News Summary
Generated by OK AI. Editorially reviewed.- हेमन्त धामीले ६ ओभरमा १४ रन खर्चेर ७ विकेट लिएर पीएम कपमा सर्वश्रेष्ठ बलिङ प्रदर्शन गरे।
- बागमती प्रदेश ११.२ ओभरमा ४६ रनमै अलआउट भयो जुन पीएम कप इतिहासकै चौथो कम योगफल हो।
- सुदूरपश्चिमले ६ खेलमा पाँचौं जित निकाल्दै १० अंकसहित शीर्षस्थानमा पुगेको छ।
२२ चैत, काठमाडौं । हेमन्त धामीले कीर्तिमानी बलिङ प्रदर्शन गरेपछि पीएम कपमा सुदूरपश्चिम प्रदेशविरुद्ध बागमती प्रदेश ४६ रनमै अलआउट भएको छ ।
आइतबार जनकपुरमा भएको खेलमा सुदूरले दिएको २१० रनको लक्ष्य पछ्याएको बागमती ११.२ ओभरमा ४६ रनमै अलआउट भएको हो । शुभ कंसाकारले सर्वाधिक ३२ रन बनाए ।
अन्य ब्याटरले दोहोरो अंकमा रन छुनै सकेनन् । ५ खेलाडी शून्यमै आउट भएका थिए । हेमन्तले घातक बलिङ गर्दै ६ ओभरमा १४ रन मात्र दिएर ७ विकेट लिए । स्पीनर शेर मल्लले ३ विकेट लिए ।
हेमन्तको पीएम कप इतिहासकै उत्कृष्ट बलिङ हो । यसअघि नेपाल पुलिस क्लबका दीपेन्द्रसिंह ऐरीले १० ओभरमा २० रन दिएर ७ विकेट लिएका लिए । हेमन्तले कम रन खर्चिएर ७ विकेट लिएका हुन् ।
यस्तै बागमतीको यो पीएम कप इतिहासकै कम योगफल हो भने समग्र पीएम कप इतिहासकै चौथो कम योगफल हो । यसअघि बागमती गत संस्करणमा लुम्बिनी प्रदेशविरुद्ध ६७ रनमा पनि अलआउट भएको छ ।
खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरले ४२.१ ओभरमा अलआउट हुँदै २०९ रन बनाएको थियो । नारायण जोशीले सर्वाधिक ७५ रन बनाए भने दिपक बोहराले ४० अनि अभिषेक पालले ३९ रन बनाए ।
बागमतीका प्रतिश जीसी र सन्दीप लामिछानेले ४-४ विकेट लिए । रिजन ढकाल र सोनु देवकोटाले १-१ विकेट लिए ।
योसँगै ६ खेलमा पाँचौं जित निकालेको सुदूरपश्चिम १० अंकका साथ शीर्षस्थानमा उक्लिएको छ । सुदूरले शीर्ष ४ मा पर्ने सम्भावना बलियो बनाएको छ ।
प्रतिक्रिया 4