७ चैत, सप्तरी । राष्ट्रिय मानवअधिकार आयोगले सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ पत्थरगाढास्थित एक इँटा उद्योगबाट २३ जना भारतीय कामदारको उद्धार गरेका छन् ।
राजु साहले सञ्चालन गर्दै आएको बाबा धर्मराज इँटा उद्योगमा काम गर्ने भारतको आसामका २३ जना कामदारलाई आयोगको मधेश प्रदेश कार्यालय जनकपुरले उद्धार गरेको हो ।
इँटा उद्योगमा जबरजस्ती काम लगाएको तथा ज्याला नदिएको भन्ने अनलाइन उजुरी प्राप्त भएपछि स्थलगत निरीक्षण गरी विहीबार कामदारलाई उद्धार गरिएको मानवअधिकार आयोग मधेश प्रदेशका प्रमुख बुद्धनारायण सहनीले जानकारी दिए ।
उनकाअनुसार जिल्ला प्रहरी कार्यालय सप्तरीको सहकार्य र समन्वयमा ती कामदार उद्धार गरेर जनकपुर ल्याइएको छ । ती कामदार ठेकेदारमार्फत आएका आयोगले जनाएको छ ।
उद्धार गरिएकामध्ये १२ जना महिला, सात पुरुष र चार जना बालबालिका छन् । प्रक्रिया पुर्याएर ती कामदारलाई परिवारजनको जिम्मा लगाउने र इँटा उद्योग सञ्चालक उपर कानुन बमोजिम कारबाही अगाडि बढाउने आयोगको मधेश कार्यालयले जनाएको छ ।
प्रतिक्रिया 4