+
+
Shares

‘पूर्वाञ्चल गट ट्यालेन्ट २०८२’ को फाइनल ५ गते, प्रथमलाई ५ लाख

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ४ गते ११:०५

४ वैशाख, धनकुटा । पूर्वी पहाडको सांस्कृतिक र कलात्मक गतिविधिले विस्तार भइरहेको छ । यसै सन्दर्भमा सांस्कृतिक र कलात्मक गतिविधिलाई थप विस्तार गर्न धनकुटामा यस वर्ष पनि प्रतिभा खोजीअन्तरगत ‘पूर्वाञ्चल गट ट्यालेन्ट २०८२’ आयोजना हुने भएको छ ।

टिन्स क्रु डान्स ट्रेनिङ सेन्टर धनकुटाले शुक्रबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको फाइनल यही वैशाख ५ गते धनकुटाको तल्लो टुडिखेलमा आयोजना गरिने जानकारी दिएको हो ।

स्थानीय कला, संस्कृति र युवाहरूको प्रतिभालाई उजागर गर्ने उद्देश्यसहित सुरु गरिएको प्रतियोगिता यसपटक अझ व्यवस्थित र विस्तारित स्वरूपमा अघि बढाइने आयोजकले जनाएको छ । विशेषगरी ग्रामीण भेगमा लुकेर रहेका प्रतिभालाई पहिचान गर्दै उनीहरूलाई राष्ट्रिय स्तरसम्म पुर्‍याउने लक्ष्य कार्यक्रमले बोकेको छ ।

आयोजकका अनुसार प्रतियोगितालाई केवल प्रतिस्पर्धाको मञ्चमा सीमित नराखी प्रतिभा विकास, अवसर सिर्जना र सांस्कृतिक संरक्षणसँग जोडिएको अभियानका रूपमा विकास गरिँदैछ ।

नृत्य, गायनलगायत विविध विधामा सहभागीहरूले आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर पाउने कार्यक्रम संयोजक सुमन योगीले जानकारी दिए । उनका अनुसार प्रतियोगिता प्रतिभा पहिचानसँगै पर्यटन प्रवर्द्धन र स्थानीय आर्थिक गतिविधि चलायमान बनाउने माध्यम पनि बन्ने अपेक्षा गरिएको छ ।

प्रतियोगिताको निर्णायक मण्डलमा नृत्यतर्फ युसिन यस्माली मगर, सुशान्त लिम्बु र दिपेश मगर रहनेछन् भने गायनतर्फ जुनी खालिङ राई, दिनेश भारती र महेश राईले मूल्यांकन गर्नेछन् ।

यस वर्षको प्रतियोगितामा विशेष आकर्षणका रूपमा कलाकार डिजी राज पौडेल र ‘द भ्वाइस अफ नेपाल सिजन–६’ का प्रतियोगी विराट तामाङको प्रस्तुति रहनेछ । यी प्रस्तुति दर्शकका लागि प्रमुख आकर्षण बन्ने विश्वास रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको पुरस्कार राशीले पनि यसलाई थप आकर्षक बनाएको आयोजकको दाबी छ । प्रतियोगिता अन्तरगत गायनतर्फ प्रथम हुनेलाई नगद ५ लाख रुपैयाँसहित सोही बराबरको जीवन बीमा प्रिमियम, म्युजिक रेकर्डिङ अवसर, गिफ्ट ह्याम्पर, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै द्वितीय र तृतीय स्थान प्राप्त गर्नेले क्रमश: एक लाख र ५० हजार रुपैयाँसहित अन्य सुविधा पाउनेछन् ।

यस्तै नृत्यतर्फ भने दुई उमेर समूहमा पुरस्कार वितरण हुने भएको छ । १२ वर्षमुनिको र त्योभन्दा माथिको उमेर समूहमा विभाजन गरिएको छ । जसमा दुवै समूहमा प्रथम हुनेले जनही २ लाख ५० हजार तथा दास्रो हुनेले जनही ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

यसपटकको प्रतियोगिता गत असार २० गतेदेखि सुरु भएको थियो । जसमा कोशी प्रदेशका १४ जिल्लाबाट ६ सय जनाले सहभागिता जनाएका थिए । जसमा ४३० जनाले प्रारम्भिक चरणमा सहभागिता जनाएका थिए । मेघा अडिसनपछि छनोट भई ३१ जना प्रतिभा अन्तिम चरणमा प्रवेश गरेका छन् । जसमा गायनतर्फ १४, नृत्य सिनियरतर्फ ९ र जुनियरतर्फ ८ जना प्रतिस्पर्धी रहेका छन् ।

पहाडी जिल्लामा बढ्दो सांस्कृतिक गतिविधिको बीचमा यस्तो कार्यक्रमले युवा पुस्तालाई सिर्जनात्मक दिशामा अघि बढाउने मात्र होइन, स्थानीय स्तरमा नयाँ सम्भावनाको ढोका खोल्ने अपेक्षा गरिएको छ । टिन्स क्रु डान्स ट्रेनिङ सेन्टर धनकुटा २०७३ मा पूवाञ्चल डान्सिङ्ग सुपरस्टार तथा २०७४, २०७६, २०७८, २०८० र २०८१ मा पूर्वाञ्चल गट ट्यालेन्ट प्रतियोगिता सम्पन्न गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?