९ वैशाख, काठमाडौं । नेपाली कम्यनिस्ट पार्टी(नेकपा)का संयोजक पुष्पकलम दाहाल ‘प्रचण्ड’ले अहिले नेपाली कम्यनिस्ट आन्दालनले क्षणिक धक्का खाएको टिप्पणी गरेका छन् । नेपालमा कम्यनिस्ट पार्टी स्थापना दिवसका अवसरमा नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रचण्डले यो धक्काको वस्तुवादी समीक्षा हुनुपर्ने बताएका हुन् ।
‘अहिले कम्यनिस्ट आन्दोलनले क्षणिक धक्का खाएकै छ । हामीले कहाँ कमजोरी भयो त्यसको वस्तुवादी समीक्षा गर्नैपर्दछ,’ प्रचण्डले भने, ‘मलाई के लाग्छ भने बेलाबेला यस्ता धक्का खाइन्छ, यी हामीभित्रका फोहोर मैला व्यवस्थापन गर्ने अवसर पनि हो ।’
सत्तामा बस्दाबस्दा कम्यनिस्ट पार्टीभित्र धेरै फोहोर पनि जम्मा हुँदैगएको उनले टिप्पणी गरे । यस्तै अहिले जनताले आफूलाई घृणा नगरेको उनले बताए । ‘अहिले जनताले हामीलाई नुहाइ-धुवाइ गरेर सफा भएर आउ भनेको हो भन्ने मलाई लाग्छ,’ उनले भने ।
कम्यनिस्ट पार्टीभित्र भएका गलत कुरा सुधार्ने अवसरका रूपमा यसलाई लिनुपर्ने उनले बताए । जनताले सिकाउ खोजेको शिक्षालाई अवसरको रूपमै लिनुपर्ने उनले बताए ।
‘पहिला आफ्नो पार्टीलाई पुनर्गठन गर्ने, नयाँ महाधिवेशन आउँदा तलदेखि माथिसम्म नयाँ युवा र गतिशील नेतृत्वलाई प्राथमिकता दिने, हामी पुराना पुस्ताकाले पनि कुनै न कुनै किसिमले भूमिकालाई नयाँ रूप र भूमिकामा प्रस्तुत गर्नेगरी छलफल गर्दैछौं,’ उनले भने ।
महाधिवेशन ६ महिनाभित्र भनेको र सकेसम्म आउने असोजसम्म गर्ने उनले बताए ।
प्रतिक्रिया 4