+
+
Shares

‘भाइरल शिव पहाड’ : सामाजिक सञ्जालले चम्किएको पर्यटकीय गन्तव्य

प्रेमनारायण आचार्य प्रेमनारायण आचार्य
२०८३ वैशाख १९ गते १६:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अर्घाखाँची र कपिलवस्तु सिमानामा अवस्थित शिव भाइरल पहाड आन्तरिक पर्यटनको नयाँ केन्द्र बनेको छ।
  • सामाजिक सञ्जालमा भाइरल तस्बिर र भिडियोले यो स्थानको परिचय व्यापक रूपमा फैलाएको छ।
  • दैनिक ४०० देखि ५०० पर्यटक यहाँ पुग्ने गरेका छन्, तर पूर्वाधार र सुरक्षासम्बन्धी चुनौतीहरू बाँकी छन्।

१९ वैशाख, अर्घाखाँची । अर्घाखाँची र कपिलवस्तु जिल्लाको सिमानामा अवस्थित ‘शिव भाइरल पहाड’ पछिल्लो समय आन्तरिक पर्यटनको नयाँ केन्द्रका रूपमा तीव्र रूपमा उदीयमान भएको छ ।

प्राकृतिक सुन्दरता, धार्मिक आस्था र आधुनिक प्रविधि अर्थात् सामाजिक सञ्जालको प्रभावको संगमले यो पहाडलाई छोटो समयमै चर्चाको शिखरमा पुर्‍याएको हो ।

महेन्द्र राजमार्ग अन्तर्गत पर्ने यो स्थान अर्घाखाँचीको शितगंगा नगरपालिका–११ र कपिलवस्तुको शिवराज नगरपालिका–१ मा फैलिएको छ ।

केही वर्ष अघिसम्म सामान्य चट्टानी पहाडका रूपमा चिनिने यो क्षेत्र अहिले दैनिक सयौं पर्यटकको गन्तव्य बनेको छ । महेन्द्र राजमार्ग निर्माणका क्रममा चट्टानी पहाड काटेर सडक विस्तार गरिएपछि बनेको यो भू–आकृति सुरुवातमा खासै चर्चामा थिएन ।

तर, समयसँगै यहाँ खिचिएका आकर्षक तस्बिर तथा भिडियोहरू फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालमा भाइरल हुन थालेपछि यसको परिचय व्यापक रूपमा फैलियो । अहिले त अवस्था यस्तो बनेको छ कि, राजमार्ग हुँदै यात्रा गर्ने धेरैजसो सवारी साधन यहाँ केहीबेर रोकिने गर्छन् ।

यहाँ पुग्नेहरू चट्टानी बनावट, हरियाली परिवेश र माथिबाट देखिने मनोरम दृश्यमा रमाउने मात्रै होइन, सामाजिक सञ्जालका लागि आकर्षक सामग्री पनि सिर्जना गर्छन् ।

यस पहाडको अर्को महत्वपूर्ण पक्ष भनेको यसको धार्मिक स्वरूप हो । स्थानीय बासिन्दा तथा शिवराज नगरपालिकाको सक्रियतामा यहाँ भगवान शिवको चित्र कोर्ने, नागको मूर्ति स्थापना गर्ने तथा विभिन्न शिवलिङ्गहरू राख्ने कार्य गरिएको छ ।

यसले पर्यटकहरूमा आध्यात्मिक आकर्षण थपेको छ । स्थानीय रोन्द्र विक भन्छन्, ‘पहिला यो ठाउँ सामान्य पहाड मात्रै थियो, अहिले भने धार्मिक र पर्यटकीय दुवै हिसाबले चिनिन थालेको छ ।’

धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको संयोजनले यहाँ आउने आगन्तुकलाई फरक अनुभूति दिलाउने गरेको छ ।

हाल दैनिक रूपमा करिब ४०० देखि ५०० जनासम्म आन्तरिक पर्यटकहरू यहाँ पुग्ने गरेका छन् । विशेषगरी सार्वजनिक बिदा, शनिबार र चाडपर्वका अवसरमा यहाँको भीड अझ बढ्ने गरेको छ ।

चट्टानका तहहरू, वरिपरिको हरियाली र माथिबाट देखिने राजमार्गको दृश्यले यहाँ पुग्ने जो–कोहीलाई मोहित बनाउँछ ।

पर्याप्त पूर्वाधारको अभाव, व्यवस्थित पार्किङ स्थलको कमी, सरसफाइको समस्या र सुरक्षासम्बन्धी चुनौतीहरू अझै समाधान हुन बाँकी छन् । अर्घाखाँचीबाट घुम्न पुगेका नवीन केसी भन्छन्, ‘यदि स्थानीय तहले समयमै ध्यान दियो भने यो स्थानलाई अझ व्यवस्थित र आकर्षक पर्यटकीय गन्तव्य बनाउन सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?