News Summary
Generated by OK AI. Editorially reviewed.- चैत १३ गतेका लागि तय भएको एन्फा निर्वाचन स्थगित गरेको छ ।
- एन्फा निर्वाचन समितिले बिहीबार सूचना जारी गर्दै अर्को सुचना नआएसम्मका लागि स्थगित गरेको जनाएको छ ।
- राष्ट्रिय खेलकुद परिषद्ले आफ्नो निर्देशन पालना नगरेको भन्दै बुधबार एन्फालाई ३ महिनाका लागि निलम्बन गरेको थियो ।
१२ चैत, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को निलम्बनमा परेपछि अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचन स्थगित भएको छ ।
एन्फा निर्वाचन समितिले एक सूचना जारी गर्दै चैत १३ शुक्रबारका लागि तय गरिएको एन्फा निर्वाचन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको हो ।
‘अखिल नेपाल फुटबल संघ (एन्फा) लाई राष्ट्रिय खेलकुद परिषद्ले मिति २०८२।१२।११ गते तीन महिना सम्मका लागि निलम्बन गरेको भन्ने पत्र एन्फा सचिवालय मार्फत यस निर्वाचन समितिलाई मिति २०८२।१२।१२ गते प्राप्त भएकाले मिति २०८२।१२।१३ गतेका लागि तय गरिएको मतदान कार्यक्रम अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ’ सूचनामा भनिएको छ ।
एन्फा निर्वाचन तेस्रो पटक स्थगित भएको हो । एन्फा कार्यसमिति बैठकले पहिलो पटक माघ २८ गते झापामा निर्वाचन गर्ने निर्णय गरेको थियो । तर त्यसको विपक्षमा उच्च अदालत पाटनमा मुद्दा दाय भएपछि अदालतले अल्पाकलिन आदेश जारी गर्दा स्थगित भएको थियो । यस्तै दोस्रो पटक फागुन २७ गतेका लागि तय भएको एन्फा निर्वाचन प्रतिनिधि सभा निर्वाचनको आचारसंहिता लागु भएका कारण निर्वाचन आयोगको पत्रपछि स्थगित भएको थियो ।
पटकपटक दिएको निर्देशन पालना नगरेपछि राखेप कार्यकारी समितिको बुधबारको बैठकले खेलकुद विकास ऐन २०७७ को दफा २९ को २ लाई टेकेर एन्फा नेतृत्वमाथि ३ महिनासम्मका लागि निलम्बन गरेको थियो ।
एन्फा निलम्बनमा परेपछि अध्यक्षका अर्का उम्मेदवार कुमार केसी पक्षले निर्वाचनमा सहभागी नहुने घोषणा समेत गरेका थिए ।
बुधबारसम्म निर्वाचन गरिछाड्ने हठसहित अगाडि बढेको एन्फाले आज भने निर्वाचन रोक्ने निर्णय गरेको हो ।
अहिलेको एन्फा नेतृत्वले आफू पुनः दोहोरिन कार्यकाल सकिनुभन्दा ३ महिनाअघि नै विधानमै नभएको अर्ली इलेक्सन गर्न खोजेपछि विवाद सिर्जना भएको थियो ।
एन्फा निर्वाचनका लागि अघि बढेपछि राखेपले स्वीकृतीबिना निर्वाचन नगर्न पटकपटक पत्र काटेको थियो । तर, एन्फाले निर्देशन अवज्ञा गर्दै चैत १३ गते नै जसरी पनि निर्वाचन गर्ने अडान राखेपछि राखेपले निलम्बन गरेको थियो ।
प्रतिक्रिया 4