+
+
Shares
सिनेमा :

सिनेमा, समाज र असहज प्रश्नहरू : मैले तीन पटक हेरेको ‘लालीबजार’

दुई–तीन घण्टाको फिल्मले कुनै समुदायको सम्पूर्ण इतिहास बोल्न सक्दैन । एउटा मानिसको जीवन नै दुई घण्टामा अट्दैन भने एउटा युग कसरी अटाओस् ?

डा. रामजी राम डा. रामजी राम
२०८३ वैशाख ३१ गते १३:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • ‘लालीबजार’ फिल्मले समाजमा दबाइएका प्रश्नहरू उठाउँदै असहजता र मौनताका विषयमा बहस गर्न आग्रह गरेको छ।
  • फिल्मले एउटा पात्र वा समुदायलाई पूर्ण रूपमा जनाउने दाबी नगरी समाजभित्रका संरचनागत समस्याहरू उजागर गरेको छ।

मैले ‘लालीबजार’ तीन पटक हेरेँ।

हरेक पटक फिल्म सकिएपछि केही दृश्यहरू टाउकोमा घुमिरहे । केही संवादहरू मनमा अड्किरहे । अनि केही प्रश्नहरू भित्र कतै चुपचाप बसेर मलाई नै हेर्दै रहेजस्तो लाग्यो ।

मलाई यो फिल्म राम्रो लाग्यो । तर ‘राम्रो’ भनेर मात्रै यसको कुरा सकिँदैन जस्तो लाग्छ । किनकि ‘लालीबजार’ हेर्दा मलाई बारम्बार लाग्यो– सिनेमा कहिलेकाहीँ मनोरञ्जनभन्दा धेरै ठूलो कुरा पनि हुन सक्छ । यसले हामीले लामो समयदेखि नहेरेका, नसुनेका, दबाएर राखेका कुरा पनि हाम्रो अगाडि ल्याइदिन्छ ।

सायद त्यसैले यो फिल्म हेर्दा सहजभन्दा बढी असहज महसुस भयो । र कहिलेकाहीँ असहज हुनु पनि आवश्यक हुन्छ ।

‘नथिया’ भन्ने कुरा आखिर के थियो ? फिल्ममा मधुवालाले ‘नथिया’ माथि प्रश्न उठाउँछ ।

मलाई लाग्छ, फिल्मको सबैभन्दा ठूलो शक्ति त्यही प्रश्न हो ।

यदि यस्तो कुनै कुरा साँच्चै समाजमा थियो भने, त्यो केवल एउटा समुदायको कथा होइन । त्यो हाम्रो समाजको कथा हो । हाम्रो राज्यको कथा हो । हाम्रो सामूहिक मौनताको कथा हो।

त्यो बाध्यता थियो ? गरिबी थियो ? संरचनागत शोषण थियो ? कि समाजले कमजोरमाथि थोपरिदिएको एउटा जीवन ?

यी प्रश्नहरू सजिला छैनन् ।

तर प्रश्न उठाउनै नदिने हो भने उत्तर कहिल्यै आउँदैन । र यदि यस्तो कुरा थिएन भने पनि, त्यसबारे खुला बहस हुनुपर्छ ।

किनकि धेरै पटक हल्ला भन्दा खतरनाक कुरा मौनता हुन्छ । मौनताले समाजलाई सत्य होइन, अनुमानमा बाँच्न सिकाउँछ।

सिनेमा पूर्णसत्य हुँदैन, तर शून्यबाट पनि आउँदैन

आजकल हामी फिल्मलाई या त शतप्रतिशत सत्य मान्छौँ, या पूर्ण झूट । तर जीवन त्यति सरल छैन । सिनेमा कल्पना पनि हो ।

यसमा नाटकीयता हुन्छ, प्रतीक हुन्छ, भावनाहरू हुन्छन् । तर कल्पना पनि केही न केही अनुभव, देखाइ, सुनाइ, इतिहास र समाजबाट नै जन्मिन्छ ।

दुई–तीन घण्टाको फिल्मले कुनै समुदायको सम्पूर्ण इतिहास बोल्न सक्दैन । एउटा मानिसको जीवन नै दुई घण्टामा अट्दैन भने एउटा युग कसरी अटाओस् ?

त्यसैले एउटा दृश्य वा एउटा पात्रलाई समातेर ‘पूरै समुदाय यस्तै हो’ भन्नु गलत हुन्छ ।

मलाई लाग्छ– फिल्मले अन्तिम सत्य दाबी गर्नुहुँदैन । तर उसले समाजले लुकाउन खोजेका प्रश्नतर्फ औँला उठाउन भने पाउनुपर्छ ।

एउटै फिल्म, फरक अनुभूति

एउटै फिल्म हेरेर पनि सबैले फरक कुरा महसुस गर्छन् । किनकि हामी सबैले फिल्म आफ्नै अनुभवको आँखाबाट हेर्छौँ ।

कसैलाई एउटा दृश्य सामान्य लाग्न सक्छ । तर त्यही दृश्यले कसैको पुरानो घाउ खोलिदिन सक्छ ।

कसैलाई त्यो ‘फिल्मी’ लाग्न सक्छ । तर कसैलाई आफ्नै घर, आफ्नै गाउँ, आफ्नै आमा वा आफ्नै इतिहास सम्झाइदिन सक्छ ।

त्यसैले फरक प्रतिक्रिया आउनु स्वाभाविक हो ।

तर अर्काको पीडालाई ‘त्यो त केही होइन’ भनेर अस्वीकार गर्नु पनि ठीक होइन ।

हामीले एउटा कुरा सिक्नुपर्छ– हामीले नबुझेको पीडा पनि कसैको वास्तविकता हुन सक्छ ।

ट्रेलरले होइन, सन्दर्भले बोल्छ

अहिले हामी धेरै छिटो निर्णय गर्न थालेका छौँ।

१५ सेकेन्डको क्लिप । एउटा संवाद । एउटा फोटो । र तुरुन्त निष्कर्ष ।

तर जीवन ट्रेलरजस्तो हुँदैन । मानिस पनि एउटा भेटमै बुझिँदैन ।

कुनै पात्र किन त्यस्तो भयो ? उसको बाध्यता के थियो ? उसको इतिहास के थियो ?

यी कुरा नहेरी निर्णय गर्नु भनेको आधा कुरा सुनेर पूरा फैसला गर्नुजस्तै हो ।

सायद हामीबाट अहिले सबैभन्दा धेरै हराइरहेको कुरा नै धैर्य हो ।

एउटा पात्र सम्पूर्ण समुदाय होइन

हाम्रो समाजको पुरानो बानी छ– एउटा मानिसको व्यवहारलाई उसको पूरै समुदायसँग जोड्ने । यदि एउटा पात्र गलत छ भने, त्यो पूरै समुदाय गलत हुँदैन ।

यदि एउटा आमाले बाध्यतामा कुनै निर्णय गरिन् भने, त्यो सबै आमाहरूको परिचय हुँदैन । व्यक्ति र समुदायबीचको फरक बुझ्न नसक्दा नै धेरै विभेद जन्मिन्छन् ।

‘पेशा’ र ‘समुदाय’ एउटै कुरा होइन

मलाई सधैँ एउटा प्रश्न लाग्छ– यदि जात पेशासँग जोडिएको हो भने, पेशा बदलिँदा जात किन बदलिँदैन ?

समय बदलियो, काम बदलियो, जीवन बदलियो तर समाजको हेर्ने दृष्टि किन उही रहिरह्यो ?

सायद समस्या पेशामा होइन, सोचमा छ । कुनै समुदायलाई एउटा लेबलभित्र कैद गरेर हेर्नु भनेको उसको सम्पूर्ण मानवीय अस्तित्वलाई सानो बनाउनु हो ।

मानिस कुनै एउटा पेशा लिएर जन्मिँदैन । परिस्थिति, गरिबी, अवसर र संरचनाले धेरै कुरा निर्धारण गर्छन् ।

कला कहिलेकाहीँ असहज हुन्छ

यदि कला केवल रमाइलोका लागि मात्रै हुन्थ्यो भने, समाजले आफ्ना घाउ कहिल्यै देख्ने थिएन । कहिलेकाहीँ फिल्मले हामीलाई असहज बनाउँछ । किनकि उसले हामीले दबाएर राखेका कुरा देखाउँछ ।

यदि कुनै संरचनाले महिलालाई वस्तु बनायो भने, यदि कुनै व्यवस्थाले समुदायलाई कमजोर बनायो भने, यदि कुनै मौनताले पुस्तौँलाई थिच्यो भने– त्यसबारे बोलिनुपर्छ ।

किनकि समाजलाई सबैभन्दा धेरै नोक्सान सत्य बोल्नेहरूले होइन, सत्य लुकाउनेहरूले गर्छन् ।

अन्त्यमा

मलाई लाग्छ, ‘लालीबजार’ लाई केवल ‘ठीक कि बेठीक’ भनेर हेर्नु पर्याप्त छैन । यसलाई एउटा प्रश्नको रूपमा पनि हेर्नुपर्छ । एउटा असहज संवादको रूपमा । एउटा आमाको आँखाबाट देखिएको पीडाको रूपमा।

फिल्मले अन्तिम सत्य बोल्दैन । तर उसले समाजभित्र लुकेका केही मौनता र असहजता सतहमा ल्याउने प्रयास भने गर्छ ।

सायद त्यसैले कला आवश्यक छ । साहित्य आवश्यक छ । सिनेमा आवश्यक छ । किनकि प्रश्न उठ्न छोडेको समाज बिस्तारै संवेदनहीन बन्दै जान्छ । र बहस गर्न सक्ने समाज नै अझै जीवित समाज हो ।

‘लालीबजार’ अन्ततः एउटी आमाको कथा हो– तर त्यो कथा केवल एउटी आमाको मात्रै होइन, हाम्रो समाजको पनि हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?