News Summary
Generated by OK AI. Editorially reviewed.- चितवनको माडीमा पाँच वर्षअघि स्थापित राम मन्दिर राष्ट्रिय बहसको विषय बने पनि स्थानीय जनावरबाट हुने क्षतिबाट पीडित छन्।
- माडीका किसानहरू जंगली जनावरले बाली नष्ट गर्ने, जनावर मार्दा जेल जाने र क्षतिपूर्ति कम पाउने समस्यामा छन्।
- निकुञ्जले बजेट घटाउँदा तारबार मर्मत नहुँदा जनावर रोक्न नसकिएको र उपभोक्ता समिति नबनेर समन्वय अभाव भएको छ।
११ चैत, चितवन । करिब पाँच वर्षअघि रामायणका पात्र राम भारतका हुन् कि नेपालका भन्ने बहस जोडतोडले उठ्यो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सीता भारतका रामलाई होइन, अयोध्याका रामलाई दिइएको हो’ भनेपछि विषय सतहमा आयो । सिंगो देश राम कताका हुन् भनी पुष्टि गर्न लाग्यो ।
त्यसपछि त्यहाँ भगवान रामको मूर्ति नै स्थापना गरियो र मन्दिर बनाइयो । बालुवाटारबाट तामझामका साथ ‘भगवान’ राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति पठाएर चितवनको माडी अयोध्यापूरीमा राखियो । माडी नगरपालिका–९ स्थित कृष्णनगरको करिब १ सय बिगाहामा १६ लाखको लागतमा त्यसबेलै मूर्ति राख्न मन्दिर निर्माण गरिएको थियो ।
यसरी राष्ट्रिय बहसको विषय बनेको मन्दिरमा करिब पाँच वर्षपछि पुग्दा– न सोचेजस्तो पर्यटक थिए, न कुनै कल्पना गरिएजस्तो संरचना । उक्त मन्दिरसम्म जाने बाटोमा ‘राम’ र ‘सीता’ लेखिएका आकर्षक ढुंगाहरू थिए । ढुंगाहरूमा वातावरणमैत्री सन्देशहरू समेत देखिए ।
तर, माडीको धार्मिक विषयलाई जति राष्ट्रियकरण गरियो, स्थानीय समस्याले त्यति स्थान कहिल्यै पाएनन् । राम मन्दिरको चर्चा देशव्यापी हुँदा माडीबासी भने जंगली जनावरबाट पीडित बनिरहे । वन्यजन्तुले दिने पीडाको विषयमा कसैले वास्ता नगरेको गुनासो स्थानीयको रह्यो ।

राम मन्दिरलाई लिएर विशेष चिन्ता गर्ने केन्द्र सरकारले स्थानीयको दैनिकी नै बिथोलिरहेको यो समस्यामा चासो लिएको अनुभूति उनीहरुमा अहिले पनि छैन ।
पूर्व, पश्चिम र उत्तरमा चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रले घेरिएको माडी उपत्यकाको दक्षिण भाग सोमेश्वर पर्वतमालाले घेरिएको छ ।
यहाँका किसानहरूको दैनिकी अन्य ठाउँका किसानभन्दा अलि फरक छ । बिहान उठेर खेततिर जाँदा सधैँ आउने प्रश्न हो– रातभरि कति बाली गयो होला ?
गैडा, जंगली हात्ती, चितुवा, बँदेल जस्ता जनावरहरू निकुञ्जबाट निस्केर खेतमा आउँछन् । ती वन्यजन्तुले बाली खाने, जनावर मार्ने र फर्किने गर्छन् । यो क्रम माडीमा वर्षौंदेखि चलिआएको छ ।
५५ वर्षीया सावित्री भट्टराईले यो समस्याबाट अहिलेसम्म मुक्ति पाएकी छैनन् । उनले भनिन्, ‘गैडा त यहीँ घर पछाडि नै आउँछ । राति आउँछ । बारीमा जता जता भेट्छ, खान्छ, जान्छ ।’
भट्टराईलाई रात परेपछि खेततिर जान डर लाग्छ । ‘बाली जोगाउन कोही न कोही जानैपर्यो । धान पाक्ने बेला घरका केटाहरू रातभर पालो गरेर खेतमा बस्छन्,’ उनले भनिन् ।

भट्टराईकी छिमेकी देबु पहारी पाण्डेको अनुभव पनि उस्तै छ । ‘लखेट्न पनि घरमा कोही अलि सक्नेखालको छ भने न हो । त्यो पनि हरेक रात त्यस्तो गर्न सकिँदैन,’ उनी थप्छिन्, ‘जनावर आउँछ, जति खान्छ–खान्छ, अनि जान्छ । रोक्न सकिँदैन, टुलुटुलु हेर्नु मात्रै हुन्छ ।’
समस्या खेतमा मात्रै सीमित छैन । गत चैतमा सावित्रीका दुईटा बोका चितुवाले मारिदियो । निकुञ्जले १० हजार रुपैयाँ क्षतिपूर्ति दियो । क्षतिपूर्ति रकम भन्दा बोकाको मूल्य बढी थियो । क्षतिपूर्ति पाउन पनि निकै कठीन भएको उनले अनुभव सुनाइन् ।
‘जनावरले खाएको वा मारेको फोटो खिच्नुपर्छ, निकुञ्जमा गएर कागज बुझाउनुपर्छ, अनि कुर्नुपर्छ,’ उनले अनुभव सुनाइन्, ‘अलि झन्झट छ । तर त्यही पनि चित्त बुझाउने बाटो हो, लिनैपर्यो नि ।’
‘क्षतिपूर्ति कम छ, जनावर आफैं मरे जेल पुग्नुपर्छ’
माडी, कृष्णनगरका कुलबहादुर रानाभाटले आफ्नो छिमेकीले वन्यजन्तु मर्दा अनाहकमा पाएको दु:खबारे सुनाए । उनका अनुसार केही समयअघि एउटा बँदेल आएर छिमेकीको बारीमा मृत भेटियो । त्यसपछि अनाहकमा तीन महिना जति केरकारको लागि जेल बस्नुपर्यो । जबकी, जनावरले मान्छे मार्दा एकदमै न्यून क्षतिपूर्ति हुन्छ तर जनावर आफैं मारिदियो भने पनि अनावश्यक तनाव झेल्नुपर्ने गुनासो उनको छ ।
‘जनावर आएर हाम्रो मान्छे मार्यो भने हामीलाई खासै केही पाइँदैन । तर जनावर मर्यो भने मान्छे थुनिन्छ,’ रानाभाटले भने, ‘केही समयअघि बँदेलले बाली खान खोज्दा नियन्त्रण गर्न खोजेका छिमेकीले दुई–तीन महिना थुनिनुपर्यो । न बाली जोगिन्छ, जोगाउँन खोज्दा पनि फसिने डर छ । के पो गर्ने हो ?’

रानाभाटका अर्का छिमेकीको घर भत्किएको १० दिन पनि बितेको छैन । हात्ती आयो, घर भत्कायो, अनि फर्कियो जंगलतिर । नयाँ घर बनाउन अब पाँच महिना लाग्छ । गाउँमा यस्तो भएको यो पहिलोपटक होइन, अन्तिम पटक पनि होइन ।
रानााभाट आफैं पनि माछापालन र बाख्रापालन गर्छन् । त्यसमा पनि निकै समस्या झेल्नुपर्छ । आएर जनावरले सबै माडमुड परिदिन्छ । ‘हात्तीले आएर माछाको दाना खाइदिन्छ, केरा सखाप पारिदिन्छ,’ उनले भने, ‘करिब दुई बिगाहा क्षेत्रफलमा पोखरी खनेर माछा पालन गरेको छु । राम्रै भयो भने १५/२० लाख वार्षिक कारोबार हुन्छ । तर, पोखरीमा माछा हुर्काउन आफूलाई महिनौंसम्म मेहनत गर्नुपर्छ । हात्तीलाई एक रात भए पुग्छ । क्षतिपूर्ति दिए पनि क्षति भएबापत पाइँदैन ।’
‘सक्नेले रुङ्छन्, हामी बुढाबुढीले उभ्रेको खाने हो’
माडी–९ स्थित चेपाङ बस्तीकी ७० वर्षीया धानमाया तामाङले आफ्नो खेततिर औँल्याउँदै भनिन् – ‘अगाडि देखिएको सबै बँदेलले खाइदिन्छ । राति आएर सखाप पार्छ ।’
तरुलु, पिँडालु जे लगाएपनि बाँकी राख्दैन । छिमेकीहरुले छाप्रो बनाएर रुँघेजस्तो गर्न पनि उनी सक्दिनन् । सात छोरामध्ये एउटा बिरामी छ, अरु काठमाडौंमा छन् । काममा सक्रिय परिवारमा उनी एक्लै हुन् ।
‘यहाँ चेपाङ बस्ती छ । गरिब परिवार छन् । बाली जोगाउन सक्नेहरूले छाप्रो बनाएर रातभर रुङ्छन्, नसक्नेले हेरिरहन्छन्,’ धानमायाले भनिन्, ‘हामी त छाप्रो बनाउन पनि सक्दैनौं, बुढी मान्छे । बाली खाइदिन्छ, क्षतिपूर्ति पाइँदैन । रोडमुनिका बस्तीलाई दिन्छन् रे ! हाम्रो त त्यो पनि छैन ।’

धानमायाको परिवार ८ वर्ष पहिले यहाँ आइपुग्यो । तर, उनीहरू आफैं आएका होइनन् । राज्यतर्फबाट ल्याइएका हुन् । उनीहरुको बस्ती सुरुमा माडीकै कुसुम खोलामा थियो । तर, त्यहाँ निकुञ्ज प्रशासनले उनीहरुका टहरमा आगो लगायो, भत्कायो । त्यसपछि उनीहरु यहाँ स्थानान्तरण गरिए ।
यद्यपि, पुरानो बस्तीमा हात्ती–गैंडाले समेत दुख दिएपनि अहिले भने बँदेललाई मात्र झेलेर बसेको उनले बताइन् । ‘यहाँ गैँडाहरु नै चाहिँ आउँदैनन् । तर, बँदेलहरुले दु:ख दिन्छ । यसले अलिअलि लगाएका बाली पनि खाइदिन्छ । आफ्नो बाली नभएकाले अधिँया गर्छन्, यहाँ । आफ्नो कसैको केही छैन । तर, पनि दु:ख दिन्छ ।’
आवश्यक रेवा खोलावारी गतिलो तारबार
स्थानीयले समस्यामात्र सुनाएनन् । बरु वन्यजन्तुलाई पनि असर नगर्ने, समस्या पनि न्यूनिकरण गर्ने उपाय उनीहरुसँग छ । सावित्री भट्टराईका अनुसार निकुञ्ज र बस्तीबीचमा रहेको रेवा खोलामा गतिलो तारबार लगाइदिए समस्या न्यूनीकरण हुनेथियो । बलियो तारबार लाइदिए जनावर खेतबारीमा आउँदैन थियो ।
‘हाम्रो खेतको डिलबाट रेवा खोलाको किनारमा तारबार बलियोगरी लगाइदिए जनावर यता आउँदैन थियो होला नि ! यसबारे हामीले मध्यवर्ती सामूदायिक वनमा गएर पटकपटक भन्यौँ,’ देबु पहारीले थपिन्, ‘तर, हुँदैन भन्दैनन् । काम चाहिँ आजसम्म राम्रोसँग गर्न सकेका छैनन् ।’

अर्का स्थानीय कुलबहादुर रानाभाटले पनि मन्दिरजस्ता कुरा राष्ट्रिय प्राथमिकतामा पर्दा स्थानीय समस्या छायाँमा परेको अनुभव सुनाए ।
‘मन्दिरजस्ता अनुत्पादक क्षेत्रमा यत्रो बजेट खर्च हुन्छ । तर खेतको डिलमा राम्रो तारजाली लाउन सकिँदैन ?,’ रानाभाटको प्रश्न छ, ‘गाउँगाउँमा सिंहदरबार आयो भनिन्छ । बजेट पनि आइरहेको छ । तर जनताको खेत र घर जोगाउन लगानी छैन । त्यस्ता अनावश्यक खर्चभन्दा यस्ता जायज समस्यामा ध्यान दिए हुन्थ्यो भन्ने मात्र हाम्रो गुनासो हो ।’
‘बजेट नै कम आउँदा समस्या’
चितवन राष्टिय निकुञ्जका सूचना अधिकारी अभिनास थापाका अनुसार, मध्यवर्ती क्षेत्रको लागि आउने बजेट निकै घटेकाले पनि समस्या उत्पन्न भएको हो । जति बजेट पहिला आउँथ्यो, त्योभन्दा घट्दो क्रममा रहेकाले सोचेजस्तो काम हुनसकेको छैन ।
यद्यपि, माडी क्षेत्रमा तारजाली लगाउँदै नलगाइएको भने होइन । करिब तीनवर्ष अगाडि नै उक्त क्षेत्रमा एकपटक तारजाली लगाइए पनि स्थानीय आफैँ पनि सचेत नहुँदा दिगो हुन नसकेको थापाले बताए । स्थानीयले तारबारमा लुगा सुकाइँदिदाँ, अनि घाँसदाउरा गर्न जानेहरुले भत्काएर जाँदा पनि त्यो दिगो बन्न नसकेको उनको तर्क छ ।
‘समस्या हुँदै नभएको होइन । त्यहाँ बलियो तारजालीको आवश्यकता छ । बजेट घट्दो छ । अनि भएका तारबार पनि स्थानीयले संरक्षण नगरिदिँदा टिक्नसकेन,’ थापाले अनलाइनखबरसँग भने, ‘अर्को, त्यहाँ खहरे खोलाहरु पनि धेरै छ, त्यहाँबाट पनि जनवार बस्तीतिर भित्र छिर्छ । अब यसको दीर्घकालीन समाधानका लागि हामीले पहल गरिरहेका छौँ ।’

थापाका अनुसार, मध्यवर्ती क्षेत्रमा उपभोक्ता समिति बन्न नसक्दा पनि समस्या बढेको हो । उक्त क्षेत्रमा रहेको चारवटा उपभोक्ता समितिमध्ये जम्मा एकवटा मात्र हालसालै बनाइएको थियो । त्यसबाहेक तीनवटा उपभोक्ता समिति अझै बन्न सकेको छैन । ‘यस्ता समितिले निकुञ्ज र समुदायबीच पुलको काम गर्छ । त्यो नहुँदा पनि समन्वयको अभाव भइरहेको सत्य हो,’ उनले भने ।
राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनका रेन्जर ऋषिराम सुवेदीका अनुसार पनि सो क्षेत्रमा खहरे खोलाहरु धेरै रहेकाले त्यहाँका तारजाली वर्खामा भत्कँदा समस्या हुन्छ । हिउँदमा धानेपनि बर्खा लागेपछि खोलाले तारबार भत्काइँदिदाँ समस्या हुने उनले बताए ।
‘पहिला त खोलामा अन्यत्रजस्तो तारजाली लगाउनै मिल्दैन । लगाएको तारबार पनि बर्खा लगाएपछि भत्काइदिन्छ । भत्कने बित्तिकै स्थानीय वा सम्बन्धित सरोकारवालाले मर्मत गरिदिहाले क्षति कम हुन्थ्यो होला । त्यो नहुँदा समस्या भएको हो,’ सुवेदीले भने ।
प्रतिक्रिया 4