४ वैशाख, काठमाडौं । आफ्नै बाबुले नै गल्ती गरे पनि नछाड्ने गृहमन्त्री सुधन गुरुङले बताएका छन् ।
बिहीबार साँझ सुरक्षा पत्रकारहरुसँगको भेटघाटका क्रममा गृहमन्त्री गुरुङले उक्त कुरा बताएका हुन् ।
‘म गल्ती गर्ने कसैलाई छाड्दिनँ । मेरै बाबुले नै गल्ती गरेको भए पनि छाड्दिनँ,’ गुरुङले भने ।
गल्ती गर्नेलाई अनुहार नहेरी कारबाहीको दायरामा ल्याउने काम भइरहेको उनले बताएका छन् ।
भीआईपीलाई अदालतले छाडेको भने उनले असन्तुष्टि पोखे ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अधक्ष्य केपी शर्मा ओलीलाई रातभर आफू र सुरक्षा निकायका प्रमुख तथा कर्मचारीहरु खटिएर समातेको तर अदालतले छाडेकोमा उनले असन्तुष्टि पोखे ।
‘रातभर दुई आईजीपी म बसेर काम गर्यौं । अहिले स्वाट्ट अदालतले छाडिदियो । हाम्रो दु:ख खेरे गयो’, उनले भने ।
विभिन्न कानुनका कुराहरू आउँदा रहेछन् । अहिले म यसरी काम गरेको छु आफैं कानुन अध्ययन गर्न थालेको छु । ‘अब भोलिका दिनमा समाउँदा यो कारण, यो कानुनले छाड्न मिल्दनै भनेर कम्तीमा भन्न त पाइयोस्,’ उनले भने ।
अहिले यही कारणले गर्दा भीआईपीमाथिको कारबाहीमा केही सुस्त जस्तो देखिए पनि गल्ती गर्नेलाई कारबाही गर्न भने नरोकिने उनले बताए ।
‘अहिले कानुन अध्ययन गरिरहेको छु । भोलि समाउँदा अदालतले छाड्न नसक्ने गरी काम गर्न लागिएकाले भीआईपीमाथिको कारबाही सेलाए जस्तो देखिएको हो । तर गल्ती गर्नेलाई कारबाही रोकिँदैन,’ उनले भने ।
प्रतिक्रिया 4