News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय स्वतन्त्र पार्टीले आजदेखि ललितपुर जावलाखेलमा सांसदहरूको लागि दुई दिने प्रशिक्षण कार्यक्रम सुरु गरेको छ।
- सांसद उपनेता गणेश पराजुलीले सांसदहरूको न्यून उपस्थितिप्रति असन्तुष्टि जनाउँदै प्रशिक्षणलाई कम महत्व नदिन आग्रह गरे।
- पराजुलीले भने, \'संसदीय भूमिकाबाट विमुख हुने प्रयास गर्नु भनेको पार्टी र संसदीय दलको तर्फबाट मूल्यांकन गरिने छ\' भन्दै आगामी दिनमा नियमित प्रशिक्षण सत्र सञ्चालन गरिने जानकारी दिए।
२६ वैशाख, काठमाडौं । रास्वपाले आजबाट सांसदहरूका लागि दुई दिने प्रशिक्षण कार्यक्रम राखेको छ ।
ललितपुरको जावलाखेलमा आज र भोलि प्रशिक्षण कार्यक्रम चल्ने छ । तर, प्रशिक्षण कार्यक्रममा सांसदहरूको उपस्थिति न्यून देखिएपछि दलका उपनेता गणेश पराजुलीले असन्तुष्टि जनाएका छन् ।
प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै उनले सांसदहरूले प्रशिक्षण कार्यक्रमलाई कम महत्त्व दिएको गुनासो गरे ।
‘संसदीय दलमा निरन्तर सूचना प्रवाह भएको थियो, तर मैले सबै सांसदहरू यहाँ उपस्थित भएको देखेको छैन, संसदीय दलको उपनेताको हैसियतमा म यहाँहरूलाई केही अनुरोध गर्न चाहन्छु,’ सांसद पराजुलीले भने, ‘पार्टीले विशेषगरी संसदीय दलमा उपस्थित हुनुभएका सबै सांसदहरूको क्षमता विकासका लागि आयोजना गरेका यस्ता कार्यक्रमलाई कम महत्त्व दिइनु र त्यसपछि आफ्ना अन्य कामलाई प्राथमिकतामा राखिनु भनेको संसदीय भूमिकाबाट विमुख हुने प्रयास गर्नु हो, पार्टी र संसदीय दलको तर्फबाट यी कुरालाई मूल्यांकन गरिने छ ।’
पार्टीले आयोजना गरेको प्रशिक्षण कार्यक्रम औपचारिकता मात्र नभई आत्ममूल्यांकन, अनुभव आदान–प्रदान र नयाँ राजनीतिक संस्कार निर्माण गर्ने अवसर भएको उनको भनाइ थियो ।
जनताले केवल नयाँ अनुहार नभई नयाँ सोच, कार्यशैली र परिणाममुखी राजनीति खोजिरहेकाले सांसदहरूले अध्ययन, तयारी, पारदर्शिता र जनउत्तरदायित्व व्यवहारमा उतार्नुपर्ने आवश्यकता रहेको उनले बताए ।
‘आजको राजनीति केवल नाराले चल्दैन, क्षमता, तयारी, अध्ययन र परिणामले चल्दछ, जनताले अब कसले के भन्यो भन्दा पनि कसले के गर्यो भन्ने मूल्यांकन गर्न थालेका छन्, त्यसैले हामी सबैले आफूलाई निरन्तर सक्षम, जिम्मेवार र जनमुखि बनाउँदै लैजान अति आवश्यक छ,´ उनले भने,`राष्ट्रिय स्वतन्त्र पार्टीले सुरुदेखि नै सुशासन, पारदर्शिता, जवाफदेहिता र परिणाममुखी राजनीतिलाई आफ्नो मूल आधार बनाएको छ ।’
प्रशिक्षण कार्यक्रम केवल सुरुवात मात्र भएको र आगामी दिनमा थप विषय समेटेर नियमित प्रशिक्षण सत्र सञ्चालन गरिने उनले जानकारी गराए ।
प्रतिक्रिया 4