News Summary
Generated by OK AI. Editorially reviewed.- कुवेत ट्रान्जिटमा रोकिएका ६९ जना नेपालीलाई सडकमार्ग हुँदै आफ्नो गन्तव्यतर्फ पठाइएको छ।
- नेपाली राजदूतावासले साउदी अरेबियासँगको सहकार्यमा उनीहरूलाई आवश्यक कागजात र सुरक्षा व्यवस्थासहित सीमा नाकासम्म पुर्याएको छ।
- मध्यपूर्व क्षेत्रमा देखिएको तनाव र उडान अवरोधका कारण ट्रान्जिटमा रोकिएका यात्रुहरूको लागि दूतावासले समन्वय र सहजीकरण गरिरहेको छ।
२८ फागुन, काठमाडौं । कुवेत ट्रान्जिटमा रोकिएका ६९ जना नेपालीलाई सडकमार्ग हुँदै आफ्नो गन्तव्यतर्फ पठाइएको छ । कुवेतस्थित नेपाली राजदूतावासका अनुसार विभिन्न मुलुक जाने क्रममा ट्रान्जिटका लागि कुवेत पुगेका उनीहरू केही समय त्यहीँ रोकिएका थिए ।
दूतावासले सम्बन्धित देशहरूसँग समन्वय गरी उनीहरूलाई सुरक्षित रूपमा गन्तव्यसम्म पठाउने व्यवस्था मिलाएको जनाएको छ । नेपाली राजदूतावास, साउदी अरेबियासँगको सहकार्यमा सडकमार्गबाट उनीहरूलाई पठाइएको हो ।
राजदूतावासका अनुसार यात्रुहरूलाई आवश्यक कागजात, यातायात व्यवस्थापन तथा सुरक्षा समन्वय मिलाएर सीमा नाकासम्म पुर्याइएको थियो । त्यसपछि उनीहरूलाई सम्बन्धित मुलुकतर्फ प्रस्थान गराइएको बताइएको छ ।
हाल मध्यपूर्व क्षेत्रमा देखिएको तनाव र उडान व्यवस्थामा आएको अवरोधका कारण कतिपय यात्रुहरू ट्रान्जिटमा रोकिएका छन् । यस्तो अवस्थामा नेपाली नागरिकलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउन दूतावासले समन्वय र सहजीकरण गरिरहेको पनि जानकारी दिएको छ ।
दूतावासले ट्रान्जिट वा यात्रा क्रममा समस्या परेमा तत्काल दूतावाससँग सम्पर्क गर्न नेपाली नागरिकलाई अनुरोध गरेको छ । साथै यात्रा गर्दा आधिकारिक सूचनालाई मात्र विश्वास गर्न र आवश्यक सावधानी अपनाउन पनि आग्रह गरिएको छ ।
प्रतिक्रिया 4