News Summary
Generated by OK AI. Editorially reviewed.- नेपालमा वैशाख १५ देखि १९ गतेसम्म काठमाडौंबाट लुम्बिनीसम्म 'टुर डे लुम्बिनी : पेडल फर पीस २०२६' साइकल यात्रा आयोजना हुने भएको छ।
- अभियानले शान्ति, सहअस्तित्व र पुनर्निर्माणको सन्देश विश्वभर प्रवाह गर्ने उद्देश्य राखेको छ।
- संस्थापक मेघ आलेले भने, 'रूस–युक्रेन युद्ध तथा अमेरिका–इरान तनावले शान्ति अभियानहरूको महत्त्व बढाएको छ।'
१० वैशाख, काठमाडौं । नेपालमा शान्तिको सन्देश फैलाउने उद्देश्यसहित ‘टुर डे लुम्बिनी : पेडल फर पीस २०२६’ आयोजना हुने भएको छ । टुर दी लुम्बिनीका संस्थापक मेघ आलेका अनुसार यही वैशाख १५ देखि १९ गतेसम्म काठमाडौंबाट लुम्बिनीसम्म साइकल यात्रा हुने भएको हो ।
साइकल यात्रामा नेपाल तथा विदेशका साइकल यात्री, युवा, कर्पोरेट क्षेत्रका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको सक्रिय सहभागिता रहने जनाइएको छ । शान्ति, सहअस्तित्व र पुनर्निर्माणको सन्देशलाई जनस्तरसम्म पुर्याउने लक्ष्यसहित आयोजना हुँदै आएको यो अभियान सन् २०१२ देखि निरन्तर सञ्चालनमा छ ।
सामाजिक उद्यमी तथा अशोका फेलो मेघ आलेको अवधारणामा सुरु भएको यस अभियानलाई विश्व साइकल यात्री पुष्कर शाहले नेतृत्व गर्दै आएका छन् । गौतम बुद्धको जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश प्रवाह गर्ने उद्देश्यसहित अभियानले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा ‘शान्ति केन्द्र’का रूपमा स्थापित गर्ने दीर्घकालीन लक्ष्य लिइएको छ ।
नेपाल भारत र चीनजस्ता दुई ठूला अर्थतन्त्रबीच अवस्थित भएकाले विश्व शान्तिमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने सम्भावना रहेको संस्थापक आलेले जानकारी दिए । यस अभियानमार्फत नेपाललाई शान्ति संवादको केन्द्रका रूपमा प्रवर्द्धन गर्ने प्रयास गरिएको छ ।
यस वर्षको संस्करण विशेषगरी युवाहरूको सक्रिय सहभागितामा केन्द्रित रहनेछ । डिजिटल युगमा युवाको संलग्नतालाई शारीरिक सहनशीलता र सामाजिक उत्तरदायित्वसँग जोड्दै दिगो, पारदर्शी र शान्तिपूर्ण भविष्यका लागि आवाज उठाउने मञ्चका रूपमा यस अभियानलाई विकास गर्ने लक्ष्य राखिएको छ । यात्राका विभिन्न चरणहरूमा स्थानीय समुदायको पनि सहभागिता रहने जनाइएको छ ।
पत्रकार सम्मलेनमा बोल्दै संस्थापक आलेले भने, ‘विश्वव्यापी रूपमा रूस–युक्रेन युद्ध तथा अमेरिका–इरान तनावजस्ता घटनाले बढाएको अस्थिरताको सन्दर्भमा यस किसिमका शान्ति अभियानहरूको महत्त्व अझ बढेको छ ।’ अभियानले भविष्यमा शान्ति क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरूलाई ‘लुम्बिनी शान्ति पुरस्कार’ प्रदान गर्ने योजना पनि अघि सारिएको छ ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत रोबिन रेग्मीले यस किसिमका कार्यक्रमले नेपाललाई अन्तर्राष्ट्रिय रुपमा ब्रान्डिङ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । उनले यस कार्यक्रममा अन्तर्राष्ट्रिय सहभागीहरूको संख्या बढाउन सकिएको अवस्थामा यो अभियान थप बलियो हुने र पर्यटन प्रबर्द्धनमा पनि टेवा पुग्ने उनले बताए ।
त्यसैगरी बोर्डका मिडिया कन्सल्टेन्ट दिलिप प्रकाश कार्कीले पछिल्लो समय बढ्दो विश्वव्यापी द्वन्द्व र युद्धरत पक्षलाई नेपालको लुम्बिनीमा बोलाएर शान्ति संवाद गराउन सकिएको अवस्थामा यसको महत्त्व थप बढ्ने विचार व्यक्त गरेका छन् । ‘टुर डे लुम्बिनी–पेडल फर पिस’ अभियानले साइकल यात्रामार्फत शान्ति, सहअस्तित्व र विश्वव्यापी ऐक्यबद्धताको सन्देश प्रवाह गर्दै आएको छ ।
प्रतिक्रिया 4