News Summary
Generated by OK AI. Editorially reviewed.- तेह्रथुमको लालीगुराँस नगरपालिकाले कक्षा ११ र १२ का लागि नि:शुल्क आवासीय शिक्षा र खानाको व्यवस्था सुरु गरेको छ।
- नगरप्रमुख अर्जुन माबोहाङले भने, 'नगरभित्रका सबै विद्यार्थीले समान रूपमा शिक्षा पाउनुपर्छ भन्ने हाम्रो लक्ष्य हो।'
- विद्यालय परिसरमै आधुनिक छात्रावास भवन निर्माण भइसकेको छ र विद्यालयले कुनै शुल्क नलिई सेवा दिइरहेको प्रधानाध्यापक नवीन अधिकारीले बताए।
४ वैशाख, तेह्रथुम । पहाडी भूगोलमा शिक्षा अझै पनि संघर्षकै कथा हो । उकालो-ओरालो, टाढा विद्यालय, सीमित स्रोत-साधन र आर्थिक अभावले गर्दा धेरै विद्यार्थीको सपना बीचमै रोकिने गरेका छन् ।
गुणस्तरीय शिक्षाको खोजीमा धरान, विराटनगर वा काठमाडौंजस्ता सहर धाउनुपर्ने बाध्यता अझै पनि धेरै परिवारको यथार्थ हो । तर, अब यही यथार्थ बदल्ने प्रयास तेह्रथुमको लालीगुराँस नगरपालिकाले सुरु गरेको छ ।
नि:शुल्क आवासीय शिक्षामार्फत लालीगुराँस नगरपालिकाले बसन्त माध्यामिक विद्यालयलाई केन्द्रमा राख्दै कक्षा ११ र १२ का विद्यार्थीका लागि नि:शुल्क शिक्षा, आवास र खानाको व्यवस्था लागू गरेको छ ।
टाढा-टाढाबाट आउने तथा आर्थिक रूपमा कमजोर विद्यार्थीलाई लक्षित यो कार्यक्रमले शिक्षा पहुँचमा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ ।
नगरप्रमुख अर्जुन माबोहाङका भन्छन्, ‘नगरभित्रका सबै विद्यार्थीले समान रूपमा शिक्षा पाउनुपर्छ भन्ने हाम्रो लक्ष्य हो । त्यसैले आर्थिक अवस्था र दूरीका कारण कोही पनि शिक्षाबाट वञ्चित नहोस् भनेर यो कार्यक्रम ल्याइएको हो ।’
विद्यालय परिसरमै आधुनिक छात्रावास भवन निर्माण भइसकेको छ। सुरक्षित, व्यवस्थित र अनुशासित वातावरणमा विद्यार्थी बसोबास गर्न पाउने भएकाले उनीहरू अब पढाइमा केन्द्रित हुन थालेका छन्। नगरपालिकाले बसन्त माविलाई ‘शैक्षिक हब’ का रूपमा विकास गर्ने दीर्घकालीन योजना अघि सारेको छ ।
लालीगुराँस–६ की विद्यार्थी कुसुम लिम्बू भन्छिन्, ‘पहिले टाढा गएर पढ्नुपर्ने डर थियो । अहिले गाउँमै नि:शुल्क खानाबाससहित पढ्न पाउँदा धेरै खुशी लागेको छ।’ कुसुमसँगै गाउँका धेरै विद्यार्थीहरु यतीबेला छात्राबास मै बसेर अध्यायन गर्दै आएका छन ।
नगरपालिको यो पहलले अभिभावकहरुको चिन्ता पनि घटाएको छ । छोराछोरीलाई बाहिर पठाउँदा लाग्ने खर्च, बसोबासको समस्या र सुरक्षाको डरबाट उनीहरू मुक्त भएका छन् ।
विद्यालयले भर्नादेखि लिएर दैनिक शिक्षण-सिकाइ प्रक्रियासम्म कुनै शुल्क नलिई सेवा दिइरहेको प्रधानाध्यापक नवीन अधिकारीले बताए ।
यद्यपि, नि:शुल्क शिक्षा र छात्रावासको सुविधा मात्र पर्याप्त छैन । सरोकारवालाहरूले शिक्षण विधि, अनुशासन र नतिजामा थप सुधार आवश्यक रहेको औंल्याएका छन् ।
विद्यालय, शिक्षक, अभिभावक र विद्यार्थीबीच सुदृढ समन्वय कायम गर्दै गुणस्तरीय शिक्षालाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
पहाडमा शिक्षा अब केवल पहुँचको कुरा मात्र रहेन; गुणस्तर, अवसर र भविष्यसँग जोडिएको आशाको कथा बन्दै गएको छ ।
लालीगुराँस नगरपालिकाको यो पहलले देखाएको बाटोले अन्य स्थानीय तहलाई पनि प्रेरणा दिन सक्छ । यहाँबाट सुरु भएको यो सानो उज्यालो, भोलि धेरै विद्यार्थीको जीवन उज्यालो पार्ने आधार बन्ने विश्वास गरिएको छ ।
प्रतिक्रिया 4