News Summary
Generated by OK AI. Editorially reviewed.- पाँचौं राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन आगामी आइतबार र सोमबार काठमाडौंको कार्की बैंक्वेटमा हुने भएको छ।
- सम्मेलनमा लघुवित्तका अनुभव, चुनौती, प्रविधि प्रयोग र विकृति नियन्त्रण विषयमा सात वटा सत्र सञ्चालन हुनेछन्।
- नेपालमा ५२ लघुवित्त संस्थाले ५ हजार शाखाबाट २७ लाख सदस्यलाई ४ खर्ब ९५ अब भन्दा बढी कर्जा लगानी गरिरहेका छन्।
५ चैत, काठमाडौं । लघुवित्त कार्यक्रमको उपलब्धी, समस्या र चुनौतीबारे छलफल गर्दै भावी रणनीति तय गर्न पाँचौं राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुने भएको छ । ‘उद्यमशीलताको विकास, गरिबी निवारणको निकास’ नारा सहित आगामी आइतबार र सोमबार काठमाडौंको कार्की बैंक्वेटमा सम्मेलन हुने भएको हो ।
नेपालमा लघुवित्त कार्यक्रम सञ्चालन गर्ने प्रमुख संस्थाहरूको पहल तथा स्वावलम्बन विकास केन्द्रको संयोजनमा हुने उक्त सम्मेलनमा नियामक, नीति निर्माता, सरकारी निकायका प्रतिनिधि, लघुवित्त संस्थाका नेतृत्वकर्ता, लघुवित्तकर्मी, सेवाग्राही सदस्यको सहभागिता हुनेछ । करिब ५ सयको सहभागिता रहने आयोजकले जनाएको छ । सम्मेलन अवधिमा सात वटा शत्र हुनेछन । लघुवित्तका विविध आयामहरूमा सामुहिक छलफल, अन्तक्र्रिया तथा अनुभव आदानप्रदान गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
सम्मेलनमा ‘लघुवित्त सदस्यहरूको अनुभव र उन्नतिबारे मनको कुरा’, ‘लघुवित्तको वर्तमान अवस्था, चुनौती र अवसर’, ‘सदस्यको आर्थिक तथा सामाजिक रुपान्तरणमा लघुवित्तको क्रेडिट प्लस कार्यक्रम’, ‘लघुवित्तमा सकारात्मक सोचको विकास र तनाव व्यवस्थापन’, ‘लघुवित्तमा प्रविधिको प्रयोग, चुनौती र सावधानीका उपाय’, ‘युवास्वरोजगार, तीन शून्य क्लब र लघुवित्त’ र ‘लघुवित्तमा आएको विकृति, विसंगति र विचलन नियन्त्रणमा सदस्य, कर्मचारी र संस्थाको भूमिका’ विषयमा सत्रहरु सञ्चालन हुनेछ ।
विश्वका १७७ वटा देशमा लघुवित्त कार्यक्रम सञ्चालन भएकोमा सदस्यहरूको सम्मेलन नेपाल एक मात्र देश रहेको पत्रकार सम्मेलनमा स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले बताए । ‘लघुवित्तका नीति निर्माता तथा नियामकको सहभागितामा विश्व सम्मेलन, क्षेत्रीय तथा राष्ट्रिय सम्मेलन गर्ने प्रचलन छ’ उनले भने, ‘सदस्यहरूलाई सहभागिता गराई उनीहरूको सम्मेलन गर्ने नेपाल एकमात्र देश हो ।’
स्वावलम्बन विकास केन्द्रले २०७३ सालदेखि प्रत्येक दुई–दुई वर्षमा लघुवित्त सदस्य सम्मेलन आयोजना गर्दै आएको छ । ‘उद्यमशीलताको विकास, गरिबी निवारणको निकास’ नारा सहित पहिलो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन २०७३ सालमा भएको थियो । त्यस्तै ‘स्वच्छ लघुवित्त, हाम्रो अभियान’ नाराका साथ दोस्रो सम्मेलन २०७५ सालमा भएको थियो भने ‘घरघरमा उद्यम फैलाउँ, गरिबीलाई शून्य बनाउँ’ भन्ने नाराका साथ तेस्रो राष्ट्रिय सम्मेलन २०७८ सालमा भएको थियो । ‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ नारासहित चौथो सम्मेलन २०८० सालमा भएको थियो ।
गरिवी निवारण, महिला तथा विपन्न वर्गको आर्थिक तथा सामाजिक विकास, साक्षरता वृद्धि, दिगो विकास जस्ता आर्थिक तथा सामाजिक क्षेत्रमा लघुवित्त वित्तीय संस्थाले भूमिका खेल्दै आएका छन् । लघुवित्तले चुलोचौकोमा सीमित महिलालाई स्वरोजगार बनाएको, महिला साक्षरता बढाएको बच्चालाई विद्यालय पठाउन उत्प्रेरित गरेको र विदेशबाट फर्केका युवा लघुवित्तबाट ऋण लिएर स्वरोजगार बनेका जस्ता सफल उदाहरण रहेको श्रेष्ठले बताए ।
तर, सरकारले लघुवित्त संस्थाहरुलाई कम्पनी मोडलमा रुपान्तरण गरी ‘घ’ वर्गको वित्तीय संस्था बनाएपछि नाफा कमाउने र लाभांश बाड्ने होडबाजी चलेको, यसका लागि आवश्यक्ता भन्दा बढी ऋण दिँदा विकृति बढाएको समेत उनले बताए ।
हाल लघुवित्त वित्तीय संस्थाहरु र लघुवित्त कारोबार गर्ने सहकारी संस्थाहरूले नेपालका ७७ वटै जिल्लामा लघुवित्त सेवा प्रदान गरी रहेका छन् । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०८२ असोजसम्ममा ५२ वटा लघुवित्त वित्तीय संस्थाको देशभर ५ हजार शाखा सञ्चालनमा छन् । २७ लाख सदस्यहरुले लघुवित्त संस्थाबाट ऋण लिएर व्यवसाय गरी रहेका छन् । लघुवित्त गर्ने संस्थाहरुले ४ खर्ब ९५ अब भन्दा बढी कर्जा लगानी गरेका छन् ।
प्रतिक्रिया 4