News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको संस्थापनइतर समूहले समानान्तर गतिविधि अघि बढाएर पार्टीमा आन्तरिक किचलो बल्झाएको छ।
- पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेकै दिनदेखि इतर समूहले पार्टीको आधिकारिक शैलीमा गतिविधि सुरु गरेको छ।
- कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाएका छन्।
१६ चैत, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले समानान्तर गतिविधि अघि बढाएको छ । इतर समूहले समानान्तर गतिविधि अघि बढाएपछि चुनावताका ठीकठाकै देखिएको कांग्रेसमा आन्तरिक किचलो बल्झिएको छ ।
पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि इतर समूहका तर्फबाट नेता पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेपछि कांग्रेसको विवाद फेरि सतहमा देखिएको छ ।
नेता लेखक पक्राउ प्रकरणबारे संस्थापन र इतर समूहको ‘इस्यु’ (मुद्दा) हेर्ने दृष्टिकोण पनि फरक–फरक देखिएको छ । यो प्रकरणमा इतर समूह ‘गरम’ र संस्थापन ‘नरम’ ढंगले प्रस्तुत भएको छ ।
पूर्वगृहमन्त्री लेखक पक्राउ परेकै दिनबाट इतर समूह आधिकारिक पार्टीको शैलीमा उत्रिएको छ । लेखक पक्राउ परेपछि राजनीतिक वृत्तमा दुईवटा कांग्रेस प्रकट भएका छन् ।
विशेष महाधिवेशनबाट चयन भएको नेतृत्वलाई निर्वाचन आयोगले आधिकारिकता दिएपछि खड्काले पार्टीकै लेटर प्याड प्रयोग गरेर कार्यवाहक सभापतिको हैसियतमा धारणा सार्वजनिक गरेका थिए ।
उता कांग्रेसले पार्टीका नेता लेखकको नामसमेत उल्लेख नगरी विज्ञप्ति जारी गरेको थियो । कांग्रेसले सरकारको पछिल्लो कदमलाई ‘सेलेक्टिभ’ त भनेको थियो । तर, सरकारको ‘सेलेक्टिभ’ कदमविरूद्ध कुनै आन्दोलनका कार्यक्रमहरू तय नगरिने पनि प्रष्ट्याएको थियो ।
तर, विशेष महाधिवेशनबाट गगन थापा सभापति चयन भएपछि पहिलोपटक कार्यवाहक सभापतिको नाममा खड्काले विज्ञप्ति जारी गरेका थिए । संस्थापन पक्ष लेखक पक्राउ प्रकरणमा नरम देखिए पनि उनले जारी गरेको विज्ञप्ति भने सरकारको कदमप्रति आक्रामक थियो ।
खड्काले आगामी दिनमा आइपर्ने जुनसुकै परिस्थितिको राजनीतिक रूपमा सामना गर्न पार्टीका नेता–कार्यकर्ताहरूलाई तयार रहन अपिल नै गरेका थिए । विज्ञप्तिमा लेखक पक्राउ प्रकरणको संवैधानिक, कानुनी र राजनीतिकरूपमा प्रतिवाद गर्ने निर्णय गरिएको उल्लेख थियो ।
विशेषबाट चयन भएको नेतृत्वले निर्वाचन आयोगबाट आधिकारिकता पाएपछि सर्वोच्च अदालत गएको संस्थापन इतर समूह आदेशको टुंगो नलाग्दै समानान्तर रूपमा अघि बढेको छ ।
समानान्तर गतिविधिअन्तर्गत नै इतर समूहले सोमबार पार्टीका तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभाका नवनिर्वाचित सांसदहरूका लागि बधाई तथा शुभकामना कार्यक्रम गरेको छ ।

कार्यक्रमलाई निवर्तमान कार्यवाहक सभापति खड्का र नेता डा. शेखर कोइरालाले सम्बोधन गरेका थिए । कार्यक्रममा निवर्तमान सभापति शेरबहादुर देउवा र नेता कोइरालानिकट शीर्ष नेता सहभागी थिए ।
निर्वाचनमा कांग्रेसबाट १८ जना प्रत्यक्ष र २० जना समानुपातिक निर्वाचन प्रणालीअनुसार प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् । यस्तै राष्ट्रियसभामा कांग्रेसबाट नौ जना नवनिर्वाचित सांसदहरू छन् ।
तीमध्ये प्रतिनिधिसभाका १० र राष्ट्रियसभाका ६ गरी १६ जना नवनिर्वाचित सांसदहरू बधाई थाप्न कार्यक्रम आयोजना गरिएको धुम्बाराहीको होटल स्मार्ट पुगेका थिए । कार्यक्रममा राष्ट्रियसभामा रहेका पुराना सांसदहरूको भने उल्लेख्य सहभागिता रहेको थियो ।
कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरेपछि कांग्रेसले खड्काको क्रियाशील सदस्यता नवीकरणबारे छलफल गरेको थियो । कांग्रेसका कतिपय नेता समानान्तर गतिविधि जारी राखे उनलाई कारबाही हुनसक्ने बताइरहेका छन् ।
तर, नेता खड्काले कांग्रेस नेतृत्वलाई ‘च्यालेन्ज’ गरेर कार्यवाहक सभापतिको हैसियतमा १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरेका छन् ।
खड्कानिकट स्रोतले धुम्बाराहीको होटल स्मार्टमा मंगलबार बिहान ११ बजेका लागि बैठक बोलाइएको पुष्टि गरेको छ । स्रोतका अनुसार बैठक बुधबारसम्म चल्ने छ । १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य गुरू बरालले तत्कालीन केन्द्रीय कार्यसमिति बैठकका लागि आफूलाई खबर आएको बताएका छन् ।

यसअघि गत शनिबार खड्काले विशेष महाधिवेशनलाई स्वीकार नगरेका पार्टीका शीर्ष नेतालाई बोलाएर ठमेलमा छलफल गरेका थिए । उक्त छलफलपछि उनी तत्कालीन केन्द्रीय कार्यसमितिको बैठक बोलाउन अघि सरेका हुन् ।
निवर्तमान कार्यवाहक सभापति खड्काले तत्कालीन केन्द्रीय कार्यसमिति बैठकपछि जिल्ला सभापतिहरूको पनि भेला बोलाएका छन् । उनले विशेष महाधिवेशनको पक्षमा नउभिएका जिल्ला सभापतिलाई भेलाका लागि काठमाडौं बोलाएका हुन् ।
खड्कानिकट स्रोतले जिल्ला सभापतिहरूको भेला १९ चैतमा गरिने तय भएको अनलाइनखबरलाई जानकारी दिए । भेलामा विशेष महाधिवेशन स्वीकार नगरेका प्रदेश कार्यसमिति सभापतिहरूलाई पनि बोलाइएको छ ।
गत पुस अन्तिममा सम्पन्न विशेष महाधिवेशनमा कोशी प्रदेश सभापति उद्धव थापा, मधेश प्रदेश सभापति कृष्ण यादव, बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ, कर्णाली प्रदेश सभापति ललितजंग शाही र सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर सहभागी भएका थिएनन् ।
उनीहरू मध्ये थापा, यादव र बानियाँ प्रतिनिधिसभा निर्वाचनपछि बसेको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठकमा सहभागी भएका थिए । मधेश प्रदेका मुख्यमन्त्रीसमेत रहेका यादव र बागमती प्रदेशका मुख्यमन्त्री बानियाँ निर्वाचनपछिको दोस्रो केन्द्रीय कार्यसमिति बैठकमा पनि उपस्थिति थिए ।

यसबीच खड्काले निवर्तमान पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक र जिल्ला सभापतिहरूको भेला आह्वान गरेपछि कांग्रेस सभापति थापाले पार्टीमा छलफल गरेका छन् । सोमबार सानेपामा उनले पदाधिकारीहरूसँग पार्टीमा चुलिँदै गएको पछिल्लो विवादबारे छलफल गरेका हुन् ।
सभापति थापाले पार्टीमा भइरहेको समानान्तर गतिविधिबारे छलफल गरेको बैठकमा सहभागी एक पदाधिकारीले पुष्टि गरेका छन् । ‘पार्टीमा अवैधानिक गतिविधि भइरहेका छन् । यसबारेमा छलफल भयो,’ ती पदाधिकारीले भने, ‘यो अवैधानिक हो भन्ने हाम्रो निष्कर्ष छ ।’
कांग्रेसले इतर समूहले बोलाएको बैठक सम्पन्न हुने दिन पारेर केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ । कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार १८ चैत्र (बुधबार) दिउँसो १ बजे सानेपामा अनुशासन समितिको बैठक बस्ने छ ।
केन्द्रीय अनुशासन समितिको बैठकका एजेन्डा सार्वजनिक नगरिएपनि कांग्रेसवृत्तमा विधानविपरित गतिविधिमा लागेका नेतहरू माथि कारबाहीको डन्डा चल्नसक्ने अनुमान भइरहेको छ ।
तर, खड्का भने अदालतको अन्तिम फैसला नहुँदासम्म आफू कार्यवाहक सभापति भएको दाबी गरिरहेका छन् । निर्वाचन आयोगको निर्णयलाई चुनौती दिँदै कार्यवाहक सभापतिको हैसियतमा आफू सर्वोच्च गएको र फैसला आइनसक्दासम्म आफू कार्यवाहक सभापतिमा यथावत् रहेको दाबी खड्काको छ ।
प्रतिक्रिया 4