News Summary
Generated by OK AI. Editorially reviewed.- प्रतिनिधिसभाको पहिलो बैठक १८ चैतदेखि बस्दैछ र शीर्ष नेताहरूले सम्बोधन गर्नेछन्।
- पहिलो बैठकमा अधिवेशन आह्वान सूचना, सभामुख निर्वाचन तालिका, पुरानो नियमावली र तीन अध्यादेश टेबुल गरिनेछ।
- एमालेले रामबहादुर थापा बादललाई संसदीय दलको नेता चयन गरी उनले बैठकमा शुभकामना सम्बोधन गर्नेछन्।
१८ चैत, काठमाडौं । बिहीबाट प्रतिनिधिसभाको बैठक बस्दैछ । २१ फागुनको निर्वाचन पछाडिको पहिलो बैठकलाई शीर्ष नेताहरूले सम्बोधन समेत गर्दैछन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार, पहिलो बैठकमा तय भएको कार्यसूची अनुसार नै अगाडि बढ्ने आफूहरूको तयारी रहेको बताए ।
पहिलो बैठकको कार्यसूची तय गर्न बुधबार सिंहदरवारमा सर्वदलीय बैठक बसेको थियो । उक्त बैठकले पहिलो बैठकका लागि पाँच वटा कार्यसूची तय गरेको छ ।
जसअनुसार अधिवेशन आह्वान सम्बन्धी सूचना बाचन गरेर सुनाउने, शीर्ष नेताहरूले शुभकामना सम्बोधन गर्ने, सभामुखको निर्वाचन तालिका प्रस्तुत गर्ने, नयाँ नियमावली नबन्दासम्म पुरानैअनुसार काम गर्ने प्रस्ताव प्रस्तुत र तीन वटा अध्यादेश टेबुल गरिनेछ ।
नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले पनि पहिलो बैठक कार्यसूची अनुसार चल्ने बताए । ‘पहिलो बैठकमा शीर्ष नेताहरूको सम्बोधन हुन्छ । सभामुखको निर्वाचनको तालिका अगाडि बढ्छ’ नेता पुनले भने ।
नेकपा एमालका नेता गुरु बरालले पनि संसद्मा आफ्नो कुरा राख्ने बताए । ‘हामी संसदीय दलको नेतामार्फत आफ्नो बिचार प्रकट गर्छौं’ नेता बरालले अनलाइनखबरसँग भने ।
एमालेले बुधबार मात्रै रामबहादुर थापा बादललाई संसदीय दलको नेता चयन गरेको छ । उनै थापाले बिहीबारको प्रतिनिधिसभाको बैठकलाई शुभकामना सम्बोधन गर्नेछन् ।
कांग्रेसले संसद्मा प्रस्तुत हुने नीति तय गर्ने लगायतका विषयमा छलफल गर्न बिहीबार बिहान संसदीय दलको बैठक बोलाएको छ । कांग्रेस नेता मोहन आचार्यले संसदीय दलको निर्णय अनुसार अगाडि बढिने बताएका हुन् ।
‘भोलि बिहान साढे ११ बजे संसदीय बैठक बस्छ र त्यसले आगामी नीति तय गर्दछ’ नेता आचार्यले अनलाइनखबरसँग भने ।
श्रम संस्कृति पार्टी र राप्रपाले प्राप्त समयमा आफ्ना कुरा राख्ने बताएका छन् ।
प्रतिक्रिया 4