News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखक पक्राउ परेपछि काठमाडौं प्रहरी परिसरले सुरक्षा चुनौतीलाई ध्यानमा राखेर कडा सुरक्षा व्यवस्था गरेको छ।
- गत भदौमा भएको जनेजी आन्दोलनमा मृत्यु भएका ७७ जनाको घटनाको छानबिन गर्न बनेको आयोगले ओली र लेखकलाई अनुसन्धानका लागि सिफारिस गरेको प्रतिवेदन कार्यान्वयनका लागि प्रहरी परिसर काठमाडौंमा आएको छ।
- ओली र लेखकको म्याद थप गर्ने तयारी भइरहेको छ र बयानका लागि अनुसन्धान प्रक्रिया सुरु गर्ने तयारी प्रहरीले गरेको छ।
१५ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि हुनसक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राखेर काम जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी रमेश थापाले निर्देशन दिएका छन् ।
आइतबार फिल्डमा खटिएका सुरक्षाकर्मीलाई माइतीघर मण्डलास्थित सडकमै एसएसपी थापाले निर्देशन दिएका हुन् । आफू मातहतका सुरक्षाकर्मीलाई निर्देशन दिँदै एसएसपी थापाले सुरक्षामा कुनै कमजोरी नगर्ने र हिंसात्मक प्रदर्शन गर्नेलाई कानूनी दायरामा ल्याउन निर्देशन दिए ।
ओली लेखक पक्राउ परेपछि एमाले कार्यकर्ताहरुले शनिबार माइतीघर क्षेत्रमा प्रर्दशन गरेका थिए । आइतबार पनि उनीहरुले देशभरका जिल्ला प्रशासन कार्यालयलाई पत्र बुझाउँदै प्रदर्शन गर्ने तयारी गरेका छन् ।
जसअनुसार काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ । गत २३ र २४ भदौमा भएको जनेजी आन्दोलनमा ७७ जनाको मृत्यु भएको थियो । पहिलो दिन सुरक्षाकर्मीको गोली लागेर काठमाडौंमा १९ जना र बाहिर जिल्लामा २ जना गरी २१ जनाको ज्यान गएको थियो ।
यो घटनाको छानबिन गर्न बनेको पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखकसहितका व्यक्तिलाई ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न सिफारिस गरेको थियो ।
यो प्रतिवेदन शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले कार्यान्वयन गर्ने निर्णय गरेको थियो । यो निर्णयसँगै शनिबार ओली, लेखक पक्राउ परेका थिए ।

अहिले यो प्रतिवेदन कार्यान्वयका लागि परिसर काठमाडौं आइसकेको एसएसपी थापाले बताए । ‘प्रतिवेदन आइसकेको छ । अब अनुसन्धान र डकुमेन्टेशनका काम हुन्छ’ एसएसपी थापाले भने ।
आन्दोलनमा व्यक्ति मारिएको घटनास्थल काठमाडौं रहेकाले यसको सबै काम अब जिल्ला प्रहरी परिसर काठमाडौंले नै गर्नुपर्ने हुन्छ । सोही अनुसार मुद्दा फाँटका प्रहरी कर्मचारी परिचालन गरेर कामलाई परिसरले तिव्रता दिएको छ ।
परिसरकै मुद्दा फाँटका डीएसपी राजु अधिकारीले हस्ताक्षर गरेको उजुरी पक्राउ पुर्जी ओलीलाई थमाइएको थियो भने अधिकारी आफैं पनि ओली निवास बालकोट पुगेका थिए ।
ओलीलाई पक्राउ गर्ने बेला भने एसएसपी थापा यता सुरक्षा सुरक्षा समितिको बैठक राखिएका सुरक्षा समितिकै सुरक्षा रणनीतिबारे छलफलमा सक्रिय थिए ।
परिसर काठमाडौंको टोली, काठमाडौं उपयत्का अपराध अनुसन्धान कार्यालयको टोली, जिल्ला प्रहरी परिसर भक्तपुरको टोली, जिल्ला प्रहरी परिसर ललितपुरको समेत गरी करिब ३ सय प्रहरी ओली, लेखकलाई पक्राउ गर्ने बेला गुण्डु र कटुन्जे पुगेका थिए ।
पक्राउ परेका ओली, लेखक दुबैको आज आइतबार म्याद थप गर्ने तयारी भइरहेको छ । म्याद थपका लागि लेखकलाई अदालत उपस्थित गराइएको छ भने ओलीलाई भर्चुअल माध्यमबाट उपस्थित गराउने बताइएको छ ।
म्याद थपको काम सकिएपछि बयानको काम सुरु गर्ने परिसर काठमाडौंको तयारी छ ।
प्रतिक्रिया 4