+
+
Shares
विचार :

नयाँ सरकार अघिल्तिर कर्मचारीतन्त्रको तगारो

समृद्धिको यात्रा सिंहदरबार दक्षिणढोका नजिक रहेको निजामती कर्मचारी ट्रेड युनियनको कार्यालय बन्द गर्न सके मात्र शुरु हुन्छ, हैन भने यो भाषणमा मात्र सीमित हुन्छ।

कृष्णप्रसाद पौडेल कृष्णप्रसाद पौडेल
२०८२ चैत १२ गते १७:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय स्वतन्त्र पार्टीका १८२ उम्मेदवार २७५ सिटका लागि भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी भएका छन्।
  • राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रको पुनर्संरचनाले मात्र नेपालको समृद्धि यात्रामा प्रगति सम्भव छ।
  • गुटतन्त्र अन्त्य गरी दलभित्र लोकतन्त्र बलियो बनाउनु र नीति निर्माणमा स्वार्थ समूहको प्रभाव रोक्नु आवश्यक छ।

यस पटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा अभूतपूर्व जनलहर देखियो। २७५ सिटका लागि भएको निर्वाचनमा रास्वपाका १८२ उम्मेदवार विजयी भए। घण्टी (रास्वपाको चुनाव चिह्न) मा भोटको जनलहर नेपाली राजनीतिको इतिहासमा कुनै अपवाद भने होइन, यद्यपि यसपटक फरक अपेक्षाहरूका साथ धेरैले एकै चिह्नमा मत दिएका हुन्।

हुनत विगत सात दशकमा यस्ता लहर पटक–पटक आएका घटनाहरू हाम्रो स्मृतिमा अझै ताजा छन्। यसपटक मतदाताहरूले रास्वपाको झोलामा धेरै मत दिए किनभने उनीहरू पुरानो दलका अकर्मण्यताका विरुद्ध नवयुवाले गरेको विद्रोहलाई निष्कर्षमा पुगेको देख्न चाहन्थे। राजनीति गर्ने राजनेताबाट समाजले सधैं अगुवाइको आश गर्छ। त्यसो नगर्नेलाई आवधिक निर्वाचनमा हराउँछ। यो लोकतन्त्रको सामान्य नियम हो। यो नियम समेत पालना नभएको देखेर आक्रोशित भएको नवयुवाले विद्रोहको पहिलो विगुल फुक्यो। निर्वाचनमा यही साझा आक्रोशमा आशा थपेर दिएको मतले यो परिणाम आयो।

अब दुईतिहाइ नजिकको सरकारले के गर्ला ? सबैको चासो छ। हाम्रो समाज विविध छ। सोही अनुसारका अपेक्षा छन्। यी अपेक्षालाई सम्बोधन गर्न राजनीतिक संस्कृति र दक्ष कर्मचारीतन्त्र मुख्य शर्त हो। विगतका राजनैतिक तथा प्रशासनिक नेतृत्व जन्माउने र जोगाइराख्ने संस्कृति सम्झनलायक छैनन्। यसअघि भएका बेथिति, कुशासन, भ्रष्टाचार, ठगी र अनियमितताका थुप्रोमा बसेर सुशासनको रटान लगाउन त सकिन्छ, तर समाज फेरिंदैन। नेपाली राजनीतिक रङ्गमञ्चको मार्मिक यथार्थ यही हो।

यो रङ्गमञ्च दशकौंदेखि मुख्यत: वंशीय तथा जहानियाँ शासनका प्रतिनिधि, भ्रष्टाचारको उर्वरतामा उदाउँदो मध्यम वर्ग, बिचौलिया र दलालहरूको कब्जामा छ। यी प्रतिनिधि पात्रको राजनैतिक संस्कृतिको चर्चा नगरी नेपालको राजनीति बुझ्न सकिंदैन। यो नबुझी यसलाई फेर्ने आँट गर्न कसरी सकिएला र ?

कुरा शुरु गरौं, बेथिति र भ्रष्टाचारलाई संस्थागत गर्ने राजनैतिक नेतृत्व जन्माउने संयन्त्रबाट। आजसम्मको नेपाली समाज अपवाद बाहेक आफ्नो मान्छे, चाकडी, भनसुन र चलखेलको चक्रव्यूहमा फसेको छ। यो संस्कृति नेपाली समाजको सबै तह र तप्कामा मौलाएको छ। सानो होस् वा ठूलो, थाहा पाउने गरी होस् वा लुकेर; यो चक्रमा नफसेको विरलै भेटिन्छ। यो कुराबाट कोही अछुतो छैन। दलहरूमा समेत यही संस्कृतिको बोलवाला छ। फलस्वरूप, दलहरूले रैती, नेता, कार्यकर्ता उत्पादन गर्ने कारखाना चलाएका छन्। यस्तो संस्कृति भत्काएर सामाजिक नैतिकताको राजनीतिक संस्कृति निर्माण गर्नुपर्नेछ।

दल मात्र हैन, गुट फेर्ने दौड तीव्र छ। सबैलाई हेक्का रहोस्, गुट–उपगुटका ह्याकुलाले पेलेर समाजको नेतृत्व गर्ने दल बन्दैन, बरु आ–आफ्नै बेसुरमा हराएको रमितेको जमात बन्छ।

दल मात्र हैन, गुट फेर्ने दौड तीव्र छ। सबैलाई हेक्का रहोस्, गुट–उपगुटका ह्याकुलाले पेलेर समाजको नेतृत्व गर्ने दल बन्दैन, बरु आ–आफ्नै बेसुरमा हराएको रमितेको जमात बन्छ। यो कुरा अब नयाँ दल र नेताले मात्र हैन कार्यकर्ताले ख्याल गर्न जरूरी छ, किनकि गुटका मतियारको आरोप नेताहरूले हैन कार्यकर्ताले खेप्ने गरेका छन्। तसर्थ समय छँदै यो आरोपबाट मुक्त हुँदै आ–आफ्ना दलभित्र लोकतन्त्रको बीउ रोप्न नसक्ने हो भने नयाँ दलहरूले बाँडेको समृद्धिको सपना तुहिनेछ।

अहिले राजनीतिको मियोमा मध्यम वर्ग हावी छ। यही वर्गको वृत्ति–विकास मात्र गरेर उन्नतिका सरदर मापक त फेरिएलान् तर आम मानिसको जीवन फेरिंदैन। यो सबै समाजमा छर्लङ्गै देखिएको छ। बिचौलिया मध्यम वर्ग सत्ताको गहना हो। यो छेपारो जस्तै रङ फेरिरहन्छ। यो मुख्यत: नेपालको राजनीतिले मलजल गरेर हुर्काएको सत्ताधारी बौद्धिक वर्ग हो जुन राजनैतिक चाकडीमा लिप्त भइरहन्छ। यो सुदखोर राजनैतिक गुट बनाउन सधैं सक्रिय भइरहन्छ। यो भ्रष्ट कर्मचारीतन्त्रको तालमेलमा अपवित्र क्रियाकलापमा मात्र संलग्न हुन्छ।

पारिश्रमिकले घरबार चलाउनसम्म नसक्ने कनिष्ठ कर्मचारीलाई ढाल बनाएर भ्रष्टाचारमा लिप्त कर्मचारीतन्त्रका मुखिया राजनीतिलाई भ्रष्ट बनाउने र यसैबाट फाइदा उठाउने काइदाका सूत्रधार हुन्। यो मुखिया संस्कृति जोगाउने कर्मचारीतन्त्रको पुनर्संरचना गर्न राजनैतिक नेतृत्वले विगतमा खुट्टा कमाएर नै अहिलेको बेथिति मौलाएको हो। यही कमजोरीको जगमा टेकेर कर्मचारीतन्त्र आफ्नो भाग खोज्दै राजनीतिक नेतृत्वलाई धक्याउने गरेको छ।

बदलिएको परिवेशमा नयाँ ढंगले राजनीतिलाई परिभाषित र परिमार्जन गर्दै समृद्धिको यात्रामा अघि बढ्नुको विकल्प छैन। आफू नफेरिने अनि समाज र देश फेरिएन भनेर रोइलो गर्नु बकवास मात्र हो।

भुक्तभोगी भन्छन्– निरंकुश राजनैतिक व्यवस्था परिवर्तन गरियो तर राणाहरूले रोपेको र सामन्तहरूले हुर्काएको निजामती नामको विषवृक्ष जरैदेखि उखेलेर फाल्न सकिएन। यो नै अहिले हाम्रो समृद्ध हुने सपनाको सबैभन्दा ठूलो तगारो हो। अबको समृद्धिको यात्रा सिंहदरबार दक्षिणढोका नजिक रहेको निजामती कर्मचारी ट्रेड युनियनको कार्यालय बन्द गर्न सके मात्र शुरु हुन्छ, हैन भने यो भाषणमा मात्र सीमित रहन्छ।

नीति भएन भने समाजमा थिति बस्दैन र सामाजिक सम्बन्ध खल्बलिन्छ। यही थिति बसाउन राजनीतिक नेतृत्वलाई सघाउनुपर्ने कर्मचारीतन्त्र आफ्नै स्वार्थको घेराबन्दीमा परेर तमासे भएको छ। यही कारण हामी नेपालीको उन्नत हुने सपना दशकौंदेखि तुहिंदै आएको हो। यसबारे मुख खोलेर बोल्न कोही आँट गर्दैनन्। यसमा मुख्य जवाफदेही लिनुपर्ने राजनीतिको शीर्ष नेतृत्व यसबारेमा चुँसम्म बोल्दैन किनकि थिति बसे अहिलेसम्म बेथितिको धमिलो पानीमा स्वार्थका माछा मारेर गुजारा चलाएर बनाएको शीर्ष विरासत गर्ल्यामगुर्लुम ढल्छ भन्ने डर छ। यो डर अबको नेतृत्वमा हुँदैन भन्ने स्पष्ट सन्देश अहिलेको सरकारले पहिलो दिनदेखि नै दिन सक्नुपर्छ। नत्र रात रहे अग्राख पलाउँछ भन्ने देखे–भोगेर आएको नेपाली समाजको उत्साह मर्छ।

यो उत्साह जगाइराख्ने काम जनप्रतिनिधिको हो। आजसम्म हाम्रो देशको विडम्बना के छ भने, विधि बनाउने मुख्य कर्ता सांसदहरू सबैभन्दा बढी उपेक्षित छन्। यिनले औपचारिकताका लागि ऐन कानूनमा स्वीकृतिको मुन्टो हल्लाउँछन् र यत्तिका भरमा नीतिनिर्माण गर्ने सांसदको फुली लगाउँछन्। यिनलाई निकम्मा बनाउने खलनायक कर्मचारीतन्त्रको नेतृत्व बन्ने गरेको छ। यो समूह या त आफैं या अरूको इशारामा अर्कैको कमाई खान पल्केको बिचौलियाबाट निर्देशित छ। अहिले यसको नेतृत्व सधैं आफूलाई मात्र केन्द्रमा राख्ने दलाल मध्यमवर्गीय राजनैतिक नेतृत्व र पश्चिमी ज्ञानशालामा दीक्षित बौद्धिक बिचौलियाको गठजोडले गर्छ। माथिका कुरा सुन्दा आरोप जस्तो लागे पनि हाम्रो समाजको आजको तितो यथार्थ यही हो। तर यस्तै कारणले सम्भावित दुर्घटनाबाट जोगिन र जोगाउन सार्थक पहल आवश्यक छ। मुख्यत: दलहरूको आन्तरिक गुटतन्त्र, राजनीतिक तथा प्रशासनिक नेतृत्वको लुटतन्त्र र नागरिक समाजको निरीहपन नफेरी यो मुलुक फेरिंदैन।

बदलिएको परिवेशमा नयाँ ढंगले राजनीतिलाई परिभाषित र परिमार्जन गर्दै समृद्धिको यात्रामा अघि बढनुको विकल्प छैन। आफू, समाज र देश बनाउने हो भने अब फेरिने पालो हामी सबैको हो। आफू नफेरिने अनि समाज र देश फेरिएन भनेर रोइलो गर्नु बकवास मात्र हो। थिति बसाल्न र नीतिगत भ्रष्टाचार रोक्न निम्न कदम तत्काल चालिनुपर्छ:

पहिलो, अहिलेकै व्यवस्थामा राजनैतिक पार्टीभित्र लोकतन्त्र बलियो नभएसम्म लोकराजको कल्पना सोम शर्माको सातु जस्तै हो। अरूलाई औंला ठड्याउनेले बेला–बेला आफ्नो औकात ऐनामा हेर्न सक्नुपर्छ। गुटतन्त्र अहिलेका सबै पार्टीको क्यान्सर हो। यसको अन्त्य गरेर नागरिक प्रतिनिधिको समूह दल र यसको प्रतिनिधि नेता हो भन्ने दृष्टिकोणको आधारमा दल चलाउनुपर्छ। यो गर्न चुकेका दिन सबै भ्रमको विरासत ढल्छ।

नेपालको समृद्धि यात्राको गाडी तब मात्र गुड्नेछ, जब यसको इञ्जिन अर्थात् प्रशासन चुस्त र दुरुस्त हुनेछ र चालक अनुशासित र दृढ हुनेछन्।

दोस्रो, स्थायी सरकार भनिने कर्मचारीतन्त्रको पुनर्संरचना विना यसले आजको समाजलाई सेवा दिन सक्दैन। दल र नेताको चाकरीमा रमाएको कर्मचारीतन्त्रको नेतृत्व नै विगतका सबै सामाजिक अपराधको मूल हो। यसले विवेक गुमाएसँगै शुरु भएको बेथितिको यात्रा नै आजको संकट हो। यसलाई निकम्मा बनाउन उपयोग गरिएका सबै पुराना संयन्त्र खारेज गरिनुपर्छ। नयाँ परिवेशमा यसको पुनर्संरचना गर्न नसके चुस्त र दुरुस्त सेवा हवाई कल्पना सावित हुन्छ।

तेस्रो, नीति निर्माणमा स्वार्थ समूहको प्रभाव पार्ने कदमलाई कानूनी रूपमै निरुत्साहित गर्नुपर्छ। तर, यो अहिले निकै चुनौतीपूर्ण छ किनभने समाजको नेतृत्वमा रहेको मध्यम वर्गले अनुशासित उद्यमी बन्ने चेतना उन्नत नबनाएसम्म बिचौलिया चलखेल रोकिंदैन। दलाल सम्पत्तिको प्राविधिक पारदर्शितासँगै नैतिक नेतृत्व विकास गर्ने दलका विधि–विधानमा सँगसँगै जोड दिनुपर्छ। यो कार्य सांसदहरूको सामाजिक कार्यकारी भूमिकालाई प्रभावकारी बनाउन सकेमात्र सम्भव हुन्छ। विधि बनाउने थलो संसद्लाई चुस्त बनाएर जन–प्रतिनिधिलाई उत्तरदायी बनाउनुपर्छ।

नेपालको समृद्धि यात्रा सफल बनाउन यो पत्रु हुँदै गएको संयन्त्रलाई नफेरी सुखै छैन। नागरिकले तिरेको करको सदुपयोग होस् र कर्मचारीहरू साँचो अर्थमा राष्ट्रसेवक बनुन्। हामी यस्तो दिनको प्रतीक्षामा छौं। यो त्यतिबेला मात्र सम्भव छ जतिबेला राज्य संचालनका अगुवा राजनीतिक दल र तिनका नेता अब्बल दर्जाका नागरिक हुन्छन्। अन्त्यमा, नेपालको समृद्धि यात्राको गाडी तब मात्र गुड्नेछ, जब यसको इञ्जिन अर्थात् प्रशासन चुस्त र दुरुस्त हुनेछ र अनुभवी चालक अनुशासित र दृढ हुन्छन्। यो सबै सच्याउने हामी सबैको मति सच्चिए मात्र हाम्रो उन्नति यात्रा शुरु हुन्छ। पर्खौं, यो दिन चाँडै आउनेछ।

(कृषिविज्ञ पौडेल खानाका लागि खेतीपातीका अभियन्ता हुन् ।)

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
कृष्णप्रसाद पौडेल

कृषिविज्ञ पौडेल खानाका लागि खेतीपातीका अभियन्ता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?