+
+
Shares

इस्लामावाद शान्तिवार्ता सुरु : सन् १९७९ पछि पहिलो पटक अमेरिका-इरानबीच उच्चस्तरीय संवाद

अलजजिराले सन् १९७९ को इरानी इस्लामिक क्रान्तिपछि वासिङ्गटन र तेहरानबीच हुनलागेको पहिलो उच्चस्तरीय वार्ता भनेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत २८ गते २०:४९

२८ चैत, काठमाडौं । पाकिस्तानको राजधानी इस्लामावादमा पाकिस्तानको मध्यस्थकर्तामा अमेरिका र इरानबीच शान्तिवार्ता सुरु भएको छ । अमेरिकी सञ्चारमाध्यम सीएनएनले इरानी सरकारी सञ्चारमाध्यमलाई उधृत गर्दै शनिबार दिउँसोदेखि तीनै देशका वार्ताकारहरू वार्तामा जुटेका छन् ।

वार्ता इस्लामावादस्थित पाँचतारे होटेल सेरेनामा भइरहेको छ । अर्को अन्तर्राष्ट्रिय सञ्चार संस्था अलजजिराले सन् १९७९ को इरानी इस्लामिक क्रान्तिपछि वासिङ्गटन र तेहरानबीच हुनलागेको पहिलो उच्चस्तरीय वार्ता भनेको छ ।

अमेरिकाका तर्फबाट वार्ताको संयोजन उपराष्ट्रपति जेडी भान्सले गरिरहेका छन् । उनीसँगै राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ जारेड कुसनरसहितको प्रतिनिधिमण्डल वार्तामा सहभागी छ ।

इरानका तर्फबाट त्यहाँको संसद्का सभामुख मोहम्मद बगेर गालीबाफले वार्ता टोलीको नेतृत्व गरेका छन् । जसमा विदेशमन्त्री अब्बास अरागची पनि सामेल छन् ।

वार्ता सुरु हुनुअघि पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले अमेरिकी र इरानी प्रतिनिधिमण्डलसँग छुट्टाछुट्टै संवाद गरेका थिए ।

पाकिस्तानको प्रधानमन्त्री कार्यालयले पनि बहुप्रतिक्षित शान्तिवार्ता सुरु भएको जानकारी दिएको छ ।

बीबीसीले भने पाकिस्तानको सूत्रलाई उधृत गर्दै दिउँसो ४ बजेबाट पार्ता सुरु भएको लेखेका छ । तर, वार्ताको प्रक्रिया के हो भन्ने स्पष्ट नभएको भनेको छ ।

पाकिस्तानी सरकारी स्रोतले बीबीसी उर्दुलाई दिएको जानकारीअनुसार पाकिस्तानी अधिकारीको प्रयास अमेरिका र इरानको प्रतिनिधिमण्डललाई प्रत्यक्ष वार्ता गराउनु रहेको भनेको छ ।

अहिलेसम्म पहिले दुवै देशबीच पाकिस्तानी अधिकारीका माध्यमबाट सन्देश आदान–प्रदान गर्ने र सकारात्मक भएमात्रै प्रत्यक्ष वार्तामा बस्ने तय भएको स्रोतको हवाला दिँदै बीबीसीले लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?