News Summary
Generated by OK AI. Editorially reviewed.- हलिउडका १,४०० भन्दा बढी फिल्मकर्मीले प्यारामाउन्ट र वार्नर ब्रदर्स डिस्कभरीबीचको मर्जरविरुद्ध खुला पत्रमार्फत विरोध जनाएका छन्।
- पत्रमा भनिएको छ, “यो सम्झौताले पहिले नै सीमित रहेको मिडिया बजारलाई अझै केही कम्पनीको हातमा केन्द्रित बनाउनेछ।”
- प्यारामाउन्ट स्काइडान्सले मर्जरपछि दुई स्टुडियोलाई छुट्टाछुट्टै सञ्चालन गर्ने र प्रत्येक वर्ष ३० उच्चस्तरीय फिल्म निर्माण गर्ने योजना रहेको बताएको छ।
हलिउडका चर्चित कलाकार, निर्देशक र फिल्मकर्मीले प्रस्तावित प्यारामाउन्ट र वार्नर ब्रदर्स डिस्कभरीबीचको मर्जरविरुद्ध खुलेर आवाज उठाएका छन् । १,४०० भन्दा बढी फिल्मकर्मीले हस्ताक्षर गरेको खुला पत्रमार्फत उनीहरूले यो सम्झौताले मनोरञ्जन उद्योगमा नकारात्मक असर पर्ने बताएका हुन् ।
यो पत्रमा एमा थम्पसन, बेन स्टिलर, जेभियर बार्डेम र रोज बर्नजस्ता चर्चित नामहरू छन् । उनीहरूको भनाइमा, यो मर्जरले पहिले नै कमजोर बनेको अमेरिकी मनोरञ्जन उद्योगलाई अझ संकुचित बनाउनेछ ।
पत्रमा भनिएको छ, ‘यो सम्झौताले पहिले नै सीमित रहेको मिडिया बजारलाई अझै केही कम्पनीको हातमा केन्द्रित बनाउनेछ । यस्तो समयमा प्रतिस्पर्धा घट्नु उद्योग र दर्शक दुवैका लागि हानिकारक हुनेछ ।’
यता प्यारामाउन्टले भने आफूहरू सर्जकप्रति प्रतिबद्ध रहेको र सिर्जनात्मक कामका लागि अवसर बढाउने दाबी गरेको छ ।
कोभिड महामारीपछि कमजोर बनेको फिल्म उद्योग अझै पनि विभिन्न चुनौतीसँग जुधिरहेको छ । सन् २०२३ मा भएको श्रमिक हड्ताल, प्रविधि कम्पनीहरूको प्रभाव र दर्शकको बदलिँदो बानीले उद्योगमा ठूलो परिवर्तन ल्याएको छ । यस्तो अवस्थामा प्रस्तावित मर्जरलाई धेरैले अर्को ठूलो मोडको रूपमा हेरेका छन् ।
करिब १११ अर्ब डलर बराबरको यो मर्जर सम्पन्न भएमा अमेरिकामा ठूला फिल्म स्टुडियोको संख्या चारमा सीमित हुनेछ । पत्रमा भनिएअनुसार यसले रोजगारी घटाउने, फिल्म र टेलिभिजन निर्माणका अवसर कम गर्ने र बजारमा प्रतिस्पर्धा घटाउने जोखिम बढाउँछ ।
यस विरोधमा क्रिस्टेन स्टुअर्ट, क्रिस्टिन स्कट थोमस र ग्लेन क्लोजले पनि आफ्नो समर्थन जनाएका छन् । अझै पनि धेरै फिल्मकर्मीले हस्ताक्षर थप्दै गएको बताइएको छ ।
पत्रमा स्पष्ट रूपमा भनिएको छ, ‘यसको परिणामस्वरूप सर्जकका लागि अवसर घट्नेछ, उत्पादन क्षेत्रमा रोजगारी कम हुनेछ, लागत बढ्नेछ र दर्शकको विकल्प सीमित हुनेछ ।’
पत्रले क्यालिफोर्नियाका महान्यायाधिवक्ता रोब बोन्टा लगायत नियामक निकायलाई यो सम्झौता रोक्न आग्रह गरेको छ ।
‘वाचमेन’ र ‘लस्ट’का सह-निर्माता डेमन लिन्डेलफले पनि सामाजिक सञ्जालमार्फत आफ्नो असन्तुष्टि जनाएका छन् । उनले लेखेका छन्, ‘हलिउडमा यस्ता मर्जरले फिल्म र टिभी शोको संख्या घटाउँछ, जसले रोजगारी पनि घटाउँछ । दुई ठूला स्टुडियो एउटै कम्पनीमा आएपछि एउटा विस्तारै निष्क्रिय हुन सक्छ ।’
फेब्रुअरी अन्त्यतिर प्यारामाउन्ट स्काइडान्सले वार्नर ब्रदर्स डिस्कभरीलाई खरिद गर्ने सहमति गरेको थियो । यसअघि नेटफ्लिक्सले पनि उक्त कम्पनी किन्न प्रयास गरेको थियो तर पछि पछि हटेको थियो ।
वार्नर ब्रदर्स डिस्कभरी अन्तर्गत ‘ह्यारी पोटर’, ‘गेम अफ थ्रोन्स’, ‘फ्रेन्ड्स’, ‘सक्सेसन’ जस्ता लोकप्रिय ब्रान्ड छन् भने सीएनएन जस्ता समाचार नेटवर्क पनि यसैअन्तर्गत पर्छन् ।
प्यारामाउन्ट स्काइडान्सका प्रमुख डेभिड एलिसनले भने मर्जरपछि पनि दुई स्टुडियोलाई छुट्टाछुट्टै रूपमा सञ्चालन गरिने र हरेक वर्ष कम्तीमा ३० उच्चस्तरीय फिल्म निर्माण गर्ने योजना रहेको बताएका छन् ।
कम्पनीले यो मर्जरले अझ धेरै परियोजना अघि बढाउन, नयाँ विचारलाई समर्थन गर्न र विश्वव्यापी दर्शकसम्म कथा पुर्याउन सहयोग पुग्ने दाबी गरेको छ । हाल यो सम्झौता अन्तिम चरणमा पुगेको छैन । यसलाई शेयरधनी र सरकारी नियामक निकायबाट स्वीकृति आवश्यक छ ।
प्रतिक्रिया 4