News Summary
Generated by OK AI. Editorially reviewed.- अजिरकोट गाउँपालिकामा झुसिल किराको प्रकोप बढेर किसानको दैनिक जीवनयापन प्रभावित भएको छ।
- शिक्षक विशाल अधिकारीले विद्यालयदेखि घरसम्म झुसिल किराको असर देखिएको बताए।
- गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले कृषि प्राविधिकसँग छलफल गरी समाधान खोज्ने तयारी भइरहेको बताउनुभयो।
२८ फागुन, गोरखा । जिल्लाको अजिरकोट गाउँपालिकामा यतिबेला झुसिल किराको बिगबिगी बढेको छ । यसैका कारण यहाँका किसानको दैनिक जीवनयापन प्रभावित भएको छ भने गाउँ पुग्ने जो–कोहीलाई पनि झुसले शरीर चिलाएर सताउने गरेको छ ।
स्थानीयवासीका अनुसार बाटो हिँड्दा झुसिल किराको झुस उडेर शरीर पर्ने र चिलाउने, डाबर आउने समस्या देखिएको हो । झुसका कारण किसानलाई घाँस, दाउरा तथा सोतर सङ्कलन गर्न समेत समस्या भएको छ । झुसको एलर्जीका कारण यहाँका बासिन्दाको दैनिक जीवनयापनमै कठिनाइ भएको गुनासो छ । पानीका मुहानदेखि घर वरपरसम्म यसको असर देखिएको छ । विशेषगरी उत्तिस बढी भएका क्षेत्रमा समस्या अझ बढी देखिएको छ ।
अजिरकोट गाउँपालिका–५ कुसुण्डेस्थित ताराचन्द्र माध्यमिक विद्यालयका शिक्षक विशाल अधिकारीले झुसिल किराका कारण गाउँका बालबालिकासमेत प्रभावित भएको बताए ।
‘विद्यालयदेखि घरसम्म झुसिल किराको असर छ । बारीमा घाँस काट्न जाँदा शरीर चिलाउँछ,’ उनले भने, ‘भैंसीलाई घाँस खुवाउँदा पनि असर होला कि भन्ने डर लागेको छ ।’
उनका अनुसार झुसिल किरा बाटो, खरबारी, खेतबारी, उतिसका रुखमा लस्करै देखिन थालेका छन् ।
अजिरकोट गाउँपालिका–३ का शरद दवाडीले गाउँमा पहिले पनि बेला–बेलामा झुसिल किरा देखिने भए पनि खासै ध्यान नदिएको बताए ।
केही दिनअघि मात्रै गाउँ पुगेका उनले भने, ‘भच्चेक पुग्नुअघि नै शरीर चिलाउन थाल्यो । केले चिलायो भनेर हेर्दा रुखहरूमा झुसिलकिराका झुस उँडेर शरीमा परेर चिलाएको रहेछ ।’
उनले झुसिल किराको समस्याका कारण मानिसहरू खेतबारी र जंगलतिर जानसमेत नसक्ने अवस्था भएको बताए । पानी कम परेको वर्षमा यो बढी देखिने गरेको उनको अनुभव छ ।
अजिरकोट–३ कै ९० वर्षीया गोमा अधिकारीले पनि बेला–बेलामा झुसिल किराको समस्या आउने गरेको बताइन् । ‘अहिले नयाँ बाटोका कारण धुलो उड्दा र झुसले चिलाउँदा समस्या झन् बढेको छ’ उनको भनाइ छ ।
सिरानडाँडाका बुद्धराज तामाङले अहिले गाउँमा झुसिल किराको व्यापक प्रकोप भएको सुनाए । ‘गाउँमा घाँस र दाउरा गर्नैपर्छ तर घाँस काट्न जान सक्ने अवस्था छैन,’ उनले भने, ‘घाँस काटेर ल्याएपछि पशुलाई खुवाउँदा पनि डर लाग्छ । टकटक्याएर मात्रै खान दिनुपर्ने अवस्था छ ।’
उत्तिसका बोटबाट सुरु भएको झुसिल किरा अहिले अन्य रुखबिरुवा तथा खरबारीतर्फ फैलिँदै गएको उनी बताउँछन् ।
अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले गाउँपालिकामा उतिस भएका क्षेत्रमा झुसिल किराको प्रकोप बढेको बताए । यस विषयमा कृषि प्राविधिकसँग छलफल गरी समाधान खोज्ने तयारी भइरहेको उनको भनाइ छ ।
कृषि विकास कार्यालय गोरखाका बागवानी विकास अधिकृत हरिप्रसाद न्यौपानेले झुसिल किराको प्रकोपबारे औपचारिक जानकारी नआएको बताए ।
लामो समयसम्म खडेरी पर्दा यस्ता किरा बढ्न सक्ने र पानी परेपछि क्रमशः कम हुँदै जाने उनको भनाइ छ । उनले यस विषयमा थप बुझेर आवश्यक अध्ययन गरिने बताए ।
डिभिजन वन कार्यालय गोरखाका प्रमुख मदनमोहन शाण्डिल्यले पनि यस विषयमा औपचारिक जानकारी नभएको बताए ।
प्रतिक्रिया 4