२५ वैशाख, काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल महिला संघको अध्यक्षमा मीना खरेल नियुक्त भएकी छन् । सभापति गगन थापाले चितवन निवासी खरेललाई महिला संघको अध्यक्षमा नियुक्त गरेका हुन् ।
गत निर्वाचनमा चितवन–२ बाट रास्वपा सभापति रवि लामिछानेसँग नवनियुक्त खरेलले प्रतिस्पर्धा गरेकी थिइन् ।
असहाय महिला तथा बालबालिकाको क्षेत्रमा खरेलले काम गर्दै आएकी छन् । खरेललाई तोकिएको समयभित्र महाधिवेशन गर्ने कार्यादेश दिइएको छ ।
२०७३ सालदेखि महिला संघको निर्वाचन हुन सकेको छैन । यसअघि अध्यक्ष रहेकी उषा मिश्रको समितिले पनि महिला संघको महाधिवेशन गर्न सकेको थिएन ।
को हुन् मीना खरेल ?
महिला, बालबालिका, घरेलु हिंसा विरुद्धका विभिन्न सामाजिक क्षेत्रमा निरन्तर क्रियाशील र स्थापित नाम हो, मीना खरेल । मीना खरेल भन्ने बित्तिकै चितवनवासीको दिमागमा झट्ट सम्झना आउँछ, एक त्यस्ती समाजसेवी महिला जो रात–दिन नभनी हिंसामा परेका महिला, बालबालिकाको उद्धारमा खटिन्छन् ।
५४ वर्षीय मीनाले झण्डै ३५ वर्ष यसरी नै समाजसेवा गरेर बिताएकी छन् । एकल, बहुविवाहबाट पीडित महिलाका पक्षमा कानूनी लडाइँ लड्नेदेखि जबरजस्ती करणीलगायत विभिन्न कारणबाट जन्मिएका, बाबुआमा दुवै गुमाएका असहाय बालबालिकाका लागि आश्रम चलाउँदै आएकी छन् ।
पीडित र अपहेलित महिलाहरूलाई स्वरोजगार बनाएर समाजमा स्थापित गर्न विभिन्न सीपमूलक तालिमहरू चलाएर चर्चामा आएकी मीनाको छवि राजनीतिक भन्दा बढी सामाजिक रूपमा उजेलिएको छ ।
भरतपुर महानगरपालिका वडा नं. ४ की स्थायी बासिन्दा मीना २०२८ मा जन्मिएकी हुन् । समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन् ।
उनी आदर्श नारी क्लबको संस्थापक सचिव, आदर्श नारी विकास केन्द्र भरतपुरको अध्यक्ष, असहाय महिला तथा बालबालिका पुनर्स्थापना केन्द्र ‘आदर्श गृह’को संस्थापक संयोजक हुन् । सडक बालबालिका पुनस्र्थापना केन्द्र ‘हाम्रो घर’, नारायणगढको संस्थापक, आदर्श बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्ष, सामुदायिक सेवा केन्द्र, नारायणगढको संस्थापक अध्यक्ष भएर काम गरेकी छन् ।
शुल्क वृद्धिको विरोध गर्दा सानैमा प्रहरीबाट गिरफ्तार भएकी मीना २०४६ सालको जनआन्दोलनमा नेविसंघका तर्फबाट सक्रिय सहभागी भइन् । वीरेन्द्र क्याम्पसमा नेविसंघको अध्यक्ष, कांग्रेस चितवनको जिल्ला कार्यसमिति सदस्य हुँदै हाल कांग्रेसको महासमिति सदस्य छिन् ।
२०५४ सालमा भएको स्थानीय निर्वाचनमा तत्कालीन भरतपुर नगरपालिका वडा नं ५ को महिला वडा सदस्य निर्वाचित भएकी मीना पहिलोपटक यसपालि संसदीय निर्वाचनको उम्मेदवार बनेकी थिइन् । २०५६ सालको निर्वाचन पछि कांग्रेसले चितवन–२ मा निर्वाचन जित्न सकेको छैन । २१ फागुनमा सम्पन्न निर्वाचनमा पनि यहाँबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने विजयी भएका छन् ।
२०६४ सालमा चितवन निर्वाचन क्षेत्र नं ३ मा रहेको यो क्षेत्रमा माओवादी केन्द्रले जितेको थियो । २०७० र २०७४ को निर्वाचनमा लगातार नेकपा (एमाले)ले जितेको यो क्षेत्रमा २०७९ को निर्वाचनमा रास्वपाका सभापति रवि लामिछाने विजयी भएका थिए । २०८० को उपनिर्वाचनमा लामिछाने पुनः निर्वाचित भए ।
२०७९ र २०८० मा माओवादी सहितको गठबन्धनबाट कांग्रेसका उम्मेदवार उठेका थिए । तर, यसपटक कांग्रेसले गठबन्धन नगर्दा मीना मैदानमा उत्रिएकी थिइन् । अन्य उम्मेदवारका विषयमा कांग्रेसभित्र मतभेद, विवाद र असहयोग हुने गरेको विगतमा देखिए पनि यसपटक मीनाका बारेमा कांग्रेस एकढिक्का थियो ।
तर, नतिजा कांग्रेसको अनुकूल आएन । ५४ हजार ४०२ मतसहित लामिछाने निर्वाचित हुँदा मीनको पक्षमा १४ हजार ५६४ मत खसेको थियो । लामिछाने र मीनसँगै चुनावी प्रतिष्पर्धामा उत्रिएका नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले ६ हजार ९९२ मत पाएका थिए ।
यस्तो छ कार्यदेश

प्रतिक्रिया 4