+
+
Shares

माथिल्लो म्याग्दी जलविद्युत् आयोजनाको काम तीब्र, १३ महिनामा ५० प्रतिशत भौतिक प्रगति

४६ दशमलव २५ मेगावाट क्षमताको आयोजनाले २०८३ चैत महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यसहित बाँध, सुरुङ, विद्युत् गृह, प्रसारण लाइन, ‘हाइड्रो’ र ‘इलेक्ट्रोमेकानिकल’ तर्फका निर्माणलाई समानान्तरण रूपमा तीव्रता दिएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख १६ गते १६:५०

१६ वैशाख, म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकामा निर्माणाधीन ‘माथिल्लो म्याग्दी’ जलविद्युत् आयोजना निर्माण सुरु भएको १३ महिनामा ५० प्रतिशत भौतिक प्रगति भएको छ । विसं २०८१ चैत महिनादेखि निर्माण थालिएको आयोजनाको ५० प्रतिशत भौतिक प्रगति भएको आयोजना प्रमुख रमेश सुवेदीले जानकारी दिए ।

हाइड्रो इम्पायर लिमिटेड प्रवर्द्धक रहेको ४६ दशमलव २५ मेगावाट क्षमताको आयोजनाले २०८३ चैत महिनाभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यसहित बाँध, सुरुङ, विद्युत् गृह, प्रसारण लाइन, ‘हाइड्रो’ र ‘इलेक्ट्रोमेकानिकल’ तर्फका निर्माणलाई समानान्तरण रूपमा तीव्रता दिएको हो ।

‘सुरुङसहितका भूमिगत संरचनालाई अबको आठ महिनाभित्र सकेर फिनिसिङमा लैजाने कार्ययोजनाअनुसार काम अघि बढाएका छौँ’, आयोजना प्रमुख सुवेदीले भने, ‘सिभिल ठेकेदारले सुरुङ, बाँध र विद्युत् गृहको काम तीव्रताका लागि गरिरहेको छ भने प्रसारण लाइन र पेनस्टेक पाइपलाइनको काम पनि चाँडै सुरु हुँदैछ ।’

छ हजार ४२५ मिटर मुख्य सुरुङसहित सम्पूर्ण भूमिगत संरचनामध्ये मङ्गलबारसम्म चार हजार २२० मिटर सम्पन्न भएको आयोजना प्रमुख सुवेदीले बताए । धवलागिरि गाउँपालिका–४ सिङकोश दोभानमा बाँध र घिम्लेटी (खारपानी)मा विद्युत्गृह निर्माणाधीन छ ।

बाँधस्थल, चेचुङको अडिट र घिम्लेटीको आउटलेटबाट सुरुङ निर्माण भइरहेको छ । घिम्लेटीमा आयोजनाको प्रशासनिक भवन निर्माण भएको छ । आउटलेटबाट विद्युतगृहसम्म आठ सय ४३ मिटर लामो ‘पेनस्टक’ पाइपलाइन रहनेछ । यो आयोजना ‘रन अफ द रिभर’ (नदी प्रभाहमा आधारित) हो ।

बाँध, ‘इन्टेक’ र विद्युत्गृह बाहेकका ‘ग्रोवल ट्रयाप’, डिसेण्डर (बालुवा थिग्रयाउने पोखरी), मुख्य सुरुङ र सर्ज टनेललगायत सबै संरचना भूमिगत रहने भएका छन् । आयोजनाको सिभिल ठेकेदार आरएससी आरजे जेभी र माछापुच्छ्रे« इन्जिनियरिङ प्राली रहेका छन् ।

साथै इलेक्ट्रोमेकानिकल कार्यका लागि ठेकेदार कम्पनी ट्रोयर इटली रहेको छ । हाइड्रोमेकानिकल कार्यका लागि माछापुच्छ्रे मेटल एण्ड मेसिनरी वर्कसप प्राली परिचालित भएको छ ।

यसअघि ३७ मेगावाट रहेको आयोजनाको क्षमता बढाएर ४६ दशमलव २५ बनाउने प्रक्रिया अन्तिम चरणमा पुगेको हाइड्रो इम्पाएरका अध्यक्ष काजी लामाले बताए । थप जग्गा अधिग्रहण र वन क्षेत्र उपभोग गर्न नपर्ने हिसाबले ३१४ मिटर अग्लो रहेको हेडलाई बढाएर ३१७ मिटर र खोलाबाट सुरुङमा हालीने पानीको मात्रा १४ दशमलब ४१ घनमिटर प्रतिसेकेन्डबाट बढाएर १७ दशमलव २४ घनमिटर प्रतिसेकेन्ड बनाई क्षमता बढाइएको हो ।

सुक्खायाममा पनि म्याग्दी नदीमा पानीको मात्रा पर्याप्त हुने भएकाले यस आयोजनाले लगानीकर्तालाई छिटो प्रतिफल दिने अध्यक्ष लामाले बताए ।

आठ अर्ब ४६ करोड ५४ लाख दुई हजार रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा सिद्धार्थ बैंकको अगुवाइमा नेपाल एसबिआइ बैंक, सिटिजन्स बैंक इन्टरनेशनल, एभरेष्ट बैंक र नविल बैंकले लगानी गरेका हाइड्रो इम्पायरका प्रबन्ध निर्देशक जितबहादुर घर्तीले बताए । ७० प्रतिशत बैंक र ३० प्रतिशत स्वपँुजीको अनुपात रहेको छ ।

प्रभावित क्षेत्रका बासिन्दाका लागि कुल लागतको १० प्रतिशत सेयरको व्यवस्था गरिएको घर्तीले बताउनुभयो । यस आयोजनाबाट उत्पादन हुने विद्युत् नेपाल विद्युत् प्राधिकरणको डाँडाखेत सबस्टेशनमार्फत केन्द्रीय ग्रिडमा जोडिनेछ । दश किलोमिटर लामो १३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइन निर्माणको तयारीमा छ ।

शिवरात्रिखोलादेखि बाँध निर्माणस्थलसम्म करिब १८ किलोमिटर पहुँचमार्ग निर्माण भएको छ । आयोजनाले धवलागिरि गाउँपालिकाको सिफारिसमा खिवाङ र चेचुङ गाउँमा सडक पुर्‍याउन सहयोग गरेको छ । –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?