+
+
Shares

रित्तिँदै नमुना शहर आसपासका गाउँहरू

सडक पूर्वाधार निर्माणमा भइरहेको सुस्तता, सिंचाइ, खानेपानी र स्तरीय शिक्षा तथा स्वास्थ्य सेवा अभावका कारण यहाँका गाउँहरू रित्तिँदै गएका छन् ।

कृष्ण बिष्ट कृष्ण बिष्ट
२०८३ वैशाख १० गते १५:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बैतडीको पाटनसँग जोडिएका गाउँहरूमा खानेपानी, सडक र शिक्षा अभावका कारण १५ वर्षमा १५८ परिवारले बसाइँ सरेका छन्।
  • नमुना शहर पाटनमा १५ वर्ष बित्दा पनि पूर्वाधार र विकास योजना अलपत्र छन् र अधिकांश संरचना भताभुङ्ग अवस्थामा छन्।
  • नयाँ शहर आयोजनाको मुख्य योजना ल्यान्ड पुलिङ कार्यान्वयन हुन सकेको छैन र कार्यालय सघन शहरी आयोजनामा गाभिएको छ।

१० वैशाख, बैतडी । समथर फाँट, खेतको सिरानीमा लहरै मिलेका बस्ती । सरकारले घोषणा गरेका देशका १० नमुना शहरमध्ये बैतडीको पाटनसँग जोडिएका गाउँहरूको दृश्य हो यो ।

यहाँ एकनासका देखिने आधा दर्जन गाउँहरू छन् । पारिपाटन, लोर्खा, मेल्तडा, टुणेगैर, डोबरा, पौडी, बेडौती यहाँका मुख्य ठूला गाउँहरू हुन् । यी गाउँहरूको बीचमा नमुना शहरको रूपमा घोषणा गरिएको बैतडीको पाटन नगरपालिका–६ को पाटन बजार छ ।

प्राकृतिक स्वरूपमा निकै सुन्दर रहेको यस नमुना शहर घोषणा गरिएको १५ वर्ष पुग्नै लाग्दा यहाँका गाउँहरू भने भित्रभित्रै रित्तिँदै गएका छन् । आर्थिक वर्ष २०६६–०६७ मा पाटनसहित देशभर १० वटा शहरलाई नमुनाको रूपमा विकास गर्ने घोषणा गरिएको थियो ।

अपेक्षाअनुसार विकास निर्माण नहुनु, सडक पूर्वाधार निर्माणमा भइरहेको सुस्तता, सिंचाइ, खानेपानी र स्तरीय शिक्षा तथा स्वास्थ्य सेवाको अभावका कारण यहाँका गाउँहरूबाट बसाइँसराइ गर्नेहरू वर्षेनी बढिरहेका छन् ।

नमुना शहरसँगै जोडिएको मेल्तडा गाउँमा ३५ परिवार बस्दै आएकोमा अहिले १४ परिवार मात्रै बाँकी छ । यहाँका बरिब २० परिवार बसाइँ सरेर तराई झरिसकेको स्थानीय दानबहादुर चन्द बताउँछन् ।

‘यो गाउँमा अहिलेसम्म सडक पुगेको छैन, खानेपानी अभाव छ । सिंचाइका लागि कुलो त बनाइएको छ । तर पानी छैन । अनि यहाँ मान्छे किन बस्छन् ?,’ चन्दले भने । बाहिरबाट देख्दा ठूलो देखिएको मेल्तडा गाउँमा आधाभन्दा बढी घरहरू रित्तिएको र धान फल्ने खेतहरू बाँझिदै गएको चन्द बताउँछन् ।

वर्षैपिच्छे गाउँ रित्तो हुँदै जाँदा खेतबारी बाँझो बस्ने क्रम बढेको छ भने सामूहिक कामहरू पनि प्रभावित हुने गरेको स्थानीय शान्ति चन्द बताउँछिन् । ‘जन्ती–मलामी जाने मान्छेसमेत भेटिँदैनन् । सयौं रोपनी जमिन बाँझो छ,’ उनी भन्छिन् ।

नमुना शहर पाटनसँगै जोडिएको बेडौती गाउँमा पनि करिब २० परिवार रहेकोमा अहिले ६ परिवार मात्रै बस्दै आएका छन् । दर्जन बढी परिवार बसाइँ सरेर गइसकेको स्थानीय लवदेव चन्द बताउँछन् । ‘वर्षेनी एक–दुई परिवार तराईतिर बसाइँ सरेर जान्छन् । अहिले गाउँ लगभग रित्तो भइसकेको छ,’ उनी भन्छन् ।

१०औं नमुना शहरमध्येको यस क्षेत्रमा खानेपानी, सिंचाइ र पूर्वाधारको सुविधा हुने हो भने बसाइँ सर्नेको संख्यामा कमप् आउने मेल्तडाका शिक्षक रामबहादुर चन्द बताउँछन् । नमुना शहर आयोजनाको कार्यालयले अपेक्षाअनुसार काम गर्न नसकेको उनको बुझाइ छ ।

‘खानेपानी, पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रमा यस कार्यालयबाट अपेक्षाअनुसार काम भएको देखिएन । वर्षाैंसम्म निर्माणका काम अलपत्र पारिएका छन्, कसरी विकासको अनुभूति गर्ने ?,’ चन्दको प्रश्न छ ।

स्तरीय शिक्षा र स्वास्थ्यको सहज पहुँच तथा अपेक्षाअनुसार विकास निर्माणको अनुभूति नहुँदा बसाइँ सर्ने क्रम बढेको उनको भनाइ छ ।

पाटन नगरपालिका–६ मा पछिल्लो १० वर्षमा १५८ परिवारले बसाइँ सरिसकेको वडा सचिव नवीन बिष्टले जानकारी दिए । उनका अनुसार पछिल्लो ५ वर्षयता मात्रै १३४ परिवार बसाइँ सरी गएका छन् । यो तथ्याङ्क हेर्दा पछिल्ला वर्षहरूमा बसाइँ सर्ने दर निकै बढ्दो अवस्थामा देखिन्छ ।

युवाहरूलाई रोजगारीको प्रबर्धन र अपेक्षित विकास नहुँदा बसाइँ सर्ने क्रम बढेको पाटन–६ का वडाध्यक्ष राजेन्द्र बिष्ट बताउँछन् । ‘पहाडी क्षेत्रमा रोजगारीको अवसर छैन । स–सानो व्यापार गरेर पनि परिवार पाल्ने तराई झरेका छन्,’ अध्यक्ष बिष्टले भने ।

नयाँ शहर आयोजनाको कार्यालयले पनि जग्गा एकीकरण गरी शहरीकरणको अवधारणा कार्यान्वयनमा ढिलाइ गरेकाले यहाँका स्थानीयले विकासको अनुभूति गर्न नपाएको अध्यक्ष बिष्टको भनाइ छ ।

नयाँ शहरका योजना अलपत्र

नयाँ शहर घोषणा गरिएको १५ वर्ष बितिसक्दा पनि नमुना शहरको पहिचानसँग जोडिएका योजना अलपत्र अवस्थामा रहेका छन् ।

संघीय सरकारले पर्याप्त बजेट वितरण नगरी योजना कार्यान्वयनमा ढिलाइ गरेका कारण नयाँ शहरको अवधारणा वास्तविकतामा बदलिन नसकेको पाटन नगरपालिकाका पूर्वप्रमुख केशवबहादुर चन्द बताउछन् । ‘देशमा नयाँ शहरको संख्या मन्त्रीपिच्छे थपिँदै गयो । बजेट नथपिने, पहिले घोषणा गरिएका १० शहरलाई समेत अन्तिम रूप दिन सकेनन् । बजेट उपलब्ध गराएर धमाधम कार्यान्वयन भएको भए यस्तो विलम्ब हुने थिएन,’ चन्द भन्छन् ।

सुरुवातमा घोषणा गरेअनुसार पर्याप्त बजेट बिनियोजन गरी कार्यान्वयन नहुँदा साना योजनामा सीमित रहेको नयाँ शहरले वास्तविक झल्को दिन नसेको चन्दले बताए । नयाँ शहरको झल्को दिने ल्यान्ड पुलिङ समयमै सक्नेमा शंका रहेकाले जग्गा उपलब्ध गराउन नसकिएको उनको भनाइ छ ।

नयाँ शहरको कामले अझै पनि गति लिन सकेको छैन । नयाँ पूर्वाधार निर्माण गरी नमुना शहरको रूपमा विकास गर्ने भनिएका शहरहरूमा काम सुस्त छ ।

स्तरीय सडक पूर्वाधार, ढल निकास, फोहोर मैला व्यवस्थापन, व्यवस्थित बस्ती, घरघरमा खानेपानी, ढल निकास, फोहोर व्यवस्थापन केन्द्र, विद्युतीकरण, आधुनिक कभर्ड हल, ५० शय्याको प्रविधियुक्त अस्पताल निर्माण गर्नेसम्मका महत्वाकांक्षी योजना समेट्दै सरकारले २०६८ मा तयार पारेको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनमा उल्लेख गरेको थियो ।

तोकिएका नमुना शहरमा करिब एक लाख मानिसको बस्ती बसाउने सरकारको लक्ष्य थियो ।

पाटन नमुना शहरमा ‘नमुना’काम भने एउटा पनि भएको छैन । बजार क्षेत्रमा केही सडक पूर्वाधार, सौर्यबत्ती जडान र खुलामञ्च निर्माणमा सीमित रहेको छ । पाटन बजार क्षेत्रमा मात्रै सीमित सडक पूर्वाधार निर्माण बोहक अन्य नमुनाको काम केही भएको छैन ।

‘हालसम्म टुक्राटाक्री योजना मात्रै काम भएको छ । पहाडको बस्ती रोक्ने खालका कुनै योजना भएनन्,’ नगर विकास समिति समितिका पूर्वअध्यक्ष जयसिंह बिष्टले भने । आयोजनाको कार्यालय र जनप्रतिनिधिहरूले स्थानीयसँग समन्वय गरी नमुनासँग जोडिएका योजना अघि बढाउनुपर्नेमा बिष्टको जोड छ ।

बनेका संरचना भताभुङ्ग

पाटन नयाँ शहर आयोजनाअन्तर्गत बनेका अधिकांश संरचना भताभुङ्ग अवस्थामा छन् । आर्थिक वर्ष २०७१/०७२ मा निर्माण सुरु गरिएको नमुना बसपार्क सञ्चालनमै नआई जीर्ण भएको छ ।

नमुना मनोरन्जन पार्कको रूपमा विकास गर्न भन्दै निर्माण गरिएको हिरापुर पार्क पनि कुरूप बनेको छ । यहाँका संरचना भत्किने अवस्थामा छन् ।

एकीकृत फोहोर व्यवस्थापन केन्द्रको काम सुरु नै भएको छैन । जसले गर्दा बजार क्षेत्रको फोहोर व्यवस्थापनमा वर्षेनी चुनौती थपिने गरेको छ ।

ल्यान्ड पुलिङ (जग्गा एकीकरण)को काम अघि बढ्दै सकेन

नयाँ शहर आयोजनाको मुख्य काम अघि बढ्न सकेको छैन । बसाइँसराइ रोक्ने मुख्य योजनाको रूपमा हेरिएको ल्यान्ड पुलिङ (जग्गा एकीकरण)को काम हुन सकेको छैन । पाटन बजारसँगै जोडिएको नङाडीबाटा भन्ने स्थानमा ल्यान्ड पुलिङ गर्नको लागि स्थानीयहरूसँग छलफल भइरहेको छ ।

जग्गा एकीकरण आयोजनाअनुसार जग्गा एकीकरण गर्दा निश्चित क्षेत्र भित्रका सबै जग्गा सर्भे गरेर फराकिलो सडक, ढल, खुला क्षेत्र, पार्क, सामुदायिक स्थल जस्ता सुविधा विकास गरिन्छ । यसअनुसार सडक र खुला क्षेत्रलाई केही प्रतिशत जग्गा छुट्याएर व्यवस्थित बनाइएको घडेरी सम्बन्धित जग्गाधनीहरूलाई फिर्ता गरिन्छ । आयोजनाको खर्च जुटाउन प्रत्येक कित्ता जग्गाबाट न्यून हिस्सा काटेर बिक्री गरिन्छ ।

ल्यान्ड पुलिङ क्षेत्रका घडेरी र बाटाघाटा मिलेका हुन्छन् । भूमि संकेन्द्रपछि बन्ने वस्तीमा सडक, विद्युत, खानेपानी, सञ्चार, सुरक्षासँगै खेल मैदान, स्वास्थ्य संस्था, बैंक, सपिङ कम्प्लेक्स आदि सुविधा पुर्‍याइएको हुन्छ ।

कार्यालय नै सघन शहरीमा गाभियो

नयाँ शहर विकास आयोजनाको कार्यालय नै सघन शहरी तथा भवन निर्माण अयोजनामा गाभिएको छ । गत पुसमा नै यो कार्यालय गाभिएको हो ।

नयाँ शहर आयोजना कार्यान्वयनको लागि बजेट पनि घट्दो क्रममा रहेको छ । चालु आर्थिक वर्षमा जम्मा ३ करोड बजेट मात्रै कार्यान्वयनमा जाने सघन शहरी तथा भवन निर्माण आयोजना पाटनका प्रमुख झंकबहादुर थापाले जानकारी दिए ।

‘यस वर्ष नयाँ शहर आयोजना कार्यक्रमबाट एकीकृत सभाहल कार्यान्वयन हुँदैछ । केही खोलिएका ठेक्काको लागि बजेट नआउँदा कार्यान्वयन नहुने अवस्थामा छन्,’ प्रमुख थापाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?