९ वैशाख, पोखरा । आफ्नै वडा सदस्यमाथि जातीय विभेद गरेको आरोप लागेका पोखरा महानगरपालिका वडा नम्बर २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीविरुद्ध कास्की जिल्ला अदालतले सुनाएको कैद सजाय उच्च अदालत पोखराले पनि सदर गरेको छ ।
वडा सदस्य मैयाँ नेपालीले वडाध्यक्ष अधिकारीले आफूमाथि जातीय विभेद र दुर्व्यवहार गरेको भन्दै कास्की जिल्ला अदालतमा २०७९ माघ ५ गते मुद्दा दायर गरेकी थिइन् । सो मुद्दामा २०८० मंसिर ५ गतेको जिल्ला अदालतका न्यायाधीश अवनी मैनाली भट्टराईको इजलासले वडाध्यक्ष अधिकारीलाई दोषी ठहर गरेर ४ महिना कैद र १० हजार रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको थियो ।
त्यस विरुद्ध वडाध्यक्ष अधिकारी उच्च अदालत गएका थिए । जहाँ भर्खरै उच्च अदालतका न्यायाधीश अन्जु उप्रेती ढकाल र मेरिना श्रेष्ठको इजलासले जिल्लाकै फैसला सदर गरेको हो ।
जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव सम्बन्धी (कसुर र सजाय) ऐन, २०६८ मा जातीय विभेद गर्नेलाई ३ महिना कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ । सार्वजनिक पद धारण गरेका व्यक्तिको हकमा अभियोग पुष्टि भए थप ५० प्रतिशत सजाय गर्ने व्यवस्था पनि छ ।
सोही व्यवस्थाअनुसार थप सजायसहित साढे ४ महिना कैद, ७५ हजार रुपैयाँ जरिवाना र जाहेरवालालाई १० हजार रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको थियो ।
दलित समुदायका लागि छुट्याइएको बजेट वडाध्यक्ष अधिकारीले अन्यत्रै खर्च गरेपछि प्रश्न उठाएकी नेपालीमाथि जातीय दुर्व्यवहार भएको थियो ।
अधिकारीले नेपालीमाथि अपशब्द बोल्दै दलित भएकै कारण अपमानजक हिसाबले बोलेका थिए । दलित समुदायमाथि नै विभेद गर्ने गरी अधिकारीले शब्द प्रयोग गरेपछि नेपालीले न्यायका लागि प्रहरी गुहारेकी थिइन् ।
वडा सदस्य नेपालीको जाहेरीपछि प्रहरीले वडाध्यक्ष अधिकारीलाई पक्राउ गरेको थियो । प्रहरीले १५ दिन हिरासतमा राखेर अनुसन्धान गरेपछि जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । थुनछेक इजलासबाट भने उनी एक लाख ५० हजार रुपैयाँ धरौटीमा छुटेका थिए ।
वडा सदस्य नेपालीले ढिलै भएपछि अदालतले न्याय दिएको बताइन् । दलित भएकै कारण दुर्व्यवहार भएको र सिंगो समुदायमाथि नै अपमानजनक व्यवहार गरेकोमा अदालतले राहतको महसुस गराएको नेपालीको भनाइ छ ।
‘वडामा आउँदा सुरुमै ठेस लागेको महसुस गरेकी थिएँ । त्यति बेला यसैका लागि राजनीति गरेको हो भने किन खेपेर बस्ने भन्ने भयो । मै चुप लागेर बसेँ भने अरूले के गर्लान् भन्ने भयो’, नेपालीले भनिन्, ‘म त हिजोका जुन भोग्दै आएँ, आजसम्म पनि मेरो समाजले त भोग्दै आएको छ । बद्लिएको त छैन । अब चुप लागेर बस्नुहुँदैन भनेर आवाज उठाएँ ।’
प्रतिक्रिया 4