+
+
Shares

धनुषामा ‘एक परिवार एक सिलिन्डर ग्यास’, कालोबजारी गर्ने व्यापारीलाई कारबाही

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलको संयोजकत्वमा बसेको बैठकले ग्यासको सहज आपूर्तिका लागि ‘एक परिवार, एक ग्यास सिलिन्डर’ नीति लागु गर्ने निर्णय गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन २८ गते १३:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जिल्ला प्रशासन कार्यालय धनुषाले एलपी ग्यासको कृत्रिम अभाव हुन नदिन \'एक परिवार, एक ग्यास सिलिन्डर\' नीति लागु गर्ने निर्णय गरेको छ।
  • ग्यास विक्रेता (डिलर) हरूले उपभोक्तालाई प्रतिपरिवार एक थानमात्र ग्यास सिलिन्डर बिक्री गर्न पाउने र लगत राख्नुपर्ने नियम लागु गरेको छ।
  • प्रशासनले ग्यास अभाव हुने हल्ला फैलाउने र सिन्डिकेट गर्ने व्यापारीलाई कारबाही गर्ने चेतावनी दिएको छ।

२८ फागुन, काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव हुन नदिन जिल्ला प्रशासन कार्यालय धनुषाले ग्यास बिक्री वितरणमा कडा नियमन गर्ने भएको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलको संयोजकत्वमा सरोकारवाला र सुरक्षा निकायका प्रमुख सहित बुधबार बसेको बैठकले ग्यासको सहज आपूर्तिका लागि ‘एक परिवार, एक ग्यास सिलिन्डर’ नीति लागु गर्ने निर्णय गरेको हो ।

बैठकले ग्यास विक्रेता (डिलर) हरूले उपभोक्तालाई प्रतिपरिवार एक थानमात्र ग्यास सिलिन्डर बिक्री गर्न पाउने नियम लगाएको छ । यसरी बिक्री गर्दा विक्रेताले अनिवार्य उपभोक्ताको नाम, ठेगाना र सम्पर्क नम्बर सहितको लगत (रेकर्ड) राख्नुपर्ने छ ।

साथै, ग्यास वितरण गर्दा व्यापारिक (होटल र रेस्टुरेन्ट) प्रयोजन भन्दा आम घरायसी उपभोक्तालाई पहिलो प्राथमिकतामा राख्न प्रशासनले निर्देशन दिएको छ ।

त्यसैगरी जिल्लामा रहेका एलपी ग्यास उद्योगहरूले पनि आफ्नो दैनिक बिक्रीको लगत राखी बजारमा समानुपातिक रूपमा ग्यास वितरण गर्नुपर्ने निर्णय गरिएको छ ।

कारबाहीको चेतावनी र उपभोक्तालाई आग्रह

पछिल्लो समय बजारमा ग्यास अभाव हुने हल्ला फैलिएकोप्रति ध्यानाकर्षण जनाउँदै प्रशासनले त्यस्ता हल्लाका भरमा अनुचित भण्डारण गर्ने, सहज आपूर्तिमा अवरोध पुर्‍याउने, गलत नियत राख्ने वा सिन्डिकेट (कार्टेलिङ) गर्ने व्यापारीलाई तत्काल कारबाहीको दायरामा ल्याउने चेतावनी दिएको छ ।

यसका साथै ग्यास अभाव हुने हल्लाको पछि लागेर आवश्यकता भन्दा बढी ग्यास सिलिन्डर घरमा भण्डारण (स्टक) नगर्न प्रशासनले आम उपभोक्तालाई अनुरोध समेत गरेको छ ।

ग्यासको विषयमा कडाइ गरिए पनि अन्य पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल र मट्टितेल) आपूर्तिमा जिल्लाभरि कुनै समस्या नरहेको प्रशासनले स्पष्ट पारेको छ । यी इन्धन आपूर्ति निरन्तर र सहज रूपमा कायम रहने जानकारी बैठकमा गराइएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको उक्त समन्वय बैठकमा प्रमुख जिल्ला अधिकारी सहित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुखहरूका साथै ग्यास उद्योगी तथा विक्रेता संघका प्रतिनिधिहरूको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?