News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र विकास बोर्डको आयोजनामा महिला सशक्तीकरणका लागि ४ दिने महिला चलचित्र महोत्सव काठमाडौंमा सुरु भएको छ।
- महोत्सवमा महिला विषयमा आधारित चलचित्र 'कुमारी' र 'जीवन काँडाकी फूल' प्रदर्शन, अन्तरक्रिया, सम्मान र सांस्कृतिक कार्यक्रम समावेश छन्।
- बोर्ड अध्यक्ष दिनेश डीसीले महिलाको भूमिका सिर्जना, नेतृत्व र सामाजिक रूपान्तरणसम्म फैलिएको उल्लेख गर्दै समावेशी चलचित्र क्षेत्र बनाउन प्रतिबद्धता व्यक्त गरे।
काठमाडौं । चलचित्र विकास बोर्डको आयोजनामा ४ दिने महिला चलचित्र महोत्सव सुरु भएको छ । महिला सशक्तीकरण गर्ने उद्देश्यसहित आयोजित महोत्सव २० चैतसम्म चल्नेछ ।
महोत्सवमा महिला विषयमा आधारित चलचित्र ‘कुमारी’ र ‘जीवन काँडाकी फूल’ प्रदर्शन, अन्तरक्रिया, सम्मान तथा विशेष सांस्कृतिक कार्यक्रम समावेश गरिएका छन् ।
महोत्सवअन्तर्गत पहिलो दिन महिला चलचित्रकर्मी सशक्तिकरण समितिको परिचयात्मक भिडियो प्रदर्शन, चलचित्र ‘कुमारी’ का कलाकारसँग अन्तरक्रिया, तथा फिल्म ‘कुमारी प्रदर्शन, चलचित्रबारे अनुभव आदानप्रदान तथा कुमारी चलचित्र टिमको लाइभ पोट्र्रेट प्रस्तुति सम्पन्न भएको छ ।
कार्यक्रममा नेपालकी ‘प्रथम नायिका’ भुवन चन्दको प्रमुख आतिथ्यता थियो । साथै चैत्यदेवी सिंह, प्रेम बस्न्यात, विष्णुगोपाल श्रेष्ठ, लक्ष्मी श्रेष्ठ लगायतको उपस्थिति थियो । महोत्सवमा विभिन्न स्रष्टा, कलाकार, निर्देशक तथा सरोकारवालाबीच अनुभव आदानप्रदान र अन्तरक्रियाका कार्यक्रम पनि समावेश गरिएको छ ।

चलचित्र विकास बोर्डले यो महोत्सवमार्फत नेपाली चलचित्र क्षेत्रमा महिलाको योगदान, संघर्ष, सिर्जना र नेतृत्वलाई थप उजागर गर्दै महिला सशक्तीकरणको सन्देश प्रवाह गर्ने उद्देश्य राखेको जनाएको छ ।
कार्यक्रममा बोल्दै बोर्ड अध्यक्ष दिनेश डीसीले नेपाली चलचित्र क्षेत्रमा महिलाको भूमिका केवल अभिनय वा प्रस्तुतिमा सीमित नभई सिर्जना, नेतृत्व, व्यवस्थापन र सामाजिक रूपान्तरणसम्म फैलिएको उल्लेख गरे ।
उनले महिला चलचित्रकर्मीको क्षमता, योगदान र संघर्षलाई संस्थागत रूपमा सम्मान गर्दै यस्ता महोत्सवले नयाँ पुस्तालाई प्रेरणा दिने विश्वास व्यक्त गरे । साथै, चलचित्र क्षेत्रलाई अझ समावेशी, सशक्त र मर्यादित बनाउन बोर्ड निरन्तर प्रतिबद्ध रहेको बताए ।
प्रतिक्रिया 4