News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल मेडिकल काउन्सिलले डा. तुषार सरवजनाको भारतीय पासपोर्टमा अध्ययन गरेको खुलासा भएपछि दर्ता र विशेषज्ञ दुवै लाइसेन्स खारेज गरेको छ।
- डा. सरवजनाले भारतको पासपोर्ट र नेपाली नागरिकता दुवै रहेको र भारतबाट एमबीबीएस अध्ययन गरेको काउन्सिलले पुष्टि गरेको छ।
- काउन्सिलले 'भारतीय पासपोर्टबाट अध्ययन गर्नुभएको चिकित्सकलाई दर्ता गर्न नमिल्ने' भन्दै डा. सरवजनाको दर्ता नम्बर खारेज गर्ने निर्णय गरेको छ।
३ वैशाख, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले डा. तुषार सरवजनाको लाइसेन्स खारेज गरेको छ ।
गत ६ चैतमा बसेको काउन्सिलको दर्ता समितिको बैठकले भारतीय पासपोर्टमा अध्ययन गरेको खुलासा भएपछि डा.सरवजनाको लाइसेन्स खारेज गरेको हो ।
काउन्सिलका रजिष्ट्रार डा. सतिस कुमारका अनुसार सरवजनाको अस्थायी दर्ता र विशेषज्ञका रूपमा दुवै लाइसेन्स खारेज गरिएको छ ।
काउन्सिलको दर्ता समितिको निर्णयअनुसार, डा. सरवजनाले भारतको राहदानीका आधारमा अध्ययन गरेको देखिएकाले लाइसेन्स खारेज गरिएको देवले बताए ।
‘भारतीय गणराज्यको पासपोर्ट र नेपाली नागरिकता प्रमाणपत्र रहँदारहँदै तथा भारतीय गणराज्यको पासपोर्टबाट फरिजन नेसनलअन्तर्गत अध्ययन गर्नुभएको चिकित्सकलाई नेपाल मेडिकल काउन्सिलमा दर्ता गर्न नमिल्ने हुँदा निजको हालको दर्ता (तुषार सरवजना नेमेका दर्ता नं. ३५१४२ ) खारेज गर्ने निर्णय भयो,’ काउन्सिलको निर्णयमा भनिएको छ ।
डा. सरवजनाले स्थायी दर्ताका लागि काउन्सिलमा निवेदन दिएका थिए । स्थायी दर्ताका लागि बुझाइएका कागजात अध्ययन गर्दा उनीसँग भारतको पासपोर्ट र नेपाली नागरिकता (वंशज) दुवै रहेको देखिएको थियो ।
त्यसक्रममा काउन्सिलले उनको अध्ययनसम्बन्धी विवरण पनि माग गरेको थियो । सोही क्रममा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले डा. सरवजनाले विदेशी नागरिकका रूपमा एमबीबीएस अध्ययन गरेको जानकारी काउन्सिललाई पत्रमार्फत दिएको थियो ।
नागरिकतासम्बन्धी विवरणका लागि गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट पनि जानकारी मागिएको थियो । प्राप्त विवरणअनुसार डा. सरवजनाले २०७८ मंसिर २८ गते वंशजका आधारमा नेपाली नागरिकता प्रमाणपत्र लिएको देखिएको छ ।
यस्तै, भारतको राष्ट्रिय चिकित्सा आयोगमा पनि उनको दर्ता नम्बर रहेको पाइएको काउन्सिलले जनाएको छ ।
यी सबै तथ्यहरूको अध्ययनपछि काउन्सिलले डा. सरवजनाको दर्ता नम्बर खारेज गर्ने निर्णय गरेको जनाएको छ ।
पत्रमा भनिएको छ, ‘ भारतिय गणराज्यको पासर्पोट र नेपाली नागरिकता प्रमाणपत्र रहँदारहँदै तथा भारतिय गणराज्यको पासर्पोटबाट अध्ययन गर्नुभएको चिकित्सकलाई काउन्सिलमा दर्ता गर्न निमल्ने हुँदा निजको हालको दर्ता नम्बर खारेज गर्ने निर्णय भयो ।’
प्रतिक्रिया 4