+
+
Shares

गोप्य छलफलबाट टुंग्याइँदै प्रतिनिधिसभा नियमावली

मस्यौदा समितिले गोप्य छलफलबाटै प्रतिनिधि सभा नियमावली टुंग्याउन लागेको हो । 

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ६ गते १६:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभा नियमावलीको मस्यौदा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ र सोमबार बैठकले सबै विषय टुंगोमा पुर्‍याउने तयारी गरेको छ।
  • मस्यौदा समितिले महाभियोग लगायत केही संवेदनशील विषयमा राजनीतिक दलहरूसँग थप परामर्श गरी दलगत धारणा समेट्ने प्रयास गरिरहेको छ।
  • नियमावलीले आगामी पाँच वर्ष प्रतिनिधिसभा सञ्चालन, कानुन निर्माण प्रक्रिया प्रभावकारी बनाउने र कार्यपालिकालाई जवाफदेही बनाउने विषयलाई प्राथमिकता दिनेछ।

६ वैशाख, काठमाडौं । प्रतिनिधिसभा नियमावलीको मस्यौदा निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । मस्यौदा समितिले गोप्य छलफलबाटै प्रतिनिधि सभा नियमावली टुंग्याउन लागेको हो ।

नियमावली मस्यौदा समितिको बैठकमा सुरुमा पत्रकारहरूलाई फोटो र भिडियो लिन दिइन्छ । त्यसपछि पत्रकारलाई बाहिर राखेर मस्यौदा समितिले काम गर्दै आएको छ ।

गोप्य छलफलबाटै समितिले अधिकांश विषय टुंगो लगाएको छ ।

प्रतिनिधि सभा नियमावली मस्यौदा समितिले महाभियोग लगायतका केही काम बाँकी रहेपनि अन्य सबै विषय टुंगोमा पुगेको जनाइएको छ ।

मस्यौदा समितिलाई दिएको १४ दिने समयसीमा मंगलवार सकिँदैछ । अधिकांश विषयमा सहमति जुटिसकेकोले सोमबारको बैठकमा सबै विषय टुंगोमा पुर्‍याएर मस्यौदालाई अन्तिम रुप दिने तयारी छ ।

महाभियोग लगायत केही संवेदनशील विषय अझै बाँकी छन् । ती विषयमा राजनीतिक दलहरूसँग थप परामर्श गरी दलगत धारणा समेट्ने प्रयास भइरहेको छ ।

सोमबार बिहान ११ बजे बस्ने बैठकले बाँकी विषयहरू अन्तिम रूप दिने समितिले जनाएको छ ।

नियमावलीमा संसदीय इतिहासको गरिमा र अभ्यासलाई ध्यानमा राख्दै २०१६ साल यताका अनुभवलाई समेट्ने र बदलिँदो व्यवस्थाअनुसार नयाँ प्रावधान समावेश गर्ने गरी काम भइरहेको जनाइएको छ ।

नियमावलीले आगामी पाँच वर्ष प्रतिनिधिसभा सञ्चालन, कानुन निर्माण प्रक्रिया प्रभावकारी बनाउने, सांसदहरूको भुमिका सुदृढ गर्ने तथा कार्यपालिकालाई जवाफदेही बनाउने विषयलाई प्राथमिकता दिनेछ ।

साथै व्यवस्थापिकाको गरिमा कायम राख्ने मूल उद्देश्यका साथ मस्यौदा तयार पारिएको छ ।

समितिले आईतवार सभामुख तथा पूर्वमहासचिवहरूलाई समेत आमन्त्रण गरी सुझाव लिएको छ ।

समितिले सभामुख डोल प्रसाद अर्याललाई समितिले गरेको काम कारबाहीको बारेमा जानकारी गराएको छ ।

समितिले नियमावली निर्माणका क्रममा सरोकारवालासँग औपचारिक तथा अनौपचारिक छलफल गरेको छ ।

नियमावलीको मस्यौदा प्रचलित कानुन, अदातलका फैसला, यसअघि प्रतिनिधिसभाले निर्माण गरेको कानुनभन्दा बाहिर नजानेगरि तयार पारिएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?