News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभाको पहिलो बैठक चैत १९ गते बस्नेछ र सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाइनेछ।
- सभामुख र उपसभामुखको निर्वाचन पहिलो बैठक बसेको १५ दिनभित्र सम्पन्न हुनुपर्ने व्यवस्था छ।
- सभामुख र उपसभामुख फरक दल र फरक लिंगका व्यक्ति हुनुपर्ने प्रावधान छ भने एकल उम्मेदवारीमा एउटै दलको पनि हुन सक्नेछ।
१७ चैत, काठमाडौं । प्रतिनिधिसभाको पहिलो बैठकबाट सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाइने भएको छ । पहिलो बैठक यही चैत १९ गते बस्दैछ ।
संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीका अनुसार पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन भइसक्नुपर्ने व्यवस्था छ ।
यसअनुसार सभामुखको निर्वाचन प्रक्रिया अगाडि बढाउनेबारे छलफल चलिरहेको छ । प्रतिनिधिसभा नियमावलीको नियम ७ मा सभामुखको निर्वाचनसम्बन्धी व्यवस्था छ ।
जसअनुसार प्रतिनिधिसभाको निर्वाचन पश्चात् हुने सभामुखको निर्वाचन ज्येष्ठ सदस्यले तोकेको दिन र समयमा हुनेछ र त्यसको सूचना महासचिव वा निजको अनुपस्थितिमा सचिवले प्रकाशन गर्नेछ ।
प्रकाशित कार्यक्रममा निर्धारित समयभित्र कुनै सदस्यले कुनै अर्को सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको सूचना महासचिव वा निजको अनुपस्थितिमा सचिवलाई दिनु पर्नेछ ।
यस्तो प्रस्तावको सूचना प्रस्तावक सदस्यले बैठकमा प्रस्तुत गरेपछि बढीमा तीन जना समर्थक सदस्यहरूले समर्थन गर्न सक्नेछन् । त्यस्तो प्रस्तावको एक मात्र सूचना प्राप्त भएमा समर्थक सदस्यले बोलिसकेपछि अध्यक्षता गर्ने व्यक्तिले प्रस्तावित सदस्य सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछ ।
सभामुसखमा एकभन्दा बढीको उम्मेदवारी परेको अवस्थामा दर्ताक्रमानुसार प्रस्तावक सदस्यले प्रस्ताव प्रस्तुत गर्ने र समर्थक सदस्यले समर्थन गर्ने क्रम सकिएपछि सबै प्रस्तावमाथि संक्षिप्त छलफल हुनेछ र त्यसपछि अध्यक्षता गर्ने व्यक्तिले प्रस्तावलाई क्रमशः निर्णयार्थ प्रस्तुत गर्नेछन् ।
निर्णयार्थ प्रस्तुत भएकोमा जुन प्रस्ताव प्रतिनिधि सभामा तत्काल कायम रहेकोसम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट पारित हुन्छ सो प्रस्तावमा प्रस्तावित सदस्य सभामुख पदमा निर्वाचित भएको मानिनेछ ।
प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को १८२ सिट रहेको छ । यसबाहेक प्रतिनिधिसभामा नेपाली कांग्रेस ३८, नेकपा एमाले २५, नेपाली कम्युनिस्ट पार्टी १७, श्रम संस्कृति पार्टी ७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ५ र एक जना स्वतन्त्र सांसद रहेका छन् ।
यो संसदीय अंकगणितमा रास्वपाले सभामुख लिनेछ । रास्वपाभित्र उपसभापति डिपी अर्याललाई सभामुख बनाउनेगरी छलफल चलेको छ । सभामुखको निर्वाचनपछि उपसभामुखको निर्वाचन हुनेछ । उपसभामुखको निर्वाचन सभामुखले तोकेको दिन र समयमा हुने व्यवस्था छ ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सभामुख र उपसभामुखमा फरक दल र फरक लिंगको व्यक्ति हुनुपर्ने प्रावधान छ ।
‘सभामुख र उपसभामुखमा फरक दल र फरक लिंगको व्यक्ति हुनुपर्ने प्रावधान छ’ गिरी भन्छन्, ‘एकल उम्मेदवारी परेको अवस्थामा भने एउटै दलको पनि हुन सक्दछ ।’
रास्वपाका नेताहरूका अनुसार उपसभामुखबारे छलफल भएको छैन । प्रतिनिधिसभामा रास्वपासहित ६ दल छन् ।
निर्वाचित भइसकेपछि आफ्नो कार्यभार सम्हाल्नुअघि सभामुखले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिनु पर्ने हुन्छ । निर्वाचित भएपछि उपसभामुखले भने राष्ट्रपतिको उपस्थितिमा सभामुख समक्ष पद तथा गोपनीयताको शपथ लिनेछन् ।
सभामुख र उपसभामुख दुवै संवैधानिक परिषद्को सदस्य हुन्छन् । यसकारणले समेत उपसभामुखमा कुन दलबाट प्रतिनिधित्व हुन्छ भन्ने विषयलाई चासोका साथ हेर्ने गरिन्छ ।
संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तिका लागि सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा संवैधानिक परिषद् रहने व्यवस्था नेपालको संविधानको धारा २८४ मा छ । यसले प्रधानन्यायाधीश, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायतका निकायमा योग्य व्यक्तिहरूको सिफारिस गर्दछ ।
संवैधानिक परिषद्को सिफारिस संसदीय सुनुवाई समितिबाट अनुमोदन भएपछि सम्बन्धित पदमा नियुक्त हुनेछन् ।
प्रतिक्रिया 4