३ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले पार्टीभित्र दुई सभापति रहेको दाबी फेरि दोहोर्याएका छन् । पछिल्ला दिनमा आफूले दिएका अभिव्यक्तिबारे विभिन्न प्रतिक्रिया आएपछि नेता विश्वकर्माले मंगलबार राति फेसबुकमा लामो स्टाटस राख्दै आफ्नो दाबी दोहोर्याएका हुन् ।
‘दुवै पक्षको दाबी अदालतमा विचाराधीन रहेको अवस्थामा मैले पार्टीमा हाल दुई सभापति हुनुहुन्छ भन्नु झट्ट सुन्दा कुनै पक्षका कसैलाई अप्रिय लागे पनि अदालतको निर्णय नआए सम्म कानुनी, प्राविधिक र राजनैतिक रूपले त्यही नै सत्य हो,’ विश्वकर्माले लेखेका छन् ।
सँगै विश्वकर्माले १३ बुँदामा सिलसिलामा आफ्नो धारणा राखेका छन् । जसमा आफ्ना पछिल्ला अभिव्यक्तिप्रति सामाजिक सञ्जालमा आपत्तिजनक टिप्पणी आइरहेको आफूले देखेको पनि बताएका छन् ।
‘यसमा मेरो कुनै गुनासो छैन । किनभने तत्कालीन अवस्थामा पार्टी एकताका लागि यसरी नै बोल्दा कुनै अर्को पक्षले यस्तै गुनासाहरू व्यक्त गर्नुहुन्थ्यो ! म विचलित भइनँ,’ उनले भनेका छन्, ‘आज पार्टीले जे परिणाम प्राप्त गरेको छ, त्यसमा पनि एक अर्कालाई दोषारोपण गरेर पार्टीका साथीहरूलाई गालीगलौज गरेर आत्मरतिमा रमाउन थाल्यौँ भने हामी झन् द्वन्द्व र विवादमा फस्दै जान्छौ !’
अहिलेको एक निर्वाचनमा हार बेहोर्दैमा ८० वर्षे अनुभव बोकेको कांग्रेस नसकिने उनले दाबी गरेका छन् । ‘प्रक्रियामा सामेल भएपछि परिणाम स्विकार्नु पर्दछ । हिजो जसरी पार्टी एकताको पक्षमा लागेर सबैलाई रूख चिन्हमा गोलबद्ध गर्न भूमिका खेलेँ, अब पार्टीको बृहत्तर एकताका लागि पुनः लागिरहनेछु,’ विश्वकर्माले भनेका छन् ।
प्रतिक्रिया 4