News Summary
Generated by OK AI. Editorially reviewed.- अखिल क्रान्तिकारीले मन्त्रीहरूको सम्पत्ति विवरण अपारदर्शी भएको भन्दै काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।
- प्रदर्शनकारीहरूले मन्त्रीहरूको सम्पत्तिको वास्तविक स्रोत खुलाउन र अवैध सम्पत्तिमाथि छानबिन गर्न सरकारमाथि दबाब सिर्जना गरेका छन्।
- सरकारलाई सम्पत्तिको वैधानिक स्रोत सार्वजनिक गर्न, स्वतन्त्र आयोग गठन गर्न र भ्रष्टाचार नियन्त्रणमा ठोस कदम चाल्न विद्यार्थी नेताहरूले माग गरेका छन्।
३० चैत, काठमाडौं । नेपाल सरकारका मन्त्रीहरूको हालै सार्वजनिक भएको सम्पत्ति विवरण अपारदर्शी भएको भन्दै प्रतिपक्ष दल नेपाली कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीले राजधानीमा विरोध प्रदर्शन गरेको छ ।
मन्त्रिपरिषद् सदस्यहरूको सम्पत्तिको वास्तविक स्रोत खुलाउन र अवैध देखिएका सम्पत्तिमाथि तत्काल छानबिन प्रक्रिया अगाडि बढाउन माग गर्दै संगठनले सरकारमाथि दबाब सिर्जना गरेको हो ।
माइतीघरमा प्लेकार्डसहित उत्रिएका विद्यार्थीले मन्त्रीहरूको विलासी जीवनशैली र सार्वजनिक गरिएको सम्पत्ति विवरणबीच मेल नखाएको दाबी गरेका छन् ।
प्रदर्शनकारीहरूले ‘सम्पत्ति देखियो—स्रोत कहाँ गयो?’, ‘मन्त्रीहरूलाई सुनको बहार, जनतालाई महँगी उपहार’, र ‘सुनखानी प्रधानमन्त्री, शेयरखानी गृहमन्त्री’ जस्ता नाराहरू अंकित प्लेकार्ड प्रदर्शन गरेका छन् ।

प्रदर्शनमा सहभागी विद्यार्थी नेताहरूले सरकारसमक्ष मुख्यतया तीनवटा माग राखेका छन् ।
मन्त्रिपरिषद्का सबै सदस्यहरूको सम्पत्तिको वैधानिक स्रोत तत्काल सार्वजनिक गरिनुपर्ने, सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न एक उच्चस्तरीय स्वतन्त्र आयोग गठन गरिनुपर्ने, देशमा बढ्दो भ्रष्टाचार, सुन तस्करी र महँगी नियन्त्रणमा सरकारले ठोस कदम चाल्नुपर्ने उनीहरूको माग छ ।
प्रतिक्रिया 4