News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल बुद्धिचाल महासंघका कोषाध्यक्षको नेतृत्वमा खेलाडीहरू चीनको सांघाई र कजाकिस्तानको अल्माटीतर्फ प्रस्थान गरेका छन् ।
- अप्रिल ७ देखि १२ सम्म हुने सांघाई को–अपरेशन अर्गनाइजेसन इन्टरनेसनल टिम चेस प्रतियोगितामा नेपाली टोलीले प्रतिस्पर्धा गर्नेछ ।
- अप्रिल ६ देखि ११ सम्म हुने एसियन कन्टिनेन्टल स्टेज अफ द फिडे आईएससीएफ वर्ल्ड स्कुल टिम चेस प्रतियोगितामा पाँच नेपाली खेलाडी सहभागी हुनेछन् ।
२२ चैत, काठमाडौं । चीन र कजाकिस्तान चेस फेडेरेशनको निमन्त्रणामा नेपाली बुद्धिचाल खेलाडीहरू आइतबार सांघाई र अल्माटीतर्फ प्रस्थान गरेका छन् ।
नेपाल बुद्धिचाल महासंघका कोषाध्यक्षको नेतृत्वमा चीन जाने टोलीमा रापिडतर्फ उच्च वरियताका खेलाडी तथा नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैशवाल, दोलखाका आशिष फुँयाल र महिलातर्फ पहिलो वरियताकी कृतिसारा अधिकारी सहभागी छन् ।
उक्त टोलीले आगामी अप्रिल ७ देखि १२ तारिखसम्म हुने आठौं सांघाई को–अपरेशन अर्गनाइजेसन इन्टरनेसनल टिम चेस प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछ ।
यसैगरी, दोस्रो राष्ट्रिय विद्यालय चेस प्रतियोगिताका विजेता मार्भलस उच्च माध्यमिक विद्यालयका छात्र–छात्राहरू पनि कजाखस्तानको अल्माटीतर्फ प्रस्थान गरेका छन् ।
उनीहरूले अप्रिल ६ देखि ११ तारिखसम्म हुने ‘एसियन कन्टिनेन्टल स्टेज अफ द फिडे आईएससीएफ वर्ल्ड स्कुल टिम चेस प्रतियोगिता’मा सहभागिता जनाउनेछन् ।
उक्त अन्तर्राष्ट्रिय जुनियर स्पर्धामा नेपालबाट पाँच खेलाडी सहभागी हुनेछन् । टोलीमा निहाना श्रेष्ठ, सुहानी सिंह, कृष्टि रिजाल, वृजनन्ददास टमटा र आकर्षण कुँवर रहेका छन् ।
कन्टिनेन्टल प्रतियोगिताका लागि टोली व्यवस्थापकमा नेपाल बुद्धिचाल महासंघका रेटिङ अफिसर तथा अन्तर्राष्ट्रिय निर्णायक (आईए) निराजन प्रजापति रहेका छन् भने प्रशिक्षकको जिम्मेवारी रिजेन्द्र राजभण्डारीले सम्हाल्नेछन् ।
दुवै टोलीलाई आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जन र प्रवक्ता राजु ताम्राकारले विदाइ गर्दै सफलताको शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया 4