अफ कोरियाको आधिकारिक प्रकाशन हो।

अब, फलकै कुरा गरौँ। रानीबेलको फलमा प्रोटिनको मात्रा ८.२२ प्रतिशत हुनु भनेको राम्रो हो। यस्तै, यसको फलमा चिल्लो पदार्थ मात्र ०.७७ प्रतिशत छ। यसकारण यो मुटुको स्वास्थ्यको लागि लाभदायक फल हो। यस्तै, ३.४८ प्रतिशत खनिज पदार्थ हुनु भनेको पनि निकै राम्रो हो।

विश्वभर वनस्पति र जन्तुको वर्तमान अवस्था जानकारी गराउने अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आईयूसीएन) को वर्गीकरणअनुसार, रानीबेल जोखिमको नजिक रहेको प्रजाति हो। तर, नेपालको सन्दर्भमा यसको अवस्था यस्तो होइन।

यसको अवस्था त सङ्कटग्रस्त छ। किनभने एकाध ठाउँमा १-२ वटा रूख मात्र बचेका छन्। रानीबेलको बीउ उम्रने दर अत्यन्त कम हुनुपर्छ। किनभने यसका ससाना बिरुवा बोट वरपर उम्रेको देखिन्न।

विश्वविद्यालयका वनस्पति विभाग, वन मन्त्रालयका विभिन्न विभागहरूका अतिरिक्त जिल्ला वन कार्यालय, सामुदायिक वन उपभोक्ता समूहहरूले यसको संरक्षण गर्न लाग्नुपर्छ।

हाम्रा २१ वटा जिल्ला तराई क्षेत्रमा पर्छन्। ती २१ जिल्लाका उत्तरी सीमा जम्मा १७ जिल्लामा जोडिएका छन्। ती १७ जिल्लामध्ये पाँचथर, धादिङ, गोरखा र रोल्पाबाहेकका १३ जिल्लामा चुरे क्षेत्र छ।

विशेषगरी मध्य र पूर्वी नेपालका तराई तथा चुरे क्षेत्र रहेका डिभिजन वन कार्यालयहरू तथा त्यहाँका सामुदायिक वन उपभोक्ता समूहहरूले रानीबेल जोगाउन पहल गर्नुपर्छ। अन्यथा, हाम्रा सन्ततिका लागि यसको अस्तित्व समाप्त हुनेछ।

यसका निम्ति हाम्रा रूख प्रजातिहरू अन्वेषण हुन जरुरी छ। अहिलेसम्मको स्थिति भनेको नेपालमा रूख प्रजातिहरू कमै अन्वेषण भएको अवस्था हो। उदाहरणका लागि जलथल जङ्गललाई नै लिन सकिन्छ।

यो जङ्गल ६,१०० हेक्टरमा फैलिएको छ। त्यहाँ ५३ वनस्पति परिवारका जम्मा १६८ प्रजातिका रूखहरू छन्। तीमध्ये ११२ प्रजाति दुर्लभ छन् (जलथलका रूखहरू, २०२२, पृ.९)। तीमध्ये १४ प्रजाति नेपालका निम्ति नयाँ हुन्। यतिका सङ्ख्यामा त्यहाँ रूख प्रजातिहरू हुनु अचम्म हो।

झन् नेपालको कुल जङ्गलको क्षेत्रफलमध्ये जलथल जङ्गलले मात्र ०.१ प्रतिशत क्षेत्र ओगटेको छ। त्यति सानो क्षेत्रमा रहेको जङ्गलबाट नेपालको निम्ति १४ प्रजाति थपिनु भनेको चानचुने कुरा होइन। यसले नेपालमा रूख प्रजातिहरू निकै कम अन्वेषण भएको प्रस्ट सङ्केत गर्छ।

यस आधारमा त नेपालमा रूख प्रजाति सङ्ख्या अत्यधिक हुन सक्ने भूगोल छ। तर, त्यस्तो नहोला। कुरा के भने नेपालको विशेषतः तराई क्षेत्रको जङ्गल रूखका निम्ति अझै कम अन्वेषित भएका हुन्। राम्ररी अन्वेषण भयो भने अझै ५०–८० रूख प्रजाति थपिन सक्छन्।

ती रूखहरूमा के-कस्ता रसायन छन्, त्यसबारे अध्ययन कमै भएका छन्। अहिलेसम्म नेपाल सरकारले रूखलाई केवल काठका रूपमा मात्रै हेर्दै आएको छ। रूखमा रहेको रसायनलाई व्यापार गर्न सकियो भने एउटै रूखबाट ठूलो आर्थिक उपलब्धि हुन्छ।

इलाममा चुत्रो र जमाने मान्द्रोको जरा तथा काठ । तस्वीर : लिलानाथ शर्मा

जस्तो: चुत्रोको उदाहरण लियौँ। चुत्रो बरबेरिस (Berberis) वंशको वनस्पति हो। एकाध दशकयता जमानेमान्द्रो भनिने रूख प्रजातिहरू पनि बरबेरिसमा समाहित गरिएको छ, डीएनए अध्ययनअनुसार। पहिले जमानेमान्द्रो अर्कै माहोनिया (Mahonia) भनिने वंशअन्तर्गत थियो।

विश्वमा बरबेरिसका करिब ६१५ प्रजाति छन्। तीमध्ये नेपालमा २ दर्जनजति प्रजाति छन्। विशेषतः दक्षिण एसियामा भएका बरबेरिसका आधा दर्जनजति प्रजाति प्राचीन कालदेखि आयुर्वेदिक औषधिमा उपयोग हुन्थे।

सन् १९९० को दशकबाट विश्वभर मधुमेह अर्थात् डाइबिटिज उपचारमा बरबेरिसमा हुने रसायन ‘बरबेरिन’ खपत हुन थालेको छ। पहिले चाहिँ चुत्रोको काठ केसरी रङको भएकाले रङ उत्पादनमा प्रयोग हुने गरेको थियो। चुत्रोमा भएको रसायन डाइबिटिजसहित अन्य कैयौँ औषधि निर्माणमा प्रयोग हुँदै आएको छ।

वन नियमावली २०७९ अनुसार चुत्रोको काठ प्रतिकिलो ५ रुपैयाँ र जमानेमान्द्रोको काठ प्रतिकिलो ८ रुपैयाँ राजस्व तोकिएको छ। भारतले केही वर्षदेखि बरबेरिस सङ्कलनमा कडा प्रावधान जारी गरेको छ। यसकारण चिनियाँ तथा भारतीय व्यापारीले नेपालबाट अत्यधिक मात्रामा चुत्रो र जमानेमान्द्रो सङ्कलन गर्दै लैजाने गरेका छन्।

काठ मात्र होइन, जरा लाने गरेका छन्। जरामा औषधीय रसायन बढी हुने रहेछ। जरै उखलेर लगेपछि चुत्रो र जमानेमान्द्रो नेपालमा त मासिने भयो। भारतले यसै कारण सङ्कलनमा कडा प्रावधान बनायो। हाम्रा वन कर्मचारीलाई केको चासो? जतिसुकै लगुन्, काठ कि जरा! उनीहरूले व्यक्तिगत रूपमा रकम पाएपछि पुग्छ।

नेपालमा सुनाखरी निकासी भएको सरकारी अभिलेखमा ५-७ वर्षयता देखिन्न। सङ्कटापन्न वनस्पति तथा वन्यजन्तुसम्बन्धी २०७३ मा ऐन र यसको नियमावली २०७६ जारी भएपछि जङ्गलका सुनाखरी निकासीका निम्ति प्रावधान पूरा गर्न व्यापारीले सक्दैनन्। त्यसैले वनका कर्मचारीलाई घुस दिएर पानी अमला (उनीउँ) र यस्तै अन्य केही नाममा सङ्कलन र निकासी गरि नै राखेका छन्।

नेपालबाट अत्यधिक मात्रामा चुत्रो र जमानेमान्द्रोको जरा बाहिर निकासी भइरहँदा पनि यसबारे कतै चर्चा आउन सकेको छैन। प्रदेशका वन मन्त्रालयका कर्मचारीहरूले यसबाट मोटो रकम असुलिरहेका छन्।

युरोप र अमेरिकामा चुत्रोबाट बनेको डाइबिटिजको औषधिलाई उच्च कोटिको मानिन्छ। युरोप र अमेरिकामा एक बिरामीले एक महिनाको लागि डाइबिटिजको औषधि औसत ३० पाउन्डदेखि ६० डलरसम्म तिर्छन्।

इलाममा चुत्रो र जमाने मान्द्रोको जरा तथा काठ । तस्वीर : लिलानाथ शर्मा

नेपालको अहिलेसम्म पहाडी तथा हिमाली भूभागका चुत्रो र जमानेमान्द्रो खनेर मासिने अवस्था छ। वन कर्मचारीलाई केको चुत्रो कि जमानेमान्द्रो? जङ्गलमा पुरै खनेर लैजान दिएका छन्। उनीहरू बरबेरिसमध्ये ‘बेरबेरिस एरिस्टाटा’ र ‘बरबेरिस एसियाटिका’ वा ‘माहोनिया नापाउलेन्सिस्’ (बरबेरिस नापाउलेन्सिस) चिन्दैनन्। तिनमा भएका रसायनका त थाहा पाउने कुरै भएन।

अन्त्यमा, हामीले बहुमूल्य औषधिजन्य वनस्पति कौडीको भाउमा मात्र बेचिरहेका छैनौँ, त्यस्ता वनस्पति नेपालमा मासिने गरी अनुमति दिइरहेका छौँ। यसमा समस्त नेपाली बेखबरजस्तै छौँ। यदि नेपाल सरकारले हाम्रा रूखहरूमा भएको रसायन पहिचान गर्न सकेको भए, काठको साटो रसायन निर्यात गरेर वा आफैँ औषधि बनाएर युरोप र अमेरिकामा बेच्न सक्थ्यौँ। तर के गर्नु, हामीले यी प्रजातिका रूखहरू राम्ररी चिन्न नै सकेका छैनौँ।

मैले फागुन ११ गतेको संस्करणमा अनलाइनखबरमा ‘जलथल जङ्गल जैविक धरोहर: ठेकीफल अझै मनग्ये’ शीर्षक लेखमा निकोलाई भाभिलोभले अघि सारेको खेतीयोग्य बालीका उत्पत्ति केन्द्रका बारेमा थोरै चर्चा गरेको थिएँ। यस्तै, सम्पूर्ण जीव उत्पत्तिका सन्दर्भमा जैव–भौगोलिक क्षेत्र शब्दावलीहरू प्रचलनमा छन्। यस्ता ठूला भूभागहरू जम्मा ७ वटा छन्। यी प्रत्येक क्षेत्रमा पाइने वनस्पति र जनावरका उद्विकास इतिहास र जैविक संरचना स्पष्ट रूपमा फरक-फरक हुन्छन्।

तीमध्ये अस्ट्रालासिया एक हो। यसमा अष्ट्रेलिया, न्यु गिनी, न्युजिल्यान्ड, सोलोमोन टापुहरू, फिजी, क्यारोलिन टापुहरू आदि पर्दछन्। यस्तै, एक अर्को जीव–भौगोलिक क्षेत्र इन्डो–मलाया हो। यसमा इन्डोनेसियादेखि नेपालको मुख्यगरी तराई तथा मध्यपहाडी भूभागहरू पर्छन्।

रानीबेल सम्भवतः अस्ट्रालासिया क्षेत्रमा उद्विकास भएर इन्डो–मलाया क्षेत्रमा विस्तार भएको हो। हिमालय क्षेत्र जीव उद्विकासका आधारमा पेलिआर्कटिक क्षेत्रमा पर्छ। तर, नेपालमा अफ्रोट्रोपिक्स र नियोट्रोपिक्स क्षेत्रहरूका वनस्पति पनि उल्लेख्य रूपमा पाइन्छन्। यी भनेको क्रमशः मध्य तथा दक्षिण अफ्रिका र दक्षिण अनि मध्य अमेरिकी क्षेत्र हुन्। विश्वभर रूख प्रजाति सबैभन्दा बढी नियोट्रोपिक्स र इन्डो–मलाया क्षेत्रमा छन्।

नेपालमा रानीबेल दक्षिणपूर्व एसियाबाट विस्तार हुँदै आइपुगेको हो। यदि यो नेपालमा विलुप्त भयो भने यसको प्रभाव केवल एउटा वनस्पति हराउनु मात्र होइन, दीर्घकालीन जैविक विविधता र आनुवंशिक स्रोतमाथि गम्भीर असर पर्न सक्छ।

यसको फल तथा बीउ केही पक्षी र जनावरले प्रसार गर्ने भएकाले, यो हराउँदा त्यससँग सम्बन्धित खाद्य–जाल र प्राकृतिक पुनरुत्पादन चक्रमा असन्तुलन आउन सक्छ।

आनुवंशिक दृष्टिले हेर्दा, कुनै पनि प्रजाति विलुप्त हुनु भनेको हजारौँ वर्षको विकासक्रमबाट बनेको अद्वितीय जीन–सम्पदा हराउनु हो। यसबाट भविष्यमा औषधीय, पोषणीय वा जलवायु–अनुकूलनसम्बन्धी अनुसन्धानका लागि उपयोगी हुन सक्ने जीनहरू सधैँका लागि नष्ट हुन सक्छन्।

त्यसैले रानीबेल संरक्षण गर्नु भनेको जैविक विविधता संरक्षण मात्र होइन, भावी पुस्ताका लागि सम्भावित आर्थिक, औषधीय र वैज्ञानिक स्रोत जोगाउनु पनि हो।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
लेखक
कमल मादेन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?